‘हुन्छ, बस्नुस् न,' सामुन्नेको कुर्ची देखाउँदै उसले भन्यो। अनि युवतीतिर सर्सर्ती दृष्टि फालेर स्कुल, कलेजको कोही साथी वा कुनै पुरानो परिचित पो हुन् कि भनी सम्भि्कन खोज्यो। तर उसको सम्झनाको क्यानभासमा युवतीकोे त्यो अनुहार उसले भेटेन। खाँदाखाँदै उसले दोहोर्याएर युवतीको अनुहारमा हेर्यो। कहीँ कुनै पनि कुनाबाट उसलाई त्यो युवती परिचित लागेन।
‘सरी, मैले त तपाईंलाई राम्रो चिनिनँ?' उसले सोध्यो।
काँधसम्म आउने आफ्नो कपाललाई पछाडि झट्कार्दै उसले कुर्सी तानी र बोकिरहेको ब्याग टेबुलमा राखेर भनी, ‘म त चिन्छु नि!'
ऊ तीनछक खायो।
उसले ममः अर्डर गरेको थियो। फोर्कले ममको डल्लो घोच्दै उसले युवतीलाई केही खाने कि भनेर सोध्यो। युवतीले वेटरलाई एक कप चिया ल्याउन अर्डर गरी। उसले ममः खाइसकेर उसले खल्टीबाट चुरोट झिक्दै भन्यो, ‘के म एउटा चुरोट ...?'
युवतीले भनी, ‘स्योर।'
उसले चुरोट सल्कायो र कुर्सी अलि टेबलनजिक तान्दै चुरोटको सर्को तान्न थाल्यो। उसलाई उत्सुक देखेर युवतीले एकपल्ट चारैतिर हेरी। रेस्टुराँमा मानिसहरू सबै आफ्नै धुनमा गफ गर्दै खानमा व्यस्त थिए।
‘धेरै दिनदेखि तपाईंलाई सधंै यति बेला खाजा खान आएको देखिरहेकी छु। आज त्यत्तिकै तपाईंसँग कुरा गर्न मन लाग्यो। आइ होप यो वन्ट माइन्ड माइ टकिङ टु यु?' युवतीले भनी।
‘अफकोर्स नट,' उसले आफ्नो फ्रेन्च कट दाह्री मुसार्यो।
‘इन्टरेस्टिङ! मलाई चिन्छु भन्नुहुन्छ, कत्तिको चिन्नुहुन्छ त?'
युवतीले औंलाले नाक रगडी र भनी, ‘खासै त्यस्तो पनि हैन, तपाईंलाई सधैं देखेर चिनेको भनेकी मात्र हुँ। तपाईंसँग चिनापर्ची गर्न चैं मन लागेको छ। गल्ती गरेँ र?'
उसलाई हाँसो उठ्यो। ऊ हाँसेको देखेर युवती पनि सँगसँगै मुस्काई। उसको गालामा डिम्पल बन्यो।
‘तपाईं निकै ह्यान्डसम हुनुहुन्छ। पर्सनालिटी पनि सार्प छ। त्यसैले तपार्इंसँग साथी बन्न मन लाग्यो,' युवतीले भनी, ‘बाइ द वे, आई एम रीमा।'
‘आई एम राज,' उसले आफ्ना हात बढाउँदै भन्यो।
राजले पहिलोपल्ट रीमालाई नियालेर हेर्यो। ऊ हल्का मेकअप, कुर्ता र जिन्समा थिई र कुनै कुलीन घरानाकीजस्ती देखिन्थी।
मित्रताको अप्रत्याशित अफर आएको देखेर राज रोमान्चित भयो र रीमालाई कहाँ बस्नुहुन्छ, के गनुहुन्छ आदि सोध्यो। रीमाले आफू सानेपा बस्ने, कुमारी बैंकमा काम गर्ने र त्यही रेस्टुराँमा आउने कुरा गरी। त्यसपछि ऊ अलि अनकनाई र आफ्नो कपाल देब्रे हातले मिलाउँदै भनी, ‘धेरै दिनअगाडिदेखि तपाईंसँग बोल्न मन लागिरहेको थियो, सकिरहेकी थिइनँ।'
राज मुसुक्क हाँस्यो। रीमाले अलि लाज लागेजस्तो गरी।
त्यतिकैमा रीमाको ब्यागमा मोबाइल बच्यो। मोबाइल झिकेर अलिकति ढल्कँदै मुखलाई हत्केलाले छोपेर साउतीमा कुरा गरी। कुरा सकिएपछि उसले भनी, ‘सरी! साथी थिई। व्यस्तताले गर्दा उसको घरमा जान पाइरहेकी थिइनँ, त्यसैले रिसाउँदै थिई।'
वेटर उनीहरूको टेबुलवरिपरि नै घुमिरहेको थियो। राजले रीमालाई अर्को कप चिया खाने कि भनेर सोध्यो। रीमाले हुन्छ भनी।
एकैछिनमा चिया आइपुग्यो र चिया खाँदै राजले आफ्नोबारे बताउन थाल्यो।
कुरा गर्दागर्दै उसको मोबाइलमा मिसकल आयो। अफिसको नम्बर देखेर उसले कुरा छोट्यायो, ‘रीमाजी, तपाईंसँग चिनजान भयो खुसी लाग्यो। अफिसबाट फोन आइसक्यो म अहिले लाग्छु।'
रीमा पनि उठी र भनी, ‘सरी, इफ आइ डिस्टर्ब्ड यु।'
राजले भन्यो, ‘नो प्रब्लम।'
दुवै रेस्टुराँबाहिर आएपछि रीमाले सोधी, ‘के म तपाईंलाई कुनै पनि बेला फोन गर्न सक्छु?'
राजले भन्यो, ‘एस, कुनै पनि बेला।'
‘राति पनि?'
यो अनपेक्षित प्रश्नले एकैछिन राज छक्क पर्यो। उसको चकित अनुहार देखेर रीमा जोडले हाँसी। हाँसोको आवाजले बाहिर हिँड्दै गरेका केही मानिसले फर्केर दुवैलाई हेरे।
त्यसपछि दुवै छुट्टिए।
मोड पार गर्नुअघि पछाडि फर्केर राजले रीमालाई हेरेको थियो। रीमा उभिएर ऊ गएको दिशातिर नै हेरिरहेकी थिई। अलि टाढा पुग्न नपाउँदै राजको मोबाइल बज्यो। उसले हेलो भन्यो।
‘यो मेरो नम्बर हो भन्न फोन गरेकी,' रीमाले भनी।
राजले मुस्कुराउँदै फोन काट्यो।
राज अफिस पुग्दा साबिकभन्दा दुई घण्टा ढिला भइसकको थियो। यस्तो ढिलो उसले कहिल्यै गरेको थिएन। उसलाई देखेर छेउमै बस्ने उसकी सहकर्मी शर्मिलाले उसलाई हल्का हाँस्दै हेरिरही। सधैं ठुस्स परेको अनुहार लिएर बस्ने शर्मिला किन हाँसी भनेर राजले एकछिन गम खायो र आफ्नो काममा व्यस्त हुनथाल्यो।
साँझ अफिसबाट निक्लँदा–निक्लँदै राजलाई शर्मिलाले भनी, ‘दिउँसो मिठो लन्च लिँदै गर्नुभएको देख्याथेँ।' राजले नसुनेझैं गर्यो र मोबाइल हेर्यो, रीमाको दुई कल आइसकेको थियो। लगत्तै कलब्याक गर्यो तर मोबाइल उठेन।
राति चिसोलाई सराप्दै राज सुत्ने तर्खर गर्दै थियो, उसको मोबाइल बज्यो। तर मोबाइल उसले ज्याकेटको खल्तीबाट निकाल्न बिर्सेको थियो। जाडोले गर्दा मोबाइल लिन जाने जाँगर नै थिएन। फेरि अर्को कल आयो। उठेर बेतको ह्याङ्गरमा झुन्ड्याएको ज्याकेटको खल्तीबाट मोबाइल निकाएर हेर्यो। रीमाको फोन रहेछ। ऊ छक्क पर्यो। र, रीमासँग यति राति फोन गर्नुको कारण सोध्यो।
‘मैले राति पनि कल गर्न सक्छु भनेकी हैन?' रीमाले मसिनो स्वरमा हाँस्दै भनी।
‘त्यो त ठिकै छ। तैपनि!'
‘निद्रा लागेन, त्यही भएर तपाईंलाई पनि डिस्टर्ब गरेकी। यति चाँडै निदाइसक्नुभयो र?'
रातको एघार बजेको थियो। राजले ठूलो हाई काढ्यो।
‘तपाईंलाई निद्रा लागिसकेको जस्तो छ, भोलि कुरा गरौंला। गुडनाइट' भनेर रीमाले
फोन काटी।
राज बेडमा पल्ट्यो। र, आँखा चिम्लेर केही सोचिरह्यो।
भोलिपल्ट अफिसबाट अलि चाँडै निस्क्यो ऊ लन्चका लागि। रेस्टुराँको त्यही ठाउँ, त्यही कुर्सी। उसले अर्डर गरेर लन्च खाइसक्दा पनि रीमा आइन। रीमाको अनुपस्थितिले राजलाई अलि खल्लो बनायो। उसले रीमालाई कल गर्न धेरै प्रयास पनि गर्यो तर सम्पर्क हुन सकेन। तेस्रो दिन रीमाको मेसेज आयो, ‘लन्चको लागि अलि चाँडै निस्कनुस् है?'
राज रेस्टुराँ पुग्दा रीमा चिया खाँदैथिई। रीमाले उठ्दै राजलाई हाई भनी र राजतर्फ आफ्नो दाहिने हात बढाई। राजले पनि हाई भन्यो र आफ्नो दाहिने हात दियो।
रीमाले टेबलको मेन्युमा आफ्नो आखाँ डुलाई र राजलाई के खाने भनेर सोधी। राजले पनि मेन्यु हेर्यो र चिज बर्गर खान्छु भन्यो। रीमाले आफूलाई पनि त्यो मनपर्ने बताई र वेटरलाई दुई चिज बर्गर अर्डर गरी। अनि हिजो अफिस आएर चाँडै निस्केको र दिनभरि बाहिर व्यस्त भएकाले आफूले राजलाई फोन गर्न नसकेकोमा निकै थकथकाई।
बर्गर आइपुगेपछि रीमाले खाँदै आज बैंकमा टेन्सन भएको कुरा बताई। ‘दुईजना ग्राहकबीच झन्डै हात हालाहाल भएको। कुरा एकदम सिम्पल तर कति रिसाएका!' उसले जिब्रो काढ्दै भनी।
रीमाको कुरागराइले उसलाई हाँसो उठ्यो। रीमाले आँखा तरी। बेमौकाको हाँसो उसले बुझ्न सकिन तैपनि प्रश्न नगरी चुपचाप बर्गर सकाई। खाउन्जेल राजले पनि बोलेन, झ्यालबाहिर हेरिरह्यो।
‘समय बाँकी छ हैन?' रीमाले भनी।
‘अँ थोरै। रामायण नै भन्न थाल्नुभयो भने चैं नभ्याइएला,' राजले घडी हेर्दै भन्यो। ‘कुरा के भने ... ' बोल्दा बोल्दै ऊ रोकिई र भनूँ कि नभनूँ भन्नेजसरी ऊ दोधारमा परी।
रेस्टुराँको ढोकैनिर एउटा ट्याक्सी घ्याच्च रोकियो। त्यतातिर हेर्दै उसले सुस्तरी भनी, ‘खैर छाडिदेऊ।' अब ऊ तपार्इंबाट तिमीमा झरिसकेकी थिई।
ट्याक्सीबाट ओर्लेर टिनएज केटाकेटीको जोडी रेस्टुराँभित्र पस्यो। रीमाले राजका कैला आँखाहरू पछ्याई। ऊ उनीहरूलाई नै हेर्दै थियो। ‘त्यस्तो विशेष केही हैन, फेरि कुनैदिन भनूँला तिमीलाई।' राजले चुरोट निकालेर ओठमा च्याप्यो, सल्कायो र भन्यो, ‘अब निस्कौं पनि।'
रीमासँगको उसको सम्बन्ध त्यसपछि बाक्लिँदै गयो। प्रायः हरेक दिनको भेटघाट, मोबाइलमा लामा गफ र एसएमएसले उनीहरूलाई अझ नजिक ल्यायो। फुर्सद पायो कि रीमा उसलाई कल गरिहाल्थी — ‘चिया खायौ?' ‘के गर्दै?' ‘कत्तिको बिजी?' ‘किन कल नगरेको?' हरेक दिन आउने रीमाको फोनमा राज अभ्यस्त बनिसकेको थियो। कुनै दिन उसले फोन गर्न ढिलो गरी वा कल गर्न भ्याइन भने राजलाई केही छुटेझैं हुन्थ्यो। कुनै दिन सिनेमा हेर्न वा अफिसपछिका फुर्सदिला साँझहरूमा गफ गर्दै कफी पिउन जब राजले रीमालाई निम्त्याउँथ्यो रीमा दौडँदै आइपुग्थी। ‘तिमीसँग कुरा गरिरहँदा तिम्रो त्यो कैलो आँखाको आकर्षणबाट निस्कन मलाई गाह्रो पर्छ। समय गएको पत्तै हुँदैन। कतै ममाथि सम्मोहन त गरेका छैनौ?' उसले सधैं हाँसेर सोध्थी। उसको त्यो प्रश्नमा कति सत्यता थियो, राजले छुट्याउन सकेको थिएन तर रीमा सुरुका दिनमा भन्दा बढी खुसी र चन्चल उसले महसुस गरेको थियो।
एक शनिबार सरप्राइज दिने विचारले राजले रीमालाई फोन गर्यो र ‘तुरुन्तै किङ्स वे आउनू है, पार्टी दिँदैछु' भन्यो। उसको कुरा सुनेर रीमा अविश्वासपूर्वक खित्का छाडेर हाँसी र भनी, ‘अरू जे भने पनि आफ्नो जन्मदिनको अकेजनमा पार्टी दिँदैछु चैं नभन्नू नि।'
‘हो, त्यस्तै नै सम्झ,' राजले भन्यो।
‘एकैछिन है?' एकछिनसम्म उताबाट रीमाको कुनै केही आवाज आएन। ‘सरी राज, आज आउन सक्दिनँ, अलि बिजी छु बाई।'
अघिसम्म राजभित्र उर्लिएको जोस हराएर गयो र उसको मुड खराब भयो। भोलिपल्ट रीमाले भेट्नेबित्तिकै सोधिहाली, ‘हिजो तिम्रो बर्थडे थियो? अनि कसरी मनायौ?'
एकछिन मौन भएर राजले भन्यो, ‘मेरो हैन तिम्रो बर्थडे थियो रीमा। तिमी आइनौ, एक्लै कसरी मनाउने?'
राजले आफ्नो ज्याकेटबाट गिफ्ट र कार्ड निकाल्यो र रीमालाई दिँदै भन्यो, ‘बिलेटेड ह्यापी बर्थ डे, रीमा।'
रीमा बोल्नै सकिन। भरिएका आँखाले अवाक भएर राजतिर हेरिरही। ‘कुनै ठूलो गिफ्ट त हैन तैपनि ... कि मन परेन?'
‘थ्याङक्यु, राज। द्याट्स सो नाइस अफ यु।'
रीमा साह्रै भावुक भई। त्यो देखेर राज पनि भावुक भयो।
रुन्चे हाँसो हास्दै रीमाले भनी, ‘भरे साँझ किङ्स वेमा तिमीलार्ई टि्रट दिनेछु। अहिले कफी मात्र।'
उसले कफी अर्डर गरी। राज मेनु हेर्दै थियो। साइलेन्ट मोडमा राखिएको टेबलमाथिको रीमाको मोबाइल झिलिक–झिलिक बल्यो। उसले मोबाइल उठाइन। तुरुन्तै अर्काे फोन आयो। र, उसले मन नलागी–नलागी मोबाइल उठाई र भनी, ‘म लन्चमा छु साथीसँग। पछि फोन गर्छु।'
कल गर्नेबारे केही भन्छिन् कि भनेर राजले रीमाको आँखामा हेर्यो तर रीमाले केही कुरा भनिन। कफी खाँदै गर्दा फेरि फोन आयो। रीमाले झुकेर अलि सानो स्वरमा सोधी, ‘किन के भो? आइ एम स्टिल ह्याभिङ लन्च। भनेँ नि, आइ विल कल यु लेटर।'
राज रीमालाई हेर्दै, कफी खाइरहेको थियो। रीमा अन्यमनस्क पाराले हाँस्न खोजी र भनी, ‘साँझ छिट्टै आउनू।'
त्यो दिन बिताउन राजलाई गाह्रो पर्यो। अफिस सकेर किङ्स वे पुग्दा उसले रीमालाई बाहिर कुरिरहेकी देख्यो। पहिलोचोटि सारीमा देखेर रीमालाई उसले प्रशंसाको भावले हेर्यो। उसले धेरै पटक आफ्नो लागि यस्तै युवतीको कामना गरेको थियो।
उनीहङ नाङ्लो बेकरीमा छिरे र कुनाको एउटा टेबलमा बसे।
‘आज तिमी जे इच्छा गर्छौ त्यही खाने,' रीमाले मेनु राजतिर बढाई। राजले रीमाको अनुहारमा हेर्यो। सधैंभन्दा अलि फरक, आत्मियताले भरिएको राजको दृष्टि रीमाले सामना गर्न सकिन र अन्य टेबलमा बसेका मानिसतर्फ आफ्नो आँखा डोर्याई।
राजले मेन्यु हेर्दै भन्यो, ‘सिजलर, पिज्जा र कोक अर्डर गरौं, हुन्न?'
रीमाले आफ्नो मुन्टो हल्लाएर स्वीकृति जनाई।
वेटर दुई ग्लासमा कोक लिएर आयो। कोक खाँदै रीमाले भनी, ‘तिमीले अहिलेसम्म किन बिहे नगरेको राज?'
‘तिमीजस्ती खोजिदेऊ, भोलि नै बिहे गर्छु।' राजको आँखामा अथाह सागर थियो।
‘मैले खोजेकी केटी तिमीलाई मनपर्ला त?'
राज बोलेन। बोल्नुभन्दा उसलाई रीमालाई नियालेर हेर्न मन लागिरहेका थियो।
सिजलर र पिज्जा आयो। खानुभन्दा बढी दुवैले अनुभूति गरे एकअर्कालाई। एकअर्कामा केही खोजे तर त्यसलाई दुवैले शब्दमा व्यक्त गरेनन्।
रीमालाई मोबाइलमा तीन, चार कल आइसकेको थियो। ऊ हरेकपल्ट जवाफ दिन्थी, ‘आउनै लागेँ।'
रीमालाई उसको घर जाने मोडनिर पुर्याएर घर फर्केपछि राज व्यग्र भइरह्यो। ऊ सुत्न खोज्यो तर निदाउन सकेन। उसका आँखामा रीमाको अनुहार छाइरह्यो। रात छिप्पिसकेको थियो। अनायसै उसले रीमाको मोबाइलमा डायल गर्यो।
‘अझै निदाएका छैनौ? म त सुतिसकेँ। भोलि भेटौंला, गुडनाइट,' उताबाट रीमाले साउतीमा बोली। उसको आवाज निद्राले बोझिल सुनिन्थ्यो।
राजको अर्को दिन रीमासँग भेट भएन। त्यसपछिको अर्को दिन पनि र अर्को दिन पनि। लन्च टाइममा राज एक्लै हुन्थ्यो। रेस्टुराँबाट निस्कुउन्जेल रीमा आइपुग्छे कि भनेर उसका आँखा पर्खिरहन्थे। मोबाइलमा आउने अनगिन्ती मेसेजमा रीमाका कुनै मेसेज हुँदैनथे। फोन गर्दा रीमाको लाइन प्रायः बिजी नै भेटिन्थ्यो। कहिले उठिहाले ‘सरी, राज, साह्रै स्ट्रेसमा छु' भनेर लाइन काट्थी। राजले बुझ्न सकिरहेको थिएन, रीमालाई एक्कासी के भएको छ।
राजले सँगै लन्च खान गरेको धेरै पटकको अनुरोधलाई रीमाले माफी माग्दै पर सारिरहेकी थिई। तर एकदिन उसैले राजलाई फोन गरी, ‘लन्चमा कतिबजे आउँछौ, राज?'
राज साह्रै खुसी भयो। लन्चपछि आउँदिनँ भनेर अफिसमा भन्यो पनि। तर रेस्टुराँमा उसले रीमा भेेटेन, केवल रीमाले छाडेर गएको पत्र भेट्यो :
राज,
मैले तिमीलाई अभोइड गरिरहेको देख्दा तिमीलाई आश्चर्य लागेको होला। निकैपल्ट तिमीलाई मेरो वैवाहिक जीवन र त्यसको उतारचढावबारे बताउन खोजेकी हुँ तर साहस भएन। बिहे भएको केही वर्षपछि श्रीमानसँग मेरो वैचारिक मतभेद सुरु भएको थियो। परम्परावादी र पुरानो संस्कारकी भनेर उनले मलाई उपेक्षा गर्थे। उनीबाट पाएको तिरस्कारको घाउलाई पुर्न मैले तिमीसँग मित्रताको हात बढाएकी हुँ। मेरो भावनात्मक एकाकीपनमा तिमीले दिएको सामिप्य र समर्थनमा अनियन्त्रित म धेरै अगाडि बढेछ्, राज। तर पछि मलाई महसुस भयो, म समाजले बनाइदिएको सीमारेखालाई तोड्न सक्दिनँ। त्यसैले मैले तिमीसँग टाढा हुने निर्णय गरेका हुँ।
भावनाको आँधीमा आफूलाई नियन्त्रण गर्न गाह्रो हुँदोरहेछ। तिमीसँग नजिक भएँ भने मैले आफूलाई सम्हाल्न सक्दिनँ त्यसैले मैले श्रीमानसँग अमेरिका जाने निर्णय गरेकी छु। आसा छ, तिमीले मलाई माफ गर्नेछौ।
रीमा
मर्माहत भयो राज। उसले केही सोच्नै सकेन। किंकर्तव्यविमूढ टोलाइरहँदा रेस्टुराँमा ऊसँग कोही बोलिरहेको थियो तर त्यतातिर उसको ध्यानै गएन। उसले वेटरसँग पानी माग्यो। अलि संयमित भएपछि खल्तीबाट मोबाइल निकाल्यो, त्यहाँ एउटा मेसेज थियो रीमाको — टेक केयर एन्ड गुडबाई।
