शनिवार, 02 जनवरी 2010 15:40

जीवनभोगाइ नै प्रेरणास्रोत

Written by नागरिक
Rate this item
(0 votes)

थिम बनेपछि रचनाको सामान्य मानसिक खाका बनाउँछु र लेख्न थाल्छु

म किन लेख्छु

 सानो छँदा सबैभन्दा मनपर्ने पुस्तक कुन थियो?
म सिन्धुली जिल्लाको सुदूर गाउँमा जन्मेहुर्केको मान्छे। पठनसंस्कृति त्यहाँ थिएन। माथ्लाघरे ठूलाबाको घरमा ‘गुणरत्नमाला'  भन्ने पुस्तक थियो। बेलाबेलामा गएर पढ्थेँ। मन पर्थ्यो।

हुर्कंदै गर्दा घरमा कस्ता पुस्तक थिए?
एउटा पुस्तक थियो — स्वस्थानी व्रतकथाको। दाजुका माथिल्ला कक्षाका किताबहरूमा रहेका कथा पढ्थेँ।

पठन र लेखनमा रुचि बढाउने कोही थिए?
हजुरआमा हुनुहुन्थ्यो। मेरा ठूलाबालाई केराको घरी दिन्छु भनेर पढ्न लगाउनुहुन्थ्यो रे। मलाई पनि त्यसै भन्नुहुन्थ्यो।

भर्खर लेख्न सुरु गर्दा केले प्रेरणा दियो?
एउटा त ‘गुणरत्नमाला' नै हो। अर्को एकपटक ओखलढुंगा गएका बखत युधीर थापाको ‘झरनाको मिठो पानी' भन्ने उपन्यास र श्यामप्रसादको हुनुपर्छ ‘लेखक कस्तो बन्नुपर्छ'  भन्ने किताब पढेको थिएँ। सवाइ ढाँचाका केही गाथा कविताहरू पनि पढ्न पाएँ। यिनकै प्रभाव मेरो प्रारम्भिक लेखनमा परेको हुनुपर्छ।

अहिलेचाहिँ केले लेख्न प्रेरित गर्छ?
अहिले जीवनका भोगाइ नै लेखनका प्रेरणास्रोत हुन्। समाजको जटिलता, समयको विकरालता र देशका बेथितिहरू देख्दा पीडाबोध हुन्छ र लेख्ने गर्छु।

लेख्नुअगाडि कस्तो तयारी गर्नुहुन्छ?
खासै केही तयारी गर्दिनँ। एउटा कुनै विचारले मस्तिष्कमा प्रभाव पारेपछि लेख्ने गर्छु। थिम बनेपछि रचनाको सामान्य मानसिक खाका बनाउँछु र लेख्न थाल्छु। विस्तृत योजनाबद्ध लेखन हुँदैन मेरो।

लेख्ने दैनिक तालिका छ?
छैन, कहिलेकाहीँ नलेखीकनै महिनौं बित्छन्। कहिलेकाहीँ दिनैपिच्छे पनि लेखिन्छ।

तपाईंको कवितासंग्रह ‘मनहरूको परिसर' मा के छ?
यो त मैलेभन्दा पनि अरूले भनिदिए हुने कुरा जस्तो लाग्छ। तथापि यो मेरो पहिलो कवितासंग्रह हो। यसमा मैले वि.स. २०५५ देखि २०६५ सम्ममा लेखेका र आफूलाई मन परेका केही कविता राखेको छु। पढ्नेहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ। आफ्नै भोगाइ र अनुभूतिको दस्तावेजका रूपमा मैले आफ्नो संग्रहलाई लिएको छु।

नयाँ लेखकलाई के सुझाव दिनुहुन्छ?
म आफै नयाँ छु। तर पनि पुराना नयाँ सबैलाई आदरपूर्वक पढ्नुपर्छ। जति धेरै पढिन्छ त्यति राम्रो लेख्न सकिन्छ भन्ने मेरो धारणा छ।

Last modified on शनिवार, 02 जनवरी 2010 15:44
नागरिक

नागरिक

E-mail: यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ

कमेन्ट गर्नुस्


NagarikNews.com

अक्षर