आइतवार, 28 फेब्रुअरी 2010 09:47

पहेँलो

Written by खगेन्द्र लामिछाने
Rate this item
(0 votes)
डाइबेटिजले थलिएकी रामप्रसादकी श्रीमतीले संसार छाडी। मनग्ये पैसा खर्च गरेर रामप्रसादले आफ्ना छोराछोरीलाई अमेरिका पठायो। अमेरिका पुगेपछि छोराछोरीले उसलाई वास्ता गर्न पनि छाडे। उमेरले नेटो काटेपछि रामप्रसादले सरकारी जागिर छाड्यो। एक्लो रामप्रसादलाई वैराग्य लाग्न थाल्यो। एक्लो जिन्दगी। जता गएपनि खाली लाग्छ। तिकडम गरेर कमाएको यत्रोविधि सम्पत्ति के गर्नु?  
चकमन्न रातमा अनामनगरस्थित आफ्नो घरमा रामप्रसाद उत्तानिएर सुतेको छ। मनमा कुरा खेलेका छन्।
…अब के गर्ने?' ऊ रातभरि सोच्छ।



साँझ पर्न लागेको छ। रामप्रसाद सेन्ट्रो कारको सोरुममा पुग्छ। सोरुमको मेनेजरले शिरदेखि पाउसम्म रामप्रसादलाई नियाल्छ। पहेँला रंगका कपडाले रामप्रसाद सजिएको छ। रामप्रसादले लगाएको चस्माको फ्रेम पनि पहेँलै छ।
…यो मान्छेलाई के भो?' मेनेजरले सोच्छ। …हिजो आउँदा त यस्तो रूपमा थिएन।'
…के भो, मेनेजर साब?' रामप्रसादले हाँस्दै सोध्छ। …किन ट्वाँ परेको?'
…सरले सन्यास लिनु भा हो र?' मेनेजरले सोध्छ।
…नो, इट्स माई पर्सनल इन्ट्रेस्ट।'
…यु आर लुकिङ सो गुड सर। लाइक बलिउड स्टार अफ सिक्स्टिज।'
…थ्यांक यु। बट आई लाइक टु बी अ स्पिरिच्वल पर्सन।'
…भेरी गुड सर।'
…यु नो, आई एम सिक्स्टी इयर्स ओल्ड,' रामप्रसाद भन्छ। …बट आई डन्ट सिम लाइक द्याट। हा हा हा हा...।'
रामप्रसाद हाँस्दा उसका गाला चाउरी पर्छन्। ऊ तत्काल सम्हालिन्छ। रामप्रसाद हतारिएपछि मेनेजरले उसलाई नयाँ सेन्ट्रो कारको चाबी दिन्छ। कारमा चढ्नुअघि रामप्रसादले आफूले किनेको पहेँलो सेन्ट्रो कारलाई सुम्सुम्याउँछ। गमक्क परेर रामप्रसाद ड्राइभर सिटमा बस्छ। कार स्टार्ट गरेर रामप्रसादले आफ्नो यात्रा सुरु गर्छ। मुस्कुराउँदै मेनेजरले रामप्रसादतिर फर्केर हात हल्लाउँछ।
रामप्रसादले कार त्रिपुरेश्वरबाट ठमेलतिर सोझ्याउँछ। अगाडिको सिसाबाट पर–परका हरिया डाँडाका टुप्पाहरू देख्छ। सडकको दायाँपट्टि भएका ससाना फूलका बिरुवा पनि हेर्छ।
…यो प्रकृतिको रंग पहेँला भइदिएको भए,' रामप्रसाद सोच्छ। …मसँग कस्तरी म्याच हुन्थ्यो।'
अचानक रामप्रसादका आँखा ड्राइभर सिटसँगैको सिटमा पर्छन्। उसले तीन वर्षअगाडि डाइबेटिज रोगले मरेकी आफ्नी श्रीमतीलाई सम्झन्छ। पछाडिको सिटमा हेर्छ। अमेरिकातिरै घरजम गरेर बसेका छोराछोरीलाई सम्झन्छ। अनामनगरको चारतले घर सम्झन्छ। काठमाडौंमा भएका अरू चारवटा घडेरी सम्झन्छ। ब्यांकमा हालेको सेयर, चितवन र हेटौंडामा रहेको चार बिगाहा जग्गा अनि ब्यांक ब्यालेन्स सम्झन्छ।   
…जिन्दगीमा निकै उन्नति गरियो,' रामप्रसाद सोच्छ। …हुन त मैलेभन्दा बढी उन्नति गरेका सरकारी कर्मचारी पनि छन् यो मुलुकमा।'
कार चलाउँदै रामप्रसाद आफूले जीवनमा गरेका कुकर्महरूको लेखाजोखा गर्छ। उसलाई कत्ति पनि हिनताबोध हुँदैन।
…पहेँला लुगा लगाए पनि जोगी हैन भन्ने पारेर बाँच्छु बाँकी जिन्दगी,' ऊ सोच्छ। …ताकि रिटायर्ड सरकारी कर्मचारीले रामप्रसादको जस्तो जिन्दगी जिउन चाहून्।'
रामप्रसाद आफैसँग मुसुक्क हाँस्छ।

रामप्रसादले कारको झ्यालबाट कान्तिपथको फुटपाथमा हिँडिरहेका दुईजना बच्चालाई देख्छ। उनीहरूले रातो र निलो रंगका कपडा लगाएका छन्।
…आ–आफ्नो च्वाइस हो,' सोच्छ। …तर पहेँलो रंगका कपडा लगाएको भए कति राम्रा देखिन्थे यी केटाकेटी।'
रामप्रसादमा पहेँलो रंगप्रतिको आकर्षण अझै बढेर आउँछ।
ठमेलको जाभा क्याफेनेरको पार्किङमा कार राखेर ऊ स्वप्न बगैंचामा छिर्छ। रेस्टुरेन्टको बरन्डामा बसेर ह्विस्की मगाउँछ। चस्मा निकालेर टेबलमा राख्छ र आङ तान्छ।
ह्विस्की दिँदा वेटरले रामप्रसादलाई नियाल्छ।
…के भो, भाइ?' रामप्रसाद।
…केही होइन, सर।' वेटर।
…केही होइन भने किन त्यसरी हेर्छौ?'
वेटर मुसुमुसु हाँस्दै जान्छ। रामप्रसादले ह्विस्की पिउन सुरु गर्छ।
साँझ छिप्पिँदै जान्छ। रामप्रसादलाई ह्विस्कीको नसा चढ्दै जान्छ।
…जीवनमा अरूका लागि धेरै बाँचियो,' रामप्रसाद सोच्छ। …मरिलानु के छ र? साला, अब आफ्नो लागि बाँचिन्छ जिन्दगी।'

मैले आफ्नो लागि मात्र सोचेको भए आज एक्लो हुने थिइनँ। कलेजको पढाइ सकेँ। घन घसी बन्चरो गरेर लोकसेवा आयोगको जाँच पास गरेँ। बिहे गरेँ। छोराछोरी जन्मे। तलबले घर चलाउन मुस्किल परेपछि घुस ख्वाएर भन्सारमा सरुवा पनि मिलाएँ। पैसा कमाएँ। पैसा र राजनीतिक बलको आडमा बढुवा भएर उच्च सरकारी पदमा पुगेँ। कतिलाई डुबाएँ। कतिलाई उकासेँ। आफ्नो परिवारको स्वार्थबाहेक जीवनमा केही गरिनँ। पैसा खर्च गरेर लद्धु छोराछोरीलाई अमेरिका पढ्न पनि पठाएँ। छोराछोरीले उतै घरजम गरे। श्रीमतीले संसार छाडी। अन्तिममा म बुढो एक्लै।  
…यही हो साला रिटायर्ड लाइफ?' ऊ सोच्छ। …अन्तिममा एक्लै हुनु नै छ भने बीचमा पारिवारिक झमेला किन?'
ऊ ह्विस्कीको चुस्की लिन्छ। टेबुलमा राखेको चस्मा खेलाउँछ। वेटरले चिकेन चिल्ली ल्याइदिन्छ। तात्तातो चिकेन चिल्लीको एक टुक्रा खाएर फेरि उसले ह्विस्कीको चुस्की लिन्छ।
मैले छोराछोरीलाई अमेरिका नपठाएको भए कमसेकम म एक्लै हुने त थिइनँ। अहिले एक्लो बाउलाई बचन लाउँछन्। तिमीहरूसँगै बस्न अमेरिका आउँछु भन्दा …एडजस्ट हुन सक्नु हुन्न, ड्याड' भन्छन्।
…ठिक छ साला जिन्दगी?' रामप्रसाद मनमनै कड्किन्छ। …मैले कमाएको सबै सम्पत्ति आफैले उडाउँछु।'
रेस्टुरेन्टको बरन्डाबाट उसले बगैंचातिर आँखा डुलाउँछ। धमिलो प्रकासमा तन्नेरी–तरुनीहरू जिस्किरहेका छन्।
रेस्टुरेन्टको बिल तिरेर रामप्रसाद ठमेलतिर जान्छ। जति समय बित्दै जान्छ उसलाई उत्ति हलका महसुस हुँदैजान्छ। पहेँलो वस्त्रले सजिएको रामप्रसादले ठमेलका गल्ली–गल्ली चाहार्छ।
…साला, हिप्पी भएर बाँकी जिन्दगी बिताउँछु,' ऊ सोच्छ। …जोसुकैले जेसुकै भनून्।'
रामप्रसाद डान्सबारमा छिर्छ।



बिहान उठ्दा रामप्रसादको जिउ चिलाइरहेको छ। उसले पहेँलो टिसर्ट खोलेर जिउ हेर्छ। जिउभरि राता फोका छन्।
…के भयो मलाई?' रामप्रसाद सोच्छ। …कि ...'
रामप्रसाद डाक्टरकोमा जान्छ। रगत, पिसाब जाँच गराउँछ। रिपोर्ट राम्रो देखिन्छ। ऊ ढुक्क हुन्छ। डाक्टरले सामान्य एलर्जी हो भनेर मलम दिन्छन्। ऊ घर फर्कन्छ।



जति उपचार गरेपनि रामप्रसादको शरीरमा आएका घाउहरू बीसको उन्नाइस भएनन्। ठुल्ठुला डाक्टरहरूलाई पनि उसले भेट्यो। रामप्रसादको शरीरमा निस्केका घाउ देख्दा डाक्टरहरू पनि अचम्म परेका छन्।
…रामप्रसादलाई के भयो?' छिमेकीहरूमा बहस चल्न थाल्छ। …पापले हो भनौं भने पनि अलि अप्ठेरो कुरा भयो।'
जति उपचार गरेपनि बिसेक नभएपछि रामप्रसादलाई उसका नातेदारले अस्पतालमा भर्ना गर्छन्। तैपनि केही उपाय निस्कँदैन। उपचारका सबै विधि अपनाउँदा पनि केही नलागेपछि रामप्रसादले आफ्नो नातेदारलाई ज्योतिषकोमा पठाउने विचार गर्छ।



रामप्रसादको चिना फुकाउनेबित्तिकै ज्योतिषले जिब्रो टोकेर आँखा ठूला पार्छन्। रामप्रसादको नातेदारको मन चिसो हुन्छ।
…के छ र त्यस्तो?' रामप्रसादको नातेदार भन्छ। …जिब्रै टोक्नुभो त?'
…वहाँ बिरामी हुनुहुन्छ हो?' ज्योतिषले भन्छ। …शरीरभरि घाउ खटिरा आएको हुनुपर्छ।'
…हो हजुर। जति उपचार गरेपनि सन्चो हुँदैन।' रामप्रसादको नातेदारले भन्छ। …केही उपाय निस्कन्थ्यो कि भनेर तपाईंकोमा आएको।'
ज्योतिषले गहिरिएर रामप्रसादको चिना हेर्छ। निधार खुम्च्याएर एकछिन घोरिन्छ। रामप्रसादको नातेदारले प्रतीक्षा गरिरहन्छ।
…वहाँ अवसरवादी र स्वार्थी स्वभावको हुनुहुन्छ?' ज्योतिषले रामप्रसादको नातेदारसँग प्रश्न गर्छ।
…सबै त्यसै भन्छन् हजुर।' रामप्रसादको नातेदार भन्छ।
…वहाँको कर्म र चाहनाको टक्कर पर्‍यो,' ज्योतिषले भन्छ। …वहाँ पहेँलो वस्त्रधारी हो?'
…रिटायर्ड भएपछि पहेँला कपडा लगाउन थाल्नुभएको हो।' रामप्रसादको नातेदार भन्छ। …तर वहाँ जोगी भने होइन।'
…पहेँलो वस्त्र प्रयोग गर्न बन्द गर्नुस् सबै ठिक हुन्छ।' ज्योतिषले भन्छ। …अस्पतालबाट घर लगे हुन्छ।'
रामप्रसादको नातेदार र ज्योतिषको लामो कुरा हुन्छ।
ज्योतिषको भनाइअनुसार पूर्वीय संस्कृतिमा पहेँलो रंगको अर्थ त्याग, समर्पण, पवित्रता हुन्छ। बिरामी व्यक्ति रामप्रसादले गरेको कर्म पहेँलो रंगको अर्थसँग बाझिएकाले रामप्रसादलाई पहेँलो रंग अशुभ भएको हो। रामप्रसादले पहेँलो रंग छुनै हुँदैन।



रामप्रसादको नातेदार घर फर्केर ज्योतिषले भनेका सबै कुरा रामप्रसादलाई सुनाउँछ। रामप्रसादले आफूले लगाएका पहेँलो रंगका कपडा फुकाल्छ। दिन बित्दै जाँदा उसको शरीरमा भएका घाउ पनि निको हुँदै जान्छन्। तर, रामप्रसादको मन भने चंगा हुँदैन। ऊ फेरि मनोरोगले थलिन्छ। बाउ मनोरोगले थलिएपछि उसको छोरो चन्द्रप्रसाद अमेरिकाबाट आउँछ।
रोगले ख्याउटे भएको आफ्नो बाबुलाई देखेपछि चन्द्रप्रसाद भावुक हुन्छ। बाउछोरा बसेर लामो गफ गर्छन्। रामप्रसादले आफू पनि छोरासँगै अमेरिका जाने मनसाय व्यक्त गर्छ। बाउको करकापमा परेपछि चन्द्रप्रसाद पनि राजी हुन्छ।



इमिग्रेसनमा छिर्नुभन्दा अगाडि रामप्रसादले बाहिरतिर हेर्छ। हुस्सुमा रुमलिएको काठमाडौंको सानो खण्ड देख्छ।
…बाँचेछु भने फर्केर आऊँला है,' रामप्रसादको मनले भन्छ। उसका आँखा रसाउँछन्।
झन्डै दुई घन्टा कुरेपछि अमेरिकाको लागि जहाज चढ्न रामप्रसाद र उसको छोरो चन्द्रप्रसाद जहाज भएतिर लाग्छन्। एअरपोर्टभित्रको बसले पहेँलो रंगको ठूलो जहाजनेर लगेर उनीहरूलाई उतारिदिन्छ। जहाजको रंग देखेपछि रामप्रसाद झस्कन्छ।
…बाबु, म नगए के होला?' रामप्रसादले छोरासँग साउती गर्छ। …मन कस्तो–कस्तो भयो मेरो त।'
…के भन्नुभएको?' चन्दप्रसादले भन्छ। …एअरपोर्टबाट फर्कंदा मान्छेले के भन्छन्?'
रामप्रसादलाई पहेँलो रंगको जहाज झन् बढी टल्किएजस्तो लाग्छ। अनकनाउँदै ऊ जहाजमा चढ्छ।
Last modified on मंगलवार, 30 नोभेम्बर 1999 05:45

कमेन्ट गर्नुस्


NagarikNews.com

अक्षर