
…तर, आज यहाँ सबैको सामुन्ने म तिमीलाइ केहि दिन गइरहेको छु,' मदनकृष्णले औंला बाहिर देखाउदै भने, …ल उ त्यहा हेर त।' हरिवंश मात्र होइन सबैले संभवत पहिलो पटक गहिरिएर गाडि बाहिर हेरे। पहिलो पटक यस अर्थमा कि काठमाडौंबाट माइक्रो स्टार्ट भएदेखि भित्रको माहोलमै सबै केन्द्रित थिए।

…ऊ त्यो नदीको किनारमा ठूलो ढुंगो छ नि...' उनी झनै भावुक देखिए, …लैजाउ, हाम्रो मित्रताको चिनो, त्यो ढुंगो आजदेखि मैले तिमीलाइ नै दिए।'
चल्दै गरेको मोटरमा हाँसोको फोहरा छुट्यो।
लोभिएका नजर पल्याक पुलुक पार्दै गरेका हरिवंश हिस्स भए। उनी पनि के कम?…ए, हुन्छ दाजु,' उनले थपे, …यो बाटोबाट गुज्रेको बेला अब म सधै त्यो ढुंगालाइ तपाईले दिएको हात्ती सम्झेर चढौंला।'
यात्रामा मह मात्र छैनन्। चढ्ने, उत्रने र बिसौनीमा थपिनेहरुको श्रृंखलालाई एकै ठाउँमा जोड्ने हो भने गैरआवासीय नेपाली संघ (एनआरएन)का उपेन्द्र महतो, श्रीमति महतो, जीवा लामिछाने, जुगल भूर्तेल, विद्यालय सञ्चालक उत्तम सञ्जेल, सञ्चारकर्मी बिजयकुमार, रविन्द्र मिश्र, राजेश केसी, विकास रौनियार, राजेश गुरुङ अनि सभासद जुली महतो।
केहि समयअघि भारतका तत्कालीन राष्ट्रपति एपीजे अब्दूल कलाम प्रख्यात लेखक खुशवन्त सिंहलाई जन्मदिनको शुभकामना दिन अचानक उनको घरै पुगेका थिए। त्यतिबेला अंग्रेजी म्यागजिन …आउटलुक'ले मानवीय अभिरुचीको एउटा महत्वपूर्ण विषय सार्वजनिक गरेको थियो– …ठूला मान्छेहरु कस्ता कुरा गर्छन्?'
त्यो लेखको सार थियो, उनीहरुले बोकेको उद्देश्यबाहेक सामान्य मान्छेभन्दा बेग्लै गर्ने विशेष कुरा केहि हुदैन। यो संसारमा विशेष भनिने केहि कुरा छदा पनि त छैन। जस्तो कि पाका उमेरका कलाम र सिंहले पनि त्यही बगैंचाको, तीनै फूलहरुको र त्यतातिर आउने स–साना चराहरुकै बारेमा अनुभव साटासाट गरेका थिए।
हो, यो यात्राको पनि उद्देश्य ठूलो छ। धेरै ठूलो। गरिबका छोराछोरीहरुले कसरी सस्तो दाममा स्तरिय शिक्षा पाउन सक्छन् भन्ने हिसाब गरेर उत्तमद्वारा खोलिएको समता शिक्षा निकेतनको मुलुकभर विस्तार। तर, यो उद्देश्यमा हिडेका यात्रीले गर्ने कुरा चाहि त्यस्तै सामान्य विषयका ठट्टाले भरिएको थियो।

…एक दिन मनकामना मन्दिर तलको रिसोर्टमा बसेको थिएँ,' महतोले भन्दै गए,…वीरगन्जतिरको व्यापारी बताउने एकजना म नजिक आए र प्रशंसा गर्न थाले।'
त्यो क्षण महतोको जीवनकै एउटा अनौठो अनुभव बन्न पुग्यो जतिबेला उनी सामू आएका व्यक्ति अगाडि नै बसेर आफ्नै प्रशंसा गरिरहेको छ भने …उपेन्द्र महतो' लाई तथानाम गाली गरिरहेको छ।
…तपाइले गरिरहनुभएको काम साह्रै प्रशंसनीय छ, सबै नेपालीले तपाइजस्ता मान्छेको योगदानबाट सिक्न सक्नु पर्छ,' महतोले ती व्यक्तिको भनाइ सुनाउँदै थपे,…तर, तराइकै त्यो उपेन्द्र महतो भन्ने व्यक्ति एकदमै गलत छ। त्यस्तालाई चाहिँ ठीक पार्नु पर्छ।'
यो दोहोरो कुरालाई कुन रुपमा लिने? महतो निकै समस्यामा परे। …उपेन्द्र महतो मै हूँ भनौं भने जोशिएको यो मान्छेले हिर्काउला भन्ने डर, नभनौं त प्रसंशा स्वीकारौं कि गालीबाट तर्सौ?' महतोले भने,…घरि प्रफुल्ल त घरि आतंकित, म साह्रै मुश्किलबाट गुज्रदै गएँ।'
आफूलाई गर्नुसम्म प्रशंसा र गाली गरेर थाकिसकेपछि बल्ल त्यो मान्छेले रहस्य खोल्दा उनले हाँसो थाम्न सकेनछन्।
…ए, सरी है उपेन्द्र यादव पो हो त...'

…त्यो ताका नीर शाह र म साथै बसेर पिउँथ्यौं,' उनले भने,…एउटा रात त पिउँदा पिउँदै एक बजेछ।'
घडी हेरेपछि विजयकुमार तर्सदैँ घर फर्कने योजनामा लागेछन्।
…अहिले नफर्क,' नीर शाहले त्यतिबेला दिएको सल्लाह सुनाउँदै विजयले थपे,…अहिल्यै गयौ भने बाटोभरी सबैले जँड्याहा भन्छन्, यत्रो बेर बस्यौ अब दुई घन्टा कुर र अलिकती थप अनि बाटो भरि जय शम्भो–जय शम्भो भन्दै जाउ, सबैले पशुपतिबाट फर्केको भन्ठान्नेछन्।'
होटलमा हाँसोको पर्रा छुट्यो।
विजयको मदिरा अनुभव अर्को दिन माइक्रोबस भित्रै पनि जारी रह्यो।
…त्योताका टेलिभिजन भर्खर सुरुभएको थियो। हामीलाई सबैले चिन्थे,' विजयले भने,…एक दिन मातिएकै सुरमा हामी टेलिभिजनको पहेँलो नम्बर प्लेटमा यात्रा गदर्ैै थियौं।'
सडकमै तानातान चलिरहेको विन्दुमा पुगेर मोटर रोकियो। त्यहाँ एक युवकलाई केहि प्रहरी भ्यानमा हुल्न खोजिरहेका थिए। सकिरहेका थिएनन्।

प्रहरीमध्ये केहिले चिन्ने बित्तिकै सेलुट ठोक्दै भने–…जाँडले मातेको मान्छे हो। पक्राउ गर्न लागेको।'
यो दृश्य र कुरा सुनेपछि गाडि भित्रका नीर फेरि बोले।
…जाँड खादैमा पक्राउ गर्ने हो भने त हामी पनि पिएर आएका हौं,' उनको सोधाइ थियो,…के हामीलाई पनि पक्राउ गर्छौं?'
पछाडि बसेका विजय नीरको कुरा सुनेर हच्किए।
…होइन साहेब,' प्रहरीले भनेछ,…कहाँ हजुरहरुलाई पक्राउ गर्नु?'
त्यसपछि नीरले ठूलै उदारता देखाउन खोजे।
…कि त हामीलाई पनि समात,' उनको भनाइ थियो,…होइन भने यो केटोलाई पनि छाड।'

…कोहि सालाको सिफारिसमा छुट्नु पर्या छैन,' केटोले प्रहरीलाई समेत ठेल्दै भ्यान भित्र पस्न खोज्यो,…हिँड मलाइ थाना लैजाओ।'
जवाफ सुनेर नीरको होस उडेछ।
सडकमा भेटिएको त्यो अनौठो केटा को रहेछ? यो जिज्ञासा विजयकुमारलाई पछिसम्म भइरहेछ र खोजेछन् पनि।
…मनमोहन भट्टराइ,' विजयकुमारले भने,…कांग्रेसका तत्कालीन युवा नेताको जोश रहेछ त्यो भन्ने कुरा मैले धेरै पछि थाहा पाए।'
एकछिन फेरि महतिरै जाऔं। कुनै विद्यालयमा पुगेर चन्दा माग्ने दुइथरि माओवादीको हानाथापकै क्रममा चन्दाको रेट पनि घट्दै गएको प्रसंगलाई मदनकृष्णले रोचक ढंगमा व्याख्या मात्र गरेनन्, उनले सबैलाइ हसाएर पटाक्षेप पनि गरिदिए–…आजभोली त सम्बोधन गर्दा पनि धेरैले कमरेड नभनेर कम रेट भन्छन् रे...'
त्यतिबेलै छापामारलाइ सेनामा समायोजनको कुरा चल्यो। बहसकै क्रममा हरिवंश समाधान बोकेर अघि बढे।

कुरा कांग्रेसका पनि भए। एकताका मह जोडी कृष्णप्रसाद भट्टराईसँग भेट्न पुगे। …तिमीहरु काम पाउदैनौं एकाविहानै आएर डिस्टर्ब गर्ने?' किसुनजी त आक्रोशित भएछन्,…गेट आउट, गेट आउट।' बडो निराश भएर फर्किने बेलामा अमिता कपालीले देखिन् र स्थितीलाइ नियन्त्रणमा लिदै उनीहरु मदनकृष्ण हरिवंश रहेको परिचय गराइ दिइन्।
…ए, बाबुहरु आउनुस् आउनुस्,' किसुनजीले अचानक व्यवहार परिवर्तन गर्दै भनेछन्,…म त नेविसंघका केटाहरु एकाविहानै टाउको दुखाउन आइपुगे भनेर...'
कुरै कुरामा राष्ट्रपति रामवरण यादवका असल गुणहरुको प्रशंसा मात्र भएन, पूर्व राजा र यादवको अचानक भेट भयो भने कसले के गर्ला भन्ने महको हाँसउठ्दो अड्कलबाजी पनि चल्न थाल्यो।
कुनै पनि राजनीतिज्ञको क्यारिकेचर गर्ने काम महले …जुनियर' हरुलाइ छाडेका रहेछन् भन्ने पनि यात्रामा थाहा पाइयो। नत्र अर्काको स्वर र हावभाव मात्र प्रकट गर्नेहरुका सामुन्ने त्यस्ता राजनीतिज्ञको चरित्रका भित्री पाटोलाइ समातेर धज्जी उडाउने महका क्यारिकेचर अरुसँग तुलनै गर्न नसकिने थियो।
सायद तिनै ताका सभासद जुली महतो राजनीतिज्ञहरुको खिल्ली उडाइएकामा चित्त दुखाउदै थिइन्, जसको जवाफ दिइरहेका थिए विजयकुमार।
…धन्दा नमान्नुस्, किसुनजी भन्नु हुन्थ्यो, दुनियाँले लाखै बदनामी गरे पनि हामी नेताको केहि बिग्रनेवाला छैन,' उनले थपे, …चार वर्ष तीन सय ६४ दिन गाली गरे पनि ६५ औं दिन सारा जनताले भोट हामीलाइ नै दिने हो।' जतिसुकै ठूला कुरा गरे पनि देवेन्द्रराज पाण्डेले दुई सय ६४ भोट पाएको र परिवारमै ११ जना रहेका गोविन्द लोहनीले ९ भोट मात्र पाएको उदाहरण समेत विजयले प्रस्तुत गरेपछि सभासद महतोको चित्त बुझेको थियो।
बाटोमा हिँड्दै गर्दा ट्रक पछाडि देखिएका साहित्यको चर्चा पनि चले। ती मध्ये …नया नेपाल पनि देखियो' र …आएको थियो–गयो भनिदिनु' भनेर लेखिएका दुई ट्रकका सन्देशले मदनकृष्णलाई धेरै छोएको थियो।
मदनकृष्ण र हरिवंश यो मुलुकको कति रुचाइएका जोडी हुन् भन्ने कुरा यस्तो यात्रामा निस्केको बेला बाटोभरि फेला पर्नेहरुको प्रतिक्रियाले पनि देखाउँदो रहेछ। जहाँ रोकियो, त्यहाँ उनीहरुलाइ घेर्नेको भीड।
यसरी बाहिर हिँडेका बेला उनीहरुले सानोमा टोल छेउ गुच्चा खेलेका अथवा सँगै स्कूल पढेका साथीहरु पनि भेट्दा रहेछन्।
…एक पटक विज्ञापन नाटक देखाउन वीरगन्ज पुगेको बेला स्कूल पढ्दाको साथी त्यहाँ हवल्दार रहेछ,' मदनकृष्णले सुनाए, …बडो श्रद्धा गरेर उसले साँझको खाजाका निम्ति सेकुवा पसल पुर्यायो।'
केटाकेटीको साथी भनेर मदनले पनि साह्रै आनन्द लिएर खाएछन्। बाहिर निस्कने बेला मदनले पैसा तिर्न खोजे। हवल्दार साथी भने हात च्याप्प समात्दै पछाडिबाट होटलबाहिर निस्कने इशारा गर्न थाले।
…साथीले कमाएछ, तिरोस् भन्दै अलिक पर पुगेको मात्र थिए,' मदनले भन्दै गए, …भरे साथीको चाला त अर्कै देख्न थालियो।'
त्यतिबेला काउन्टरमा बसेका पसलेलाई तर्केर हेर्दै हवल्दार साथीले पैसा दिनुको साटो …क्या है, ठीक है?' भन्दै बाहिर निस्कन थालेपछि पसलेले रुन्चे अनुहार गर्दै टाउको हल्लाउन थाल्यो। यो दृश्य मदनकृष्णलाइ कत्ति पनि रमाइलो लागेनछ र आफैंले जबर्जस्ती बिल तिरिदिए।
विज्ञापन नाटककै सन्दर्भ निस्केपछि त्यतिबेलाको एउटा रोचक प्रसंग पनि मदनकृष्णले सुनाए
नाटकमा एउटी केटीको तस्बिर हेर्दै …मृग जस्तो आखा, सिंह जस्तो कम्मर, हिउँ जस्ती गोरी, कसकी हुन् यिनी छोरी' भनेर लामै प्रशंसा गर्नुपर्ने थियो। यसरी हेर्ने तस्बिर प्राय राम्रै पोष्टकार्ड हुन्जेल मदनकृष्णलाई कुनै समस्या परेको थिएन।
…तर, एक दिन साथीहरुका बदमाशीको शिकार भएँ,' उनले सुनाए,…नाटक चल्दा चल्दै तस्बिर उठाएर प्रशंसा गर्न खोज्दा त पिसाब फेर्दै गरेको एउटी कुकुर्नीको पछाडिबाट खिचिएको फोटो रहेछ।' मदनकृष्णका अनुसार कुनै पनि कुराको प्रशंसा गर्न जीवनमा त्यो दिन जतिको अप्ठेरो कहिल्यै भएन।
यात्रामा हाँसो मात्र थिएन। मदनकृष्ण र हरिवंशका स्वरको आनन्द समेत थपिएको थियो। एक खालको बेग्लै स्वाद बोकेको हरिवंशको स्वरले कुनै जमानामा गम्भीर शब्द पनि गाएको थियो। उनले गोर्खाल्याण्ड आन्दोलनताकाको त्यही गीत पनि सुनाए –
…मेची पारि, त्यो चियाबारी, चौबन्दी चोलो र छिटको सारी
माटोसंग संगै हुर्केर आ'का, नागरिकता चै कहिल्यै नपा'का...'
गीत चल्दा चल्दै नवलपरासी घर भएका कार्टुनिस्ट राजेश केसीले अगाडिको डाँडा दाउन्ने रहेको जानकारी दिए।
…पूर्व पश्चिम राजमार्गमै यो सबैभन्दा अग्लो स्थान हो,' राजेशले भने, …यसको नाम दाउन्ने।'
कुरा टुंगिएकै थिएन हरिवंशले प्रतिक्रिया दिइहाले–…अग्लो भएकैले त दाउन्ने भयो, होचो भइदिएको भए बाउन्ने भइहाल्थ्यो नि...'
गाडिमा ठूलो हाँसो फैलियो।
…कसरी सक्नुहुन्छ तपाइहरु यसरी तुरुन्ता तुरुन्तै जे कुरालाइ पनि मनोरञ्जक बनाउन?' पत्रकार रविन्द्र मिश्र सोध्दै थिए।
कुराकानीकै क्रममा हरिवंशले नाटककै संवादमा पनि आफूहरु एकरुपतामा नअड्ने गरेको जानकारी दिए। …नाटक लेख्दाका क्रममा तयार पारिएका संवादहरु पछिसम्म पुग्दा अर्कै भइसकेका हुन्छन्,' उनले भने, …यस्ता उदाहरण थुप्रै छन्।'
यसरी हिँड्दाको यात्रा कहिल्यै नथामियोस जस्तो हुदो रहेछ। तर, जीवन रमाइलोले मात्रै भरिएको …प्याकेज' पक्कै होइन।
…भेज र ननभेज' चुटकिलाहरु, क्यारिकेचर, अनेक प्रसंग र बातै पिच्छेका हँसाउने सन्दर्भ जोड्दै आएका हरिवंश अचानक हामीसँग छुट्टिएर जानु पर्ने भयो। भरतपुरबाटै विमानका निम्ति ओर्लिनु अघि उनले हामीलाई कारण पनि सुनाए।
…हृदय रोग भएकी श्रीमतिको पेस मेकरमा ब्याट्री सकिएछ,' उनी भन्दै थिए, …त्यसैका निम्ति जानु पर्ने भयो।'
अघिसम्म सबैलाई हसाउने उनै हरिवंश अचानक अर्कै देखिए। उनले अगाडिको यात्राका निम्ति हामी सबैलाई शुभकामना दिए र ओर्लिए। गाडि अगाडि बढ्यो। भित्र शून्यता छाएको एकैछिन पछि फर्केर हेर्दा हामी निकै पर पुगिसकेका रहेछौं।
