शनिवार, 02 जनवरी 2010 15:56

चौरासी व्यञ्जनको थाली

Written by Richa Bhattarai
Rate this item
(1 vote)

वर्जित प्रेमजस्तो जटिल विषयलाई पनि हाँसेरै सजिलो गरी भनिदिनुमा छ लेखिकाको चातुर्य। एउटा मोड यस्तो आउँछ उपन्यासमा, जब टिटाले रोज्नुपर्छ आफ्नो पहिलो प्रेम पेड्रो वा आफूलाई औधी माया गर्ने डाक्टर

 
उपन्यास:  लाइक वाटर फर चकलेट
लेखिका:  लउरा एसक्विरेल
अनुवादक:  क्यारोल क्रिस्टेनसन र टोमस क्रिस्टेनसन
प्रकाशक:  र्‍यान्डम हाउस
पृष्ठ:  २४६
मूल्य:  १३.९९ डलर
 

richa bhattarai
Richa Bhattarai
मेक्सिकन लेखिका लउरा एसक्विरेलको उपन्यास ‘लाइक वाटर फर चकलेट' को बीचतिर  उपन्यासकी पात्र टिटा भन्छिन्, ‘कुराकानी जब खानाजस्तो महत्वपूर्ण विषयतर्फ मोडिन्छ, मुर्ख र बिरामीहरूले मात्रै यसले मागेजति ध्यान दिँदैनन्।' हुन पनि हो, खानाबारे कुरा गर्न र सुन्न नरुचाउने हामीमध्ये कमै होलाऊँ। खानाको कुरा आउनासाथ हाम्रो मुख रसाउन थाल्छ। त्यस्तै बालकथामा पढ्न पाइने आइसक्रिमको भण्डार र बिस्कुटका रुखको वर्णन होस् वा कुनै यथार्थपरक कथामा पात्रले खाइरहेका सेलरोटी–अचारको वर्णन, खानाको प्रसंग आउनेबित्तिकै स्वाद बढ्छ पढ्नमा। स्वाभाविकै हो, जुन उपन्यासको शीर्षकको अर्थ नै ‘चकलेटको लागि (तयार) पानीजस्तै' भन्ने हुन्छ, त्यो पढ्दाखेरि मुख नरसाउने त कुरै भएन।

उपन्यास ‘प्याजलाई ध्यान दिएर मसिनोसँग काट' भन्ने वाक्यांशबाट सुरु हुन्छ। यो निर्देशनलाई जोडिन्छ प्याजकै कारण समयभन्दा अघि जन्मिएकी हजुरआमा फुपू टिटाको अपत्यारिलो र रोमाञ्चक कथासँग, अनि त्यही क्रममा पाठकलाई सिकाइन्छ ‘क्रिसमस रोल्स' पकाउन।

खानाको प्रसंगको अत्यधिक प्रयोग भएको यो उपन्यासले परिकारविधि र कथानकलाई सँगसँगै अघि लगेको छ। यो उपन्यास बाह्र महिनामा बाँडिएको छ र कथा अगाडि बढाउने क्रममा प्रत्येक महिनामा सरदर दुइटा व्यञ्जन बनाउन सिकाइन्छ पाठकलाई। त्यसैले यो उपन्यास पृथक छ। यसलाई कुनै एउटा विधामा सीमित गर्न पनि अप्ठेरो पर्छ। त्रिकोणात्मक प्रेमको प्रचलित शैलीलाई पछ्याएको देख्दा लाग्छ, यो विशुद्ध प्रेमकथा हो। फेरि, अनेक मेक्सिकन परिकार तयार पार्ने प्रक्रिया खोतल्ने यो पाककलासम्बन्धी पुस्तक पो हो किझैं लाग्छ। कतिखेर यो मेक्सिकन संस्कृतिको दस्तावेज जस्तो लाग्छ, त कतिखेर घरेलु उपचारविधिको हातेकिताब। कहीँकहीँ वयस्कसुहाउँदो दन्त्य कथा र मिथक जस्तो।

review-chaurasi
कथा सुरु हुन्छ जनवरीमा, जब हजुरआमा फुपू टिटा आफ्नी आमाको गर्भमै रहँदा प्याज सुँघेर यति आँसु बगाउँदै जन्मिन्छे कि त्यसबाट जम्मा भएको नुनले उसको परिवारलाई कैयौं दिन खाना पकाउन पुग्छ। यस्तै एकपछि अर्का अद्भुत प्रसंगलाई समेट्दै अघि बढ्छ उपन्यास, र बिस्तारै पाठकलाई पात्रले ताराको माध्यमबाट एकअर्कालाई सन्देश पठाउनेजस्ता जादुमयी घटना सामान्य लाग्न थाल्छन्। त्यत्तिकै सामान्य लाग्न थाल्छे कथाकी नायिका, जो हो मायालु तर विद्रोही अनि क्रान्तिकारी टिटा। परिवारकी कान्छी छोरी भएकीले आजीवन बिहे नगरी आमाको हेरचाह गरी बस्नुपर्ने बाध्यता छ उसको। ऊसँग बिहे गर्न नपाएपछि उसलाई पहिलो भेटमै मन पराएको उसको प्रेमी पेड्रोले जुक्ति निकाल्छ, उसको जेठी दिदीसँग बिहे गरेर भएपनि टिटासँग नजिकिने। तर यसबारे चाल पाइसकेकी निर्दयी आमाले टिटालाई चेतावनी दिन्छे उसलाई भिनाजुकै रूपमा हेर्न। र, यस्तै असहजताबीच हुर्कन्छ उसको प्रेमकथा र सबैलाई चकित पार्ने गरी अन्त्य हुन्छ। कथामा बेलाबेला देखा पर्ने टिटाकी माइली दिदी, उनीहरूकी भान्से र टिटालाई मनपराउने भद्र डाक्टरको जीवनीले पनि सितनको काम गर्छन्।

यी पात्रहरूको जीवनको कथाभन्दा पनि रमाइलो छ कथानकमै गाँसिएर आएका परिकार बनाउने विधि। पाठकलाई सिकाइन्छ बिहेको केक बनाउन, नोयो रक्सी पार्न, बट्टामा जाम राख्न, ससेज तयार पार्न, सुप उमाल्न। बट्टाईलाई गुलाबका पत्रमा मोलेर बनाइने अनौठो परिकार, अनि चोरिजो, मोल, स्यामप्यानडोङ्गो र चिलेजस्ता नामै नसुनेका खानाको पनि विस्तृत विवरण पाइन्छ उपन्यासमा। यी सबै परिकार आफैले देखेझैं, सुघेँझंै र चाखेँझैं लाग्न थाल्छ पाठकलाई, यस्ता वाक्य पढेपछि, ‘आफ्नो अगाडि रहेको कपको चकलेटको हरेक घुट्को पिएपछि गर्टर्‍युडिसले आँखा चिम्लन्थी। आफ्नो माइतीघरको बास्ना र स्वाद जतासुकै लान पाए जिन्दगी कति सुखद हुँदो हो।' अनि पाठकलाई भान्सामा गएर पकाइहाल्न पनि मन लाग्छ यी परिकार, जब अह्राइन्छ कथामा छ वटा अन्डाहरू फुटाऊ र सेतो भाग छुट्याऊ। एक कप क्रिमसँग अन्डाको पहेँलो भागलाई फिट...।'

यस्ता व्यञ्जनका व्याख्यासँगै नजानिँदो पाराले अरू ज्ञान पनि पाइन्छ उपन्यासबाट :  अन्डा कसरी ताजा राख्ने, कुखुरा कसरी भुत्ल्याउने, कालिजलाई मोटो पार्न के खुवाउने, घरैमा दन्तमन्जन कसरी बनाउने, रोगलाई सन्तुलनमा राख्न जुकालाई कसरी टोकाउने। लेखिकाले यो सबै घरेलु उपाय बाठो गरी हुलेकी छन् कथानकमा। कथानक न त अडि्कन्छ न त असहज नै लाग्छ। नौला मेक्सिकन नाम, मात्तृसत्तात्मक समाज, रहनसहन, संस्कृति अनि विश्वासबारे जान्दै गर्दा यो पनि मेक्सिकन लेखनशैलीको एउटा पाटो जस्तो लाग्न थाल्छ।

यही पुस्तकमा आधारित चलचित्रले एरियल र एबी जस्ता लोकप्रिय पुरस्कार पाएको छ, यसको पछाडि एउटा साधारण लाग्ने तर मननयोग्य कारण छ :  लेखिकाले आफ्नो कल्पनाशीलतालाई कहीँकतै बन्देज लगाएकी छैनन्। साना केटाकेटीले ख्यालख्यालमै भन्दै जाने वा हजुरबुवाले नातिनातिनालाई भेला पारेर बढाइँचढाइँ गर्दै सुनाउने किंवदन्ती जत्तिकै सरल र अबोध छ यो कथा। वर्जित प्रेमजस्तो जटिल विषयलाई पनि हाँसेरै सजिलो गरी भनिदिनुमा छ लेखिकाको चातुर्य। एउटा मोड यस्तो आउँछ उपन्यासमा, जब टिटाले रोज्नुपर्छ आफ्नो पहिलो प्रेम पेड्रो वा आफूलाई औधी माया गर्ने डाक्टरलाई। यस्तो गम्भीर परिस्थितिमा पनि लेखिकाले पाठकलाई सुनाउँछिन् आँगनमा भइरहेको कुखुरा–लडाइँबारे, र पाठक बाध्य हुन्छन् यो बकमफुसे झगडाबारे पढेर मुस्कुराउन।

प्रायः यस्तै स्वैरकाल्पनिक छन् उनका उपन्यासका घटनाहरू :  आफ्नो पेड्रोलाई भिनाजु मान्नुपर्ने दुखमा टिटाले रुँदै पिठो मुछेपछि त्यसमा झरेको उसको आँसुले बिखकै काम गर्छ, अनि त्यसबाट बनेको परिकार खाएपछि त बेहुलीसहित सबै आगन्तुक बिरामी पर्छन्। अर्कोचोटि खाना बनाउँदै गर्दा गुलाफको काँडाले टिटालाई घोचेर उसको रगत पनि त्यसमा मिसिन पुग्छ। र त्यो सस खाँदा त झन् उसकी दिदीको जिउ तातेर घरको खाँबा चर्केर आगो नै लाग्छ। बहिनी र श्रीमानको सम्बन्धबारे थाहा पाएपछि रोजाउरा एक हप्तामै पैंसट्ठी पाउन्ड घट्छे, र बीचबीचमा टिटाकी आमाको भुत पनि तर्साउन आइरहन्छ उसलाई। कति ठाउँमा त कथा यति संयोगात्मक र अविश्वसनीय हुन पुग्छ कि पाठकले हाँस्नुपर्ने हो कि रुनु, मेसो नै पाउँदैन।

तर कथा पढिसकेपछि यतिचाहिँ थाहा हुन्छ — खानाका परिकार पनि बन्न सक्दारहेछन् उपन्यासको अभिन्न पात्र, परिवेश र पात्रहरूले एक–अर्कासँग कुरा गर्ने एउटा माध्यम पनि। खानाका परिकार पकाएर, खुवाएर र खाएर नै टिटा र पेड्रो एकअर्कासँग भावना साटासाट गर्छन्, रिस पोख्छन्, इर्ष्या देखाउँछन् र उनीहरूको अचम्मको प्रेमकथाको निष्कर्ष जान्नलाई भए पनि पाठक बाँधिन्छन् उपन्यासभित्र। अन्त्यमा उपन्यासले मिठो स्वाद छोडेर जान्छ पाठकको मनमा, त्यसभित्र सम्मिलित यो कविताजस्तै :

घामले एक थोपा शीतलाई उज्यालो पार्छ

त्यो शीतको थोपा सुकिजान्छ चाँडै

तिमी उज्यालो हौ मेरो आँखाको, मेरो आँखाको

म जिउँदो हुन्छु कारणले तिम्रै...
Last modified on मंगलवार, 30 नोभेम्बर 1999 05:45

कमेन्ट गर्नुस्


NagarikNews.com

अक्षर