२३ सेप्टेम्बर २००६ का दिन पूर्वी पहाडी जिल्ला ताप्लेजुङको घुन्साबाट उडेको हेलिकप्टर केहीबेरमै नजिकै ग्याब्लामा दुर्घटनामा पर्यो। क्षणभरमै हेलिकप्टरमा सवार सबै २४ जनाको मृत्यु भयो। मर्नेमा संरक्षणका क्षेत्रमा लागिपरेकाहरू, आआफ्ना क्षेत्रका हस्तीहरू थिए। उनीहरू विश्व वन्यजन्तु कोषले आयोजना गरेको कञ्चनजंघा संरक्षण क्षेत्रको स्वामित्व स्थानीय समुदायलाई हस्तान्तरण गर्ने समारोहमा जाँदै थिए। दिवंगत हुनेध्ये सो आयोजनाका मुख्य हर्ताकर्ता, कोषका नेपाल प्रमुख र संरक्षण क्षेत्रका अगुवा डा.चन्द्रप्रसाद गुरुङसमेत थिए। मञ्जुश्री थापालिखित तिनै अगुवाको जीवनी …अ बोय फ्रम सिक्लिस : लाइफ एन्ड टाइम्स अफ चन्द्रप्रसाद गुरुङ' पेन्गुइनले प्रकासमा ल्याएको छ।चन्द्र पोखराको पूर्वोत्तर गाउँ सिक्लेसमा चारजाते गुरुङ खलकमा जन्मेका थिए। उनका बाबु रतनसिंह गाउँका मुखिया थिए। थोरबहुत लेखपढ गरेका, गाउँलाई मुट्ठीमा राखेका। आमा पनि सग्ला अक्षर बाँच्थिन्। मुखियाको परिवार हुनेखाने त भैहाल्ने भयो, उहिले दरबार र 'प्रजा'बीचको सम्बन्धसेतु पनि थियो।
गाउँमै प्राथमिक तहको पढाइ सकेर कुम्लोकाम्लो बोकी चन्द्र पोखरातिर झरे। उनका बाबु चलाख थिए, हावा कता बग्दैछ भन्ने थाहा पाएका। पोखराको सल्लरबोट (सोल्जर्स बोर्ड) स्कुलमा पढ्न हालिदिए, चन्द्रलाई। एसएलसीपछि चन्द्र पोखराकै कलेजमा मानविकी पढ्न थाले। लाहुरे बनेनन्, जागिरे बने — सहकारी विभागमा मुखिया! पछि खरदार र अन्ततः बिजुली विभागमा नायव सुब्बा बने। छोरो …ठूलो मान्छे' बनेको खुसीमा बाबुले खसी काटेर गाउँलेलाई भोज ख्वाए।
तर, कान्छा मुखियालाई …धेरै ठूलो' मान्छे हुनु लेखेको थियो। उनको जीवनमा धर्मआमा बनेर अमि्रकाने डोरथी मिएरो आइन्। उनैको सहयोगमा चन्द्र अमेरिकाबेलायत पुगे, देशदुनियाँ देखेर, घुमेर फर्किए। र, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा भूगोल पढ्न थाले। त्यहीँ पढ्ने काठमाडौंकी रैथाने केटीसँग प्रेमपासोमा बाँधिए। बिहे गरे। पछि एआइटी, ब्यांककमा पढे, अनि हवाई विश्वविद्यालयबाट पिएचडी गरे। हवाईको बसाइले चन्द्रलाई डाक्टरसाब बनायो, तर सँगै जीवनभरको पारिवारिक किचलो पनि निम्त्यायो। त्यहीँ उनी जापानी केटीसँग लहसिए, बिहे गरे र बाबु बने। जेठी श्रीमतीसँगको सम्बन्ध कहिल्यै नजोडिने गरी भाँचियो। तर कानुनी रूपमा टुटेन, र जीवनपर्यन्त उनलाई घोचिरह्यो, पीडा दिइरह्यो।
पढाइ सकेर चन्द्र नेपाल फर्किए, अनि संरक्षणमा लागे। उनको पहिलो संलग्नता तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) मा भयो। यो पारम्परिक सोचभन्दा भिन्न र एकहिसाबले संरक्षणको सोचमा फड्को मारेको योजना थियोः स्थानीयहरूलाई नै व्यवस्थापनमा सहभागी बनाउने। पुस्तक लेखक थापाको चन्द्रसँग चिनजान यही आयोजनामार्फत भएको थियो। र, लेखकले पनि सो आयोजनामा केही समय काम गरेकी थिइन्। सोही भेटघाट, कामले लेखकको जीवनयोजनामा समेत परिवर्तन ल्यायो, उनलाई नेपालमै बस्न प्रेरित गर्यो।
प्रकृति कोषका हाकिम बनेका कान्छा मुखियालाई दरबारले दोस्रो कार्यकालका लागि पत्याएन, आश्वासन दिएर लोप्पा ख्वाइदियो। प्रकृति कोषबाट विस्थापित भएर उनी विश्व वन्यजन्तु कोषमा पुगे। त्यहाँ उनको नेतृत्वमा वन्यजन्तुहरूलाई ओहोरदोहोर गर्न सजिलो बनाउने तराईका (सीमापारि पनि) जंगल जोड्ने …ताल' आयोजना सुरु भयो। अनि अर्को महŒवपूर्ण योजना कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना तयार भयो। एक्यापभन्दा यो आयोजना एक कदम क्रान्तिकारी थियो, किनकि अघिल्लोमा व्यवस्थापन मात्र स्थानीयको जिम्मा थियो पछिल्लोमा स्वामित्व पनि। यही आयोजना स्थानीयहरूलाई हस्तान्तरण गरेर फर्कंदा चन्द्र र अरू धेरै विशिष्ट व्यक्ति दुर्घटनामा परे।
बायोग्रफी, त्यसलाई जीवनी भनौं या जीवनगाथा, कुनै व्यक्तिको समग्र जीवनको सोलोडोलो तस्बिर त हो नै, सो व्यक्तिमार्फत उसले जिएको समय चियाउने झ्याल पनि हो। …अ बोय फ्रम सिक्लिस' त्यसमा सफल छ : सिक्लेसको केटोको जीवनवृत्त यसले सुललित भाषामा बताउँछ। सँगै, उसले बाँचेको समयको प्रतिविम्ब पनि त्यहाँ देखिन्छ।
चन्द्रले हासिल गरेको उपलब्धिले उनको व्यावसायिक जीवन सफल थियो भन्न सकिन्छ। तर पुस्तकमार्फत उनको पारिवारिक जीवन चियाउँदा उनको जीवन त्यति सुखमय देखिँदैन। दुई श्रीमती र चार बच्चा भएका चन्द्रसँग घरमा परिवारजन कोही हुन्नन्, सिवाय दुई कुकुर। बाहिर हेर्दा सधैं हसमुख देखिने उनी भित्रभित्रै पिल्सिएका देखिन्छन्। दिदी हुमकलीसँग चन्द्र पीडा व्यक्त गर्छन् : …म त अभागी रहेछु, दिदी।' पुस्तकले उनीप्रति थोरबहुत सहानुभूति सृजना त गर्छ, तर पाठकको हृदयको तार झंकृत गर्दैन, पुस्तक पढ्दा ऊ द्रवीभूत, अवीभूत हुँदैन। किनकि चन्द्र स्वयं पुस्तकमा थोरै छन्, र साथीसंगीका आँखाबाट, अप्रत्यक्ष कथनबाट उनको तस्बिरको धेरै अंश कोरिएको छ। चन्द्रले कि कहिल्यै आफ्ना भावना डायरीमा, चिठीमा, इमेलमा पोखेनन्, कि लेखकले त्यो खोतल्न चाहेनन्, या सम्भव भएन, बुझ्न सकिन्न। त्यस्तै, लेखकले उनका परिवारजनलाई पनि खासै खोतल्न नचाहेको देखिन्छ।
चन्द्रलाई केहीले …तेजस्वी विद्यार्थी' थिए र कतिपयले थिएनन् भनेका छन्। उनी कुशल व्यवस्थापक थिए यो प्रष्टै हुन्छ, तर पुस्तकले उनको बौद्धिकताबारे केही प्रष्ट्याउँदैन, उजिल्याउँदैन। यो समाजबारे, समाज रूपान्तरणको प्रक्रियाबारे उनी के सोच्छन् या उनको धारणा के हो? के उनी आफ्ना कामहरूबाट सन्तुष्ट थिए? यी पक्षबारे उनले कहिल्यै कतै केही लेखेका थिए, थिएनन् थाहा हुन्न। उनलाई, उनको बौद्धिकतालाई परख गर्ने उपयुक्त माध्यम उनका आफ्नै लेखनी हुन सक्थे। पुस्तक लेख्ने क्रममा त्यतिका विधि मान्छेसँग कुराकानी गरेका, थुप्रै ठाउँ पुगेका र अन्य अनुसन्धान गरेका लेखकले यो पाटोलाई ठ्याम्मै उप्काएकी छैनन्। जुन अलि अनौठो लाग्छ।
विकासे योजनाहरूबाट सामान्यजनको जीवनमा परिवर्तन ल्याउन सकिन्छ? त्यस्तो परिवर्तन कति दिर्घायु हुन्छ? त्यसका सीमाहरू के–के छन्? के यस्ता योजनाबाट सबैले समान रूपमा फाइदा लिन सक्छन्? कि फाइदा लिने अलि हुने खानेहरू नै हुन्छन्? यी र यस्तै सवाल विकासे योजनाबारे सधैं उठ्छन्। लेखक थापा चन्द्र संलग्न आयोजनाहरूको निरीक्षण गर्छिन्। र, केही राम्रा कामको व्याख्या, वर्णनसमेत गर्छिन्, जुन कतैकतै विकासे संस्थाको रिपोर्टजस्तो पनि लाग्छ। स्थानीयहरूलाई नै आयोजनामा सहभागिता (अझ संलग्न) गराउनुपर्ने …फिलसफी'मा मतैक्य हुन्छ, तर लेखकले सराहना गरेजस्तै ती आयोजनामा स्थानीयहरूको सहभागिता, संलग्नताबारे आश्वस्त हुन सहज छैन। किनकि घान्द्रुक, धम्पुस, सिक्लिस या एक्यापअन्तर्गतका गाउँतिर घुम्दा बाटोमुनि, कान्लामुनि देखिने दलित घरहरूको सो आयोजनामा उपस्थिति कस्तो छ अथवा तिनले कतिको फाइदा लिएका छन् सधैं प्रश्न उठ्छ। रोचक त के भने …ताल' परियोजनाअन्तर्गतका विभिन्न योजना हेर्दै हिँडेकी लेखकले बेलको जुस बनाउने उद्योग सञ्चालन गरिरहेको दलितसँग कुरा गर्छिन्, तर त्यो दलित बेनामे छ। जबकि लेखकले कुरा गरेका अन्य सबैको पुस्तकमा नाम छ।
पुस्तकमा छिटपुट तथ्यगत गल्ती छन्। जस्तो, बुटवललाई पाल्पामा पर्छ भनिएको छ। हिलरी र तेन्जिङले सगरमाथा सन् १९५९ मा चढेको, राणा शासन सन् १८४९ मा सुरु भएको लेखिएको छ। पोखराको जनसंख्या ११ लाख उल्लेख छ। तर चन्द्रको जीवनबारेमा, संरक्षण आन्दोलन, वातावरणको इतिहासमा, विकासे आयोजनामा र समकालीन राजनीतिमा रुचि राख्ने सबैलाई पुस्तक उपयोगी हुन सक्छ।
पुस्तकः अ बोय फ्रम सिक्लिस : लाइफ एन्ड टाइम्स अफ चन्द्रप्रसाद गुरुङ
लेखकः मञ्जुश्री थापा
प्रकाशकः पेन्गुइन इन्डिया, दिल्ली (२००९)
पृष्ठः २२६
मूल्यः भारू २५१
