शनिवार, 02 जनवरी 2010 15:44

अनौठो कथावस्तु

Written by सुरेश प्राञ्जली
Rate this item
(0 votes)
चलिआएको पारम्परिक विषयवस्तु — प्रेम–बिछोड, गृहस्थी, जोइपोइको झगडा आदि — लाई छोडेर अनौठा विषयवस्तु र मन्द प्रयोजन्य गन्ध आउने कथाहरू लिएर नेपाली साहित्यमा देखा परेकी छन् युवा लेखक सीमा आभास आफ्नो कथासंग्रह ‘टापुका स्वरहरू' मार्फत।
 
टापुका स्वरहरू
लेखिका :  सीमा आभास
प्रकाशक :  पैरवी बुक हाउस, २०६६
मूल्य :  रू. ११०/–
पृष्ठ :  ११२
 
सुरेश
सुरेश
उनको कथा ‘डायरी'मा मसानघाटमा बस्ने एउटा अघोरी अल्पायुमै मरेका तरुनी युवतीहरूको चिहान उधिन्छ र ती लासहरूसँग सम्भोग गर्छ। उसले आफूलाई जन्म दिने आमा र अन्य मृत या जीवित स्त्रीसँग सम्भोग गर्नुमा कुनै फरक देख्दैन। अघोरी भन्छ, ‘मान्छे कन्टेनर हो। मैले चिहानको साधना गर्ने क्रममा स्त्री लाससँग सम्भोग गरेको छु। मैले स्त्री लाससँग सम्भोग गर्ने क्रममा एउटा मात्र फरक पाएको छु। त्यो के भने जीवित स्त्रीमा तातोपन आउँछ। तातोले आनन्दको राप थपिदिन्छ तर मृत स्त्रीमा त्यो तातोपन हुँदैन।' यो स्वैरकाल्पनिकजस्तो लाग्ने कथा पढ्दा एक किसिमको झड्का महसुस हुन्छ, पाठकमा। अनि के यस्तो पनि हुनसक्छ र भन्ने प्रश्न ओइरिन्छ मस्तिष्कमा।

सीमाले भूमिकामार्फत कथाका विषयहरू सबै सत्य भएको दाबी गरेकी छन्। यदि उक्त दाबी सत्य हो भने यो कथाले मानव सभ्यातामाथि ठूलो प्रश्नचिह्न घडा गर्छ।

 

review-taapuka
‘दुई किनारका फूल' शीर्षकको कथा, कथाबुनाइको भन्दा पनि विषयवस्तुको दृष्टिले केही फरक लाग्छ। यस कथामा एउटा बाबुले लाटी, राम्रोसँग कान नसुन्ने र आँखा नदेख्ने आफ्नी छोरीलाई करणी गर्छ। बावुको पाप ‘लाटी' छोरीको पेटमा हुर्किन्छ र ‘लाटी' आमा पनि बन्छे। यस्तो पाप चोख्याउन भनेर उसको बाबुले बीस हजार रुपैयाँ खर्चेर दोस्रो व्यक्तिलाई आफ्नो अपराधको भारी बोकाउँछ र चोखिन्छ। त्यस्तै ‘म' पात्र पनि छोरीकी आमा बन्छे तर मातृवात्सल्य पोख्न पाउँदिन। सुत्केरी भएर बेहोस भएकै अवस्थामा उसकी छोरीलाई अनाथालयको जिम्मा लगाइन्छ, पछि हकदाबी गर्न नपाउने गरी।

‘भगनावशेष' शीर्षकको अर्को कथामा ‘२०४५ साल भदौ ५ गते गएको भूकम्प'लार्ई विषयवस्तु मानेर कथानकलाई जति घतलाग्दो पाराले बुनेकी छन् सीमाले, त्योभन्दा बढी घतलाग्दो र जीवन्त पाराले पात्र र परिवेशको संयोजन पनि गरेकी छन्।

त्यस्तै ‘प्रेमनगर–१', जुन आधुनिक युगका प्रेमजोडीहरूका कथा हो, मा उनले इन्टरनेटको दुनियाँभित्र मौलाउँदै गरेको प्रेमलाई सटिक पाराले लेखेकी छन्।

तर यति नविन कथावस्तुहरू छान्न भ्याएकी सीमाले आफ्नो भाषामा त्यति ध्यान पुर्‍याएकी छैनन्। उदाहरणका लागि संग्रहको पहिलो कथा ‘निबन्ध'को एउटा वाक्य हेरौं — ‘सिंगापुरलाई ल्याएर घरअगाडिको फूलबारीमा रोपेको छ।' विम्ब र प्रतीकको प्रयोग भएका यस्ता वाक्यको गठनलेे कथालाई पनि अमूर्त कविताजस्तो बनाइदिएको छ।

सीमाको अर्को मुख्य कमजोरी — एउटा कुरालाई एकै पटकमा भन्न नसक्नु अथवा एउटा कुरा भन्नका निम्ति धेरै शब्द/वाक्य खर्चनु र एउटै प्रसंगलाई दोहर्‍याइरहनु। उनको वाक्य गठनमा सरलताभन्दा पनि पर्याप्त कवितात्मक जटिलता भएको महसुस हुन्छ। त्यसैले पनि होला अधिक घुमाउरो लाग्छ, उनको भाषा। जस्तै :

‘केही क्षणपछि होर्डिङ बोर्ड लाज मान्दै मेरो अगाडि उभियो। पर्दा लगाएँ।'

‘बज्जुकी आमा छोराको हात सुम्सुम्याउँदै आँखाबाट आँसु बनेर झरिरहिन्।'

प्रस्तुत दुई वाक्यअन्तर्गत पहिलो वाक्यमा होर्डिङ बोर्डले लाज मान्नु भनेको के हो? अनि एउटा प्राणहिन वस्तु (होर्डिङ बोर्ड) ‘म' पात्रको अगाडि आएर उभिनुलाई पाठकले कसरी बुझ्ने? त्यसैगरी दोस्रो वाक्यमा बज्जुकी आमा स्वयंलाई आँसुमा रुपान्तरण गरेर आँखाबाट झारिरहनुपर्ने आवश्यकता देखिँदैन। सिधै, ‘बज्जुकी आमा छोराको हात सुमसुम्याउँदै रोइन्' वा यही कुरालाई छोटो तर कलात्मक रूपमा भनिदिँदा हुने ठाउँमा त्यत्रो लम्बेतान घुमारो वाक्यमा भनेकी छन्। त्यसैले होला उनका कतिपय कथा पढ्दा खोलामा कताकति हालेको ढुंगाको फड्के फडि्कनुजत्तिकै कठिन लाग्छ, पाठकलाई।

त्यस्तै उनको अर्को फितलो पक्ष भनेको खुकुलो संरचना पनि हो। कतै बहकिएर धेरै कुरा एउटै अनुच्छेदमा थुपारेजस्तो लाग्छ भने कतै प्रसंग र सिलसिलालाई एकातिर मिल्काएर फगत कथानक मात्रै एकोहोरो अगाडि बढिरहेझैं लाग्छ। उनका कतिपय कथा त जेलिएको गुन्द्रीको तानजस्तो पनि लाग्छ।

त्यसैगरी पात्रगत संवादमा पनि लेखिकाले उति ध्यान पुर्‍याएजस्तो लाग्दैन। उदाहरणका रूपमा ‘हिउँफूल' शीर्षकको कथालाई हेर्न सकिन्छ। यस कथामा एउटा अति सामान्य पात्र कालुदाइ असामान्य ढंगले बोल्छन् (जस्तै :  ‘कस्तो ढुंगोजस्तै साह्रो समय!'  र, संवादबाट सुरु हुने कथामा कुन संवाद कुन पात्रले गरेको हो भन्ने मेसो कथा सुरु भएको धेरै पछिमात्र पाठकले पाउँछ।) यही कमजोरीका कारण उनका कतिपय कथा पढ्दा घना जंगलबीच बाटो बिराएर हराएको बटुवा बन्न पुग्छ, पाठक।

यस्ता कमजोरीलाई एकैछिन बिर्सिदिने हो भने सीमाको कथा पुस्तक ‘टापुका स्वरहरू' अनौठा कथावस्तु मन पराउने पाठकका निम्ति रुचिकर हुन सक्छ।

 

Last modified on शनिवार, 02 जनवरी 2010 15:51

1 कमेन्ट

  • Comment Link k lama बुधवार, 03 मार्च 2010 18:34 posted by k lama

    Sima's stories sound nice. And Mr. pranjali's way of going deep in the structure, plot, style... of stories show his honest reading is. Congratulation!!! for both. Lama

    यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ

कमेन्ट गर्नुस्


NagarikNews.com

अक्षर