गएको पुस १५ गते काठमाडौंको जमलस्थित एजुकेसनल बुक हाउसमा नयाँ पुस्तकका …ब्लर्ब' पढ्दै गर्दा त्यसका व्यवस्थापक रमण राउतले एकाएक ढोका लगाएर चाबी पड्काए र ढोकानेर एउटा केटाको हात समात्दै भने, …पुस्तक निकाल। छिटो।'अनुहार निन्याउरो पार्दै उसले आफ्नो ज्याकेटभित्रबाट चारवटा पुस्तक निकाल्यो — ड्यान ब्राउनको …एन्जल्स एन्ड डेमन्स' र टिनटिन तीनवटा कमिक्स।'
…कति चोर्न सक्छौ, हँ? एक दिन होइन दुई दिन होइन, सधैं!' राउतले केटोलाई हकारे।
…फस्ट टाइम हो, दाइ, सरी।'
…हैन। तिम्ले धेरैचोटि चोरिसक्यौ, मलाई थाहा छ ।'
…छैन, दाइ। साँच्चै चोर्या छैन। आजै फस्ट टाइम हो। अबदेखि चोर्दिनँ।'
पुस्तक पसलमा पुस्तक ओल्टाइ–पल्टाइ गरिरहेकाहरू सबै त्यही केटालाई हेर्न लागे। उसले निलो जिन्स, कालो ज्याकेट, ज्याकेटभित्र हुड भएको टिसर्ट, हुडभित्र बेसबल टोपी र आफ्नो खुट्टाभन्दा धेरै ठूलो चप्पल लगाएको थियो।
केटो नर्भस भयो र भन्यो, …सरी, दाइ, अब यस्तो गर्दिनँ।'
…यसलाई कान समाएर उठबस गराएर मात्र छोड्नुपर्छ,' पुस्तक पसलमा काम गर्ने एकजनाले भन्यो।
…कहाँ यसै छोड्नु, तिम्ले भनेर हुन्छ? तिमी साहु हौ?' राउटले सहकर्मीलाई झपारे। र, मोबाइलले केटोको फोटो खिच्न थाले।
केटाले टाउको निहुरायो र अनुहार हातले छेक्न खोज्यो।
नियमित पुस्तक पसल गइरहने मेरा साथीले केटोलाई भने, …भाइ, म तिमीलाई केही प्रश्न सोध्छु, साँचो–साँचो जवाफ दियौ भने हामी तिमीलाई छोडिदिन्छौं।'
…के सोध्नुहुन्छ?'
…कति कक्षामा पढ्छौ?'
…अहिले पढ्दिनँ, दाइ। आठ कक्षामा पढ्थेँ, छोडेँ। कालिमाटीमा आमाको सब्जी पसल छ, आमालाई सघाउँछु।'
…चोरेको पुस्तक के गर्छौ?' उनले फेरि सोधे।
…पढ्छु। मलाई पढ्न मन लाग्छ तर मसँग पुस्तक किन्नका लागि पैसा हुन्न।'
…पैसा छैन भने चोर्ने हो त?' राउट कड्के।
…पैसा दिन्छु, दाइ,' केटोले भने। र, उसले आफ्नो गोजीबाट एउटा पचास र दुईवटा बीसको नोट निकालेर दिन थाल्यो।'
…यति रुपैयाँले के गर्ने?' राउतले भने।
१४, १५ वर्षको जस्तो देखिने केटो चुप लाग्यो।
मेरा साथीले उसलाई सोधे, …अनि ड्यान ब्राउनको पुस्तक नै किन चोरेको नि?'
…यसको फिल्म हेरेको थिएँ। पुस्तक पढ्न मन लाग्यो। कमिक्स त म सधैं पढिराख्छु। मनपर्छ।'
आठ कक्षाको …ड्रपआउट'ले ड्यान ब्राउनको पुस्तक पढ्न सक्दैन भन्ने लागेर होला मेरा साथीले उसलाई एक पेज पढेर सुनाउन भने। उसले पुस्तकको पहिलो पेज पढ्यो — नर्भस तर राम्रोसँग। ऊ सायद दस कक्षामा पढ्थ्यो — उसको झोलामा एसएलसीको एउटा गेसपेपर र छ वटा कलम थिए।
…यसले केही पनि साँचो बोलेन यसलाई एक प्याकेट बिस्कुट किनेर ल्याइदिनुपर्यो, रातभरि यहीँ पढेर बस्छ,' राउतले भने।
केटो डराएर थचक्कै भुइँमा बस्यो। राउतले केटाको फोटो फेरि खिच्न थाले र भने, …यसको फोटो पत्रिकामा छाप्नुपर्छ।'
केटो रूँलारूँला जस्तो गर्यो र रुन्चे स्वरमा भन्यो, …दाइ, पत्रिकामा नछाप्दिनू। करिअर बिग्रिन्छ।'
मेरो साथीले …आठ कक्षा ड्रपआउटको के करिअर हुन्छ र बिग्रिन्छ' भने र सबै गलल्ल हाँसे।
केही बेरसम्म यस्तै हाँसो चलेपछि फुच्चेले पढ्न मन गरेछ, छोडिदिऊँ भन्नेमा सबैको सहमति भयो। र, केटो लुसुक्क पर्दै बाहिर गएपछि राउतले भने, …यो पुस्तक चोर्ने मौसम नै हो।' जाडो मौसम। बाक्लो ज्याकेट लगाएर आयो, पुस्तक पसलेको आँखा छलेर सुटुक्क ज्याकेटभित्र पुस्तक राख्यो र बाहिरियो। सजिलो।'
तर यसरी पुस्तक चोर्ने त्यो केटाजस्ता मात्र हुँदैनन्। मन्डला बुक प्वाइन्टका माधव महर्जन भन्छन्, …सुटेड–बुटेडले पनि पुस्तक झ्याप पारिहाल्छन्।'
…कसरी?' हामीले उनलाई सोध्यौं।
…पत्रिकामा लेख्ने भए त म भन्दिनँ,' उनले भने। यसरी–यसरी पुस्तक चोरी हुन्छ भनेर लेख्ने हो भने त्यही पढेर नचोर्ने मान्छेले पनि चोर्न थाल्छ भन्ने उनलाई डर रहेछ।
…त्यस्तै भयो,' उनी भन्छन्, …एकचोटि पत्रिकाले यसरी यसरी पुस्तक चोर्छन् भनेर लेख्यो, भोलिपल्टदेखि त झन् चोरी बढ्यो।'
त्यसो त सुटेडबुटेडले मात्र पुस्तक चोर्ने होइनन्। अरू किसिमका मानिस पनि छन् जसले पुस्तक चोर्छन्। महर्जनका अनुसार पुस्तक चोरलाई तीन किसिममा बाँड्न सकिन्छ। पहिलो, पढ्न मन भएका तर पैसा नभएका चोर। दोस्रो, आफूसँग किन्ने क्षमता भएर पनि चोर्ने व्यग्रता भएका चोर। त्यस्तो व्यग्रतालाई …बिब्लियो क्लेप्टोमेनिया… भनिन्छ। र तेस्रो, पुस्तक चोरेर अन्तै लगेर बेच्ने चोर।
महर्जनले पहिलो किसिमका पुस्तक चोर हिजोआज धेरै भेटेका छैनन्। पुस्तकालय र सेकेन्ड ह्यान्ड बुक सपको संख्या बढेकाले यसमा कमी आएको उनी ठान्छन्।
दोस्रो किसिमका चोरको संख्या खासै ठूलो छैन र विघ्न मात्रामा चोरी गर्दैनन् पनि। तेस्रो किसिमका चोरको संख्या हालैका वर्षमा धेरै बढेको पाइएको छ। सेकेन्ड ह्यान्ड बुक सपले सजिलै पुस्तक किनिदिने हुनाले चोरको संख्या बढेको बिक्रेताहरूको आकलन छ।
लागूपदार्थ प्रयोग गर्ने युवाका लागि पुस्तक चोर्नु सबैभन्दा सजिलो उपाय भएको उनीहरू बताउँछन्। चोरी गरिएका कपडा, जुत्ताजस्ता अन्य सामानभन्दा पुस्तककोे बिक्री गर्न उनीहरूलाई सजिलो हुने बताइन्छ। एउटा युवकले आफूकहाँबाट पुस्तक चोरेको सम्झन्छन् महर्जन। महर्जनले सुनाएको एउटा घटना : एउटा ६३२ पृष्ठको मोटो विदेशी पुस्तक एक प्रति मात्र भर्खर आइपुगेको थियो। एउटा केटाले गाता पढ्दै थियो। एकैछिनमा केटो गायब, पुस्तक पनि गायब। केहीबेरमा केटो आयो र …दाइ, मैले भर्खरै यो पुस्तक यहीँ किनेको, मन परेन, पैसा फिर्ता दिनुस्' भन्यो। यहीँ किनेको भए बिल देखाऊ भनेपछि केटो लुरुक्क पर्यो।
पुस्तक चोर्नेमा स्कुले र भर्खर प्लस टु कलेज पढ्ने केटाकेटी धेरै हुन्छन्। कोही त नियमित रूपमै चोर्ने हुन्छन्।
…एउटी केटी थिई,' एजुकेसनल बुक हाउसका व्यवस्थापक रमण श्रेष्ठ सम्झन्छन्, …जो नियमित रूपमा पुस्तक चोरेर हैरान गर्थी। उसले चोरेको थाहा पाए पनि मैले केही भन्न लाज लागेर छोडिदिएँ। एक दिन त झोलामा धमाधम पुस्तक राखी। ऊ ढोकानेर आइपुगेपछि झोला चेक गरौं भन्दा उल्टो मलाई त धकेलेर हुत्याइदिई। बल्ल–बल्ल उसको झोला खोलेर हेर्दा सत्रवटा पुस्तक भेटियो। पढ्नै मन लागेको भए लैजाऊ भनेर चार–पाँचवटा पुस्तक दिएर पठाएँ। त्यो केटीले ती पुस्तक पनि ठमेलतिर लगेर बेचिछ, पछि थाहा भयो।'
एउटा पुस्तक पसलबाट चोरेर अर्कोमा लगेर बेच्ने प्रवृत्ति बढेकाले आजभोलि भने व्यापारीहरू शंका लागेका पुस्तक किन्दैनन्। बरु कसैको पुस्तक आफूकहाँ आएमा उनीहरू खबर गरिदिन्छन्। यसरी सूचना आदानप्रदान हुने गरेकाले र पसलमा सिसिटिभी क्यामरा जडान भएकाले आजभोलि केही मात्रामा यस्तो चोरी भने कम भएको छ। एजुकेसनल बुक्सका रमणको अनुभवमा दिनमा एक सय जना ग्राहक आएमा ५/६ जना त चोर्ने ग्राहक नै हुन्छन्। विशेषगरी ठमेल क्षेत्रका पुस्तक पसलमा विदेशी पर्यटक बढी आउने हुनाले पुस्तक चोर्नेमा पर्यटक नै बढी हुन्छन्। पर्यटकले चोर्ने पुस्तकचाहिँ तिनैलाई पढ्न हुने गाइड बुक्स, म्याप, ट्राभल, आर्टबुक, उपन्यास आदि हुन्। एक पटक त एउटा विदेशीले …लन्ली प्लानेट' भन्ने गाइडबुकको सबै सेट नै एक–एक गरी कुम्ल्याएछ। पछि मञ्जुश्री थापाको …द ट्युटर अफ हिस्ट्री' चोर्दाचोर्दै बिक्रेताले समातेछन्।
विदेशमा पुस्तक चोरी
अन्तर्राष्ट्रिय पुस्तक बजारमा पनि ट्राभल, कुकिङ, गाइडबुक र कलासम्बन्धी कफिटेबल पुस्तक नै बढी मात्रामा चोरिने गर्छन्। ब्रिटेनमा …लन्डन : ए टु जेड' भन्ने पुस्तक सबैभन्दा बढी चोरी हुने गर्छ। ह्यारी पोटर शृंखला पुस्तकालयबाट सबैभन्दा बढी सर्कुलेट हुने भएपनि यो पुस्तक चोरीको हिसाबले चौथो स्थानमा आउँछ। तीनवटा सबैभन्दा बढी चोरी हुने पुस्तकमा सबै गाइडबुक नै पर्छन्। …द लर्ड अफ द रिङ्स टि्रलजी' छैटौं स्थानमा पर्छ भने अक्सफोर्ड अंग्रेजी शब्दकोश नवौं स्थानमा पर्छ।
क्राइम फिक्सन लेखिका मार्टिना कोलका पुस्तक पनि धेरै मात्रामा चोरिने पुस्तकमा पर्छन्। तर आफ्नो पुस्तक धेरै मात्रामा चोरी भएकोमा उनको केही गुनासो छैन। भन्छिन्, …मेरो लागि यो राम्रो कुरा नै हो। मेरो पुस्तक चोर्ने हदसम्म कसैले मन पराएर पढ्न खोज्छ भने त्यो मेरो लागि उपलब्धि हो।' तथ्यांकअनुसार ब्रिटेनमा मात्रै एक वर्षमा करिब पचहत्तर करोड पाउन्ड मूल्यबराबरको दस करोड पुस्तक चोरी हुने गर्छ।
पुस्तक चोर्ने प्रचलन धेरै पुरानो हो। एक–दुई वटा पुस्तक चोर्नेदेखि लिएर वर्षको ३५ हजार पुस्तक चोर्ने गिरोहसम्म भेटिएका छन्। अनुमानै गर्न नसकिने व्यक्तिले अनौठा शैलीमा पुस्तक चोर्ने गर्छन्। ब्रिटेनको रेडलायन बुक्सका पिटर डोनल्डसन आफ्नो स्टोरबाट एकसय पाउन्ड मूल्यको खुब मोटो …द टाइम्स कम्पि्रहेन्सिव एट्लस अफ द वर्ल्ड' चोरी भएको सम्झँदै भन्छन्, …त्यत्रो बडेमानको ठेली लुकाएर लान मिल्ने कस्तो कोट लगाएर आएको होला त्यो चोरले! अचम्म लाग्छ।'
एक पत्रिकाका अनुसार ब्रिटेनको हर्फोडसायर भन्ने ठाउँमा गिर्जाघर परिसरबाट धार्मिक पुस्तक बेच्ने बुकस्टोर नै अन्त सार्नुपर्यो, किनभने त्यहाँका पुजारीले पुस्तक चोर्ने मात्रा बुकस्टोरले धान्न सक्ने क्षमताभन्दा पनि बढी भयो।
त्यसो त, पढ्न चाहने पाठक या बेच्न चाहने तस्करले मात्र पुस्तक चोर्ने होइनन्। अमेरिकाको कोलोराडोस्थित एउटा बुकस्टोरबाट एक लेखकले आफ्नै पुस्तक पनि जिप्ट्याएछन्। उक्त बुक स्टोरका व्यवस्थापक क्रिस्टोफर ओमान भन्छन्, …सायद ती लेखकलाई त्यो पुस्तकमाथि आफ्नै हक छ भन्ने लागेछ क्यार! एक हिसाबले त्यो ठिकै पनि हो।'
धेरैलाई लाग्न सक्छ लेखकसँग चाहेजति प्रति हुन्छन्। तर उनीहरूसँग पनि सीमित मात्रामा आफ्ना पुस्तकका प्रति हुन्छन्। त्यसैले ती लेखकले चोरेका हुनसक्छन्। आफ्ना पुस्तक चोर्ने लेखकलाई त ती बुकस्टोरका व्यवस्थापकले छोडिदिए, तर एकजना यस्ता बदमास लेखक थिए जो चोरीको आरोपमा जेल पनि गए — प्रसिद्ध ब्रिटिस नाटककार जो अर्टन। उनी अरूका पुस्तक चोरेर त्यसलाई भताभुंग पारेर फिर्ता गरिदिन्थे। आफ्नी प्रेमिका केन्नेथ हेलिवेलसँग मिलेर उनले सन् ६० को दसकमा आफ्नै छिमेकको इस्लिङटन पुस्तकालयबाट ७२ वटा पुस्तक चोरेछन्। ती पुस्तकमा अश्लील लाग्नेखालका अरू नै गाता हालेर फिर्ता गरेछन्। जसका कारण ती दुवैले ६–६ महिना जेलसजायँ भोग्नुपर्यो।
पुस्तक चोरेर, पढेर जस्ताको तस्तै फिर्ता गरिदिने पुस्तक चोर पनि नभएका होइनन्। एकपटक एजुकेसनल बुक हाउसमा एउटा कुनापट्टी बडेमानको कालो झोला भेटिएछ। कहाँबाट आयो, कसले छोड्यो भनेर एकछिन हल्लाखल्ला भएछ। झोला खोलेर हेर्दा त्यसभित्र पुस्तकै पुस्तक भेटिएछ। सँगै एउटा नोट पनि भेटिएछ, जसमा लेखिएको थियो : …साउजी, मैले तपाईंको पसलबाट पुस्तक चोरेर पढेँ, ज्ञान आर्जन गरेँ। आज सबै तपाईंकोमा नै छोडेर जाँदैछु। धन्यवाद!'
