...
२०५२
अँध्यारो हलको पछाडिबाट जब एउटा प्रकासको मुस्लो निस्किन्छ, थोत्रा फिल्मका खरखर बज्ने रिलको आवाजले मलाई छोप्छ। त्यो सम्भि्कयो कि ९ कक्षा तेस्रो बेन्चको तलबाट केही चिजले धक्का दिएजस्तो लाग्थ्यो। दुई पिरियड पढाउने रामभक्त र सूर्यभक्त सर नआइदिए हुन्थ्योझैं लाग्थ्यो। बिहानको लाइनमा …श्रीमान गम्भीर...' गाउँदा मनमनै भने अर्कै प्रार्थना चल्थ्यो, यी दुई सर नआऊन्।
त्यो दिन त्यस्तै भयो। …ल आज दुवै सर छैनन्,' हेडसरको कोठाको झ्यालबाट चियाएर आएको कुनै साथीले खबर दियो। त्यसो भए आज इङ्लिस, म्याथ, एजुकेसन, साइन्स र अपसनल म्याथका क्लास हुँदैनन्। आज अलि जोडको धक्का लाग्यो, मनले थाम्न नसक्ने गरी। तुरुन्तै दुईजनाको भाग्ने …गु्रप' तयार भयो।
स्कुलनजिकैको भट्टीलाई झोला जिम्मा लगाइयो, साथीकै भट्टीमा दिनभर जीवनका भाका सिकून् न किताबले पनि! अनि सुरु भयो हाम्रो दौड। हाम्रो माने, मेरो र केशवको। नातामा काका तर फिल्म हेर्ने र अरू खेलका दोस्त केशव।
भर्खरै खनिएको मोटर बाटोमा गाडी चल्थेन। तर, खेतका आलीमा दौडिनुपर्ने हामीजस्तालाई यसले ठूलो राहत दिएको थियो। अब दौडिँदा लडिने चिन्ता लिनु पर्थेन। र, अरू बटुवालाई उछिन्न पनि पर्खिनु पर्थेन। काका र भतिजका चप्पलले गाडीले जति नै नउडाए पनि मान्छेलाई मुख छोप्न पर्ने गरी धुलो उडाउँथे।
साँगे, नेपालटारको श्री जनजुक्त शाही माविबाट दमौली बजार जम्मा १० किलोमिटर टाढा छ। गतिलै हिँड्ने मान्छेलाई दमौली आइपुग्न दुई घन्टा लाग्छ। तर, हामी मास्टरको चियोचर्चो गरेर ११ बजेमात्र हिँडेका छौं। यसैले अरू बेला जस्तै यसपालि पनि १२ को …सो' भेट्टाउन दौडिनुपर्छ। सो, हाम्रो वायुपंखी घोडा चप्पल फड्काउँदै कुद्यो।
टाप्रे घारी फाँडेर बनाइएको यो सदरमुकाम कसैका लागि नुन किन्ने बजार थियो, कसैलाई मालपोत तिर्ने अड्डा, कसैलाई एसएलसीको सेन्टर। तर, मेरा लागि यो बजारमा फिल्म हलबाहेक अरू केही कामको थिएन। मेनका, उत्तरशिला र सबभन्दा पछि खुलेको मनकामना, यी तीनवटै हलका पछाडि …चलचित्र मन्दिर' झुन्ड्याइएका थिए। यी मन्दिरमा लिला देखाउने भगवानको जिम्मा हिरोले उठाउँथे। मजस्ता भक्तको त कुनै कमी थिएन।
त्यसदिन समयमै दमौली आइपुगियो। र, पहिलो …सो' सबभन्दा पुछारको हल मनकामनामा, …विजयपथ'। अजय देवगन हिरो। यति भएपछि फिल्म हेर्न भाग्नका लागि मलाई केही चाहिँदैन। अजय देवगनका फ्लाइङ किक र दाहिनेपट्टि लर्किएका कपालको म ठूलो फ्यान।
हलमा छिरियो। कालो चस्मा लगाएर एक्सल मोटरसाइकल चलाउने अजयका स्टन्टले मजा आयो। जहिल्यै फिल्मको दोस्रो हाफमा म तनावग्रस्त हुन्थेँ। फिल्मको कथामा नै दोस्रो हाफमा धेरै मोड र घुम्ती हुन्छन्। यिनको तनाव एउटा। अर्को तनाव हुन्थ्यो, फिल्म सकिएपछि बाहिरी दुनियाँको तनाव। चार बजे स्कुल छुटेर घर पुग्नेहरूसँगै पुुगिएन भने घरमा शंका हुन्थ्यो। यसैले तीन बजे फिल्म छुटेपछि फेरि अर्को हाफ म्याराथनमा निस्किनु पर्थ्यो।
र, सबभन्दा ठूलो तनाव हुन्थ्यो, टर्चलाइट बालेर टिकट चेक गर्नेको। बडेमाको ज्यान भएका बजारका लोकल केटाहरू यो काममा खटिन्थे। तिनले कतिलाई टिकट नभएको निहुँमा त कतिलाई हलभित्र चुरोट खाएको निहुँमा भकुरेको मैले देखेको थिएँ। त्यसमाथि स्कुल युनिफर्मको आकासे रंगको फिलफिल सर्ट र घ्याङले पाइन्टमा चप्पल लगाउने हामीजस्ता केटाको आत्मबल बजारको पिचमा आइपुग्नासाथ त्यसै गलेर पग्लिन्थ्यो। यो सबै डरका पछाडि एउटा विराम हुन्थ्यो। हामी सधैं अगाडिको टिकट काट्थ्यौं र हाफ टाइमपछि खाली सिट हेरेर स्पेसलमा गएर बस्थ्यौं। नौ रुपैयाँको सिटमा पाँचको टिकट लिएर बसेपछि हलमा जता लाइट बले पनि सातो जान्थ्यो।
तै, टिकट चेक गर्नेले हाम्रो बदमासी थाहा पाएन। सौहाद्रपूर्ण वातावरणमा फिल्म हेरियो। हामी अब अर्को रेस लगाउने तयारीमा थियौं। त्यही सोमा फिल्म हेर्न आएका दाइ भेटिए। गाउँमा धान कुट्ने मिल चलाउने शिव दाइ पनि फिल्मको सौखिन थिए। घर जाने योजना बन्दै थियो, मेनकामा नयाँ फिल्मको पोस्टर टाँसेको देखियो। संयोगले यो पनि अजय देवगनकै फिल्म थियो, …दिलवाले'।
हाम्रो सल्लाह भयो, ३–६ को सोमा दिलवाले हेर्ने। मनमा भने आमाले थाहा पाउने डर पलाउन थाल्यो। यसको निराकण पनि दाइले नै गरे। दाइले भने, …नडरा कान्छा, स्कुलमा आज पढाइ थिएन, केटो मसँग थियो भनेर सानिमालाई म भन्दिन्छु।' अब मलाई अजय देवगनको अर्को फिल्म हेर्नबाट रोक्ने कुनै तागत कसैसँग थिएन।
अजय, सुनिल सेट्टी र रविना टन्डनको यो फिल्मका गीत मैले पहिले नै सुनिसकेको थिएँ। यसको पागल हिरोको एक्टिङ खुब मनपर्यो। दाइ र काका भएपछि दोस्रो हाफमा टर्चलाइटको चिन्ता भएन। तर, जतिजति फिल्म सकिन लाग्थ्यो, त्यतित्यति मेरो उकुसमुकस बढ्दै थियो। मनमा लाग्थ्यो, हे भगवान, यो फिल्म कहिल्यै नसकिए हुने। यहाँबाट निस्केर घर जान त पर्थेन। बाटोमा कसैले देख्ला वा भागेर फिल्म हेर्न आएको थाहा पाउला भन्ने डर त हुन्थेन। न आमाको गाली न सरको पिटाइ।
फिल्म कहिल्यै नसक्कियोस्। यो सकिइहाल्यो भने पनि तुरुन्तै अर्को सुरु होस्। यो हलले रातभरि किन फिल्म चलाउँदैन?
३–६ को सो सकियो। दाइले ठूलो ग्यालिनमा मिलको लागि डिजल भरे। फर्किने सुर गरिरहेका बेला कथाले फेरि नयाँ मोड लियो। केही समयदेखि नवलपरासी बसिरहेका अर्का साथी भेटिए। जुननारायण काफ्ले नाम गरेका यी एक ब्याच सिनियर साथी, जुनेका नामले प्रख्यात थिए। प्रख्यात किन भने, यिनी हाम्रो भेकका सबभन्दा सुरो र बलियो कहलिएका दादा थिए। केशव काका, शिव दाइ र मेरा लागि अचानक दमौली बजारमा …जुने' भेटिनु खुसी मनाउनुपर्ने कुरा थियो। ग्याङले निर्णय गर्यो, यो खुसी ६–९ को सोमा …करण अर्जुन' हेरेर मनाउने।
सडकको एउटा कुनोमा योजना बन्यो। रातिको सोमा फिल्म हेर्ने, एसएलसीको ट्युसन पढ्न बसेका शिव दाइका भाइ सूर्य दाइको डेरामा भात खाने र जुनेली रातमा हिँड्दै घर जाने। अनि टोली लाग्यो, उत्तरशिला चलचित्र मन्दिरतिर।
एकै दिन हेरिएको यो तेस्रो फिल्ममा शाहरुख खान, सलमान खान, काजोल, ममता कुलकर्णी र सबभन्दा डरलाग्दा भिलेन अमरिश पुरी थिए। पुनर्जन्मको यो कथा पनि मनपर्यो। यो सोमा घरको डर पनि हराउँदै गयो। किनभने, अब पक्का थियो गाली गाइन्छ। जति लुकाए पनि अब आमालाई थाहा हुन्छ। यतिबेलासम्म स्कुलबाट घर फर्केका कुनै न कुनै विद्यार्थीले आमालाई खबर दिइसके भन्ने पनि पक्का भइसकेको थियो।
फिल्म समयमै सकियो, ट्युसन पढ्न बसेका विद्यार्थीको डेरामा टमाटरको झोल हालेको रागाको मासुसँग भात खाइयो। अनि सुरु भयो यात्रा। आउँदा दुई जनाको दौड थियो, एघार बजे फर्किंदा तल चार जनाको गफ र, माथि आकासमा मधुरो अर्ध चन्द्र।
आधा बाटो हिँडेपछि जुनले धोका दियो। पूर्णिमा आउन अझै केही दिन बाँकी थियो, एक बजेको आसपासतिर बाटो देख्नै नसक्ने गरी अँध्यारो भयो। छोटो बाटोको खोजीमा टोली मोटरबाटो छोडेर साँगे खोलाको किनारतिर लागेको थियो। अनि काम आयो, दाइको डिजल। बाटोमा एउटा गोठ भेटियो, जसका डाँडा भाटा अब हाम्रा सहयात्री हुने भए। दाउरामा डिजल हाल्दै आगो बालेर रातिको २ बजे घर पुगियो।
भोलिपल्ट आमाको गाली प्रतीक्षित थियो। एक डोज पाइयो। अनि, लागियो स्कुल। यो दिन पनि गजबको निस्कियो। रामभक्त र सूर्यभक्त दुवै सर आए। तर, कक्षाका अरू साथीको मन भड्कियो। यो सायद मेरो कथा सुनाउने …कला'कै प्रभावले होला, रमेश र रुद्रमणि …करण अर्जुन' नहेरी नछोड्ने भए। त्यो पनि आजै। उनीहरू क्लास छाडेर भाग्न पनि तयार थिए, पैसा पनि थियो। समस्या थियो, भाषाको। साथी परे हिन्दी नबुझ्ने।
अनि मेरो अपहरण भयो। फेरि त्यही बाटोमा धुलो उडाउँदै दौडिइयो। हलमा म बीचमा बसेँ। टिकट साथीहरूले नै काटे। फिल्मका सबैजसो संवाद मैले नेपालीमा उल्था गरेँ। केटाहरू सन्तुष्ट भए।
तेस्रो कक्षा हेडसरको। मनमा चिसो पस्यो। कक्षामा आएर उनले पहिले हिजो भाग्नेहरूको रोल नम्बर फलाके र सबलाई उठ्ने आदेश दिए। सबै उठियो। अरू केटालाई नसिहत दिएर उनी मेरो बेन्चमा आइपुगे। अब उनका औंला मेरा कन्सिरीका रौंमा थिए। मेरो टाउकोचाहिँ उनको तालमा नाचिरहेको थियो। मलाई भाग्ने गु्रपको नाइके ठहर गरिएको थियो। अरू कक्षाका केही विद्यार्थी रमिता हेर्न झ्यालमा झुम्मिएका थिए।
केहीबेरको हप्काइपछि हेडसर अच्युत काफ्लेले बासको सिम्किनो झिके। हाफबाउले सर्टका पनि बाउला माथि तान्न लगाए र भने, …हात थाप'। त्यसदिन घर फकर्िंदा मेरा दुवै हातमा पाखुरादेखि हत्केलासम्म ६ वटा सुम्ला थिए।
एक वर्षपछि
टेस्टको रिजल्ट आयो। जम्मा १६ जना पास। स्कुलकै इतिहासमा यतिथोरै विद्यार्थीलाई एसएलसी दिन योग्य मानिएको थियो। कात्तिकमा टेस्टको रिजल्ट आयो, चैतमा एसएलसी। एसएलसीको ट्युसन पढ्न दमौली जाने दिन आउँदै थियो। एकदिन स्कुलबाट खबर आयो, पास हुनेजति सबैलाई हेडसरले बोलाका छन्।
कुरा बुझ्दा यो सरहरूको …षड्यन्त्र' रैछ। टेस्ट पास गरेका जति सबैलाई स्कुलले फ्रिमा सातै विषयको ट्युसन पढाउने। मेरा लागि यो घोर आपत्तिको विषय थियो। स्कुलमै ट्युसन पढ्न म कुनै हालतमा तयार थिइनँ। दमौली जान नपाउनु भनेको फिल्म हेर्न नपाउनु थियो।
त्यसपछि सुरु भयो, विद्रोहको तानावाना। क्लासमा म थर्ड वा फोर्थभन्दा माथि कहिल्यै भइनँ। यसैले मैले भन्दैमा सबै विद्यार्थी दमौली जान तयार थिएनन्। र, अरूले फ्रिमा पढ्दापढ्दै ममात्रै आमाको पैसा सकेर दमौलीमा डेरा लिने स्थिति पनि थिएन। तर, पहिलो दोस्रो हुनेहरूको पनि आफ्नै एजेन्डा थियो, …फस्ट डिभिजन'। केही मेरो कानभराइ र केही स्कुलका शिक्षकको छविले काम गर्यो। केटाहरू दमौली गएर ट्युसन नपढी फस्ट डिभिजन ल्याइँदैन भन्नेमा कन्भिन्स भए।
स्कुलमा सातै विषयको ट्युसन सुरु भयो। दोस्रो तेस्रो दिनदेखि नै हाम्रो गनगन सुरु भयो। फलानो सरले पढाएको भएन, ढिस्कानो सरका पाराले फस्ट डिभिजन ल्याइँदैन। ट्युसन चलेको १३ औं दिन विद्यार्थी टोलीले विद्रोह गर्यो, …यिनै सरले ट्युसन पढाएर पास भइँदैन।'
अनि झिटीगुन्टा बोकेर विद्यार्थी टोलीले स्कुललाई टाटा गर्यो। चारमहिने डेराबसाइ सुरु भयो। सबैले आफू कमजोर भएका विषयमा ट्युसन पढे। भर्ना त मैले पनि इङ्लिस र अपसनल म्याथका ट्युसनमा गरेँ। दमौली आएका बेला एक जना सर संयोगले हाम्रो डेरामा आइपुगे। उनले इङ्लिस र म्याथका केही प्रश्न गरे। ती सजिला प्रश्न थिए, मैले फ्याट्टै मिलाइदिएँ। सरलाई लागेछ, यो केटाले फस्ट डिभिजन ल्याउँछ। स्कुल फर्केर उनले यो खुसखबरी सबैलाई बाँडेछन्। अनि सरहरूले फस्ट डिभिजन ल्याउने आस गरिएका विद्यार्थीको नयाँ लिस्ट तयार पारेछन् — विष्णुहरि, मदन, जनक, सुजन, सुदिप र यज्ञश।
फस्टब्वाई विष्णुहरि र सेकेन्डब्वाई मदनले फस्ट डिभिजन ल्याए। तर, मेरै नजरमा म जाँच दिने विषयमा भन्दा बढी फिल्ममा कमजोर थिएँ। मेरो खास ट्युसन अँध्यारो हलमा हुनथाल्यो। ती चार महिनामा दमौलीमा चलेका कुनै पनि नयाँ–पुराना फिल्म छुटेनन्।
छुट्यो त खाली, फस्ट डिभिजन।
