Error
  • JUser::_load: Unable to load user with id: 65
शनिवार, 02 जनवरी 2010 11:23

लेखक–प्रकाशक सम्बन्ध

Written by
Rate this item
(0 votes)
प्रकाशकले पनि आफ्ना लेखकले आफूमाथि विश्वास गर्नसक्ने आधार तयार गर्नुपर्छ। पहिलो कदम त पाण्डुलिपि स्वीकार गर्नेबित्तिकै प्रकाशकले लेखकसँग करार गर्नुपर्छ।
अजित बराल
अजित बराल
केही साताअघि अक्षरको आवरणकथामा पाठक संख्याको वृद्धि, सञ्चारमाध्यममा पुस्तकको बढ्दो कभरेज र पुस्तक प्रबर्द्धनका नवीन माध्यमहरूको प्रयोग आदिका कारण नेपाली प्रकाशन उद्योग फस्टाउँदै गएपनि पूर्ण व्यावसायिक भइसकेको छैन भनेर लेखेको थिएँ। र, यसलाई व्यावसायिक र अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि हामीले गर्दै आएको (अझ भनौं, गर्दै नगरेको) सम्पादन अभ्यासलाई सुधार्ने, पाण्डुलिपिको विशेषज्ञबाट निरीक्षण गराउने, पुस्तकको प्याकेजिङमा ध्यान पुर्‍याउने र पुस्तकको वितरणप्रणाली राम्रो बनाउने काम गर्नुपर्छ भनेको थिएँ। यी कार्यबाहेक सुधार गनुपर्ने अर्को महŒवपूर्ण कुरा मैले उल्लेख गर्न छुटाएको रहेछु। त्यो हो — लेखक–प्रकाशकबीचको सम्बन्ध।

प्रकाशन संयुक्त परियोजना हो। लेखक र प्रकाशकको सहकार्यबिना प्रकाशन असम्भव हुने भएकाले प्रकाशक र लेखकबीच राम्रो सम्बन्ध हुनुपर्छ। तर नेपालमा लेखक र प्रकाशकबीचको सम्बन्ध त्यति राम्रो छैन। त्यसको उदाहरणका रूपमा लेखकहरूले प्रकाशकहरूलाई लगाउने कपिराइट उल्लंघनको आरोपलाई लिन सकिन्छ।

 

aakshyar-lekhak-prakasha
प्रकाशक र लेखकबीचको सम्बन्ध नराम्रो भयो भने घाटा लेखक र प्रकाशक दुवैलाई हुन्छ। एउटा दृष्टान्त :  मेरो आफ्नै प्रकाशन गृह फाइनप्रिन्टले एक हजार प्रतिका लागि बकाइदा करार गरेर लेखिका सुषमा जोशीको कथासंग्रह ‘द एन्ड अफ द वर्ल्ड' प्रकाशन गरेको थियो। पुस्तकले राम्रो चर्चा पायो र पुस्तकको बिक्री पनि राम्रै हुँदै थियो। दुर्भाग्य, जोशीमा आफ्नो पुस्तक हट केक जसरी बिक्री भइरहेको भ्रम परेछ र करारमा उल्लेख भएभन्दा धेरै (पाँच हजार प्रति) मुद्रण गरेको र आफूलाई एक हजार प्रतिको मात्र रोयल्टी दिएको आरोप फाइनप्रिन्टलाई लगाइन् — छापामा, मौखिक रूपमा र इमेलमार्फत। त्यसपछि फाइनप्रिन्टले सो आरोपमाथि छानबिन होस् भनेर नेपाल कपिराइट रजिस्ट्रारको कार्यालयमा उजुरी हाल्यो। पछि आफ्नो बजार सर्वेक्षणका आधारमा कार्यालयले उक्त आरोप आधारहिन भएको निश्कर्ष दियो। तर त्यस घटनाले लेखक र प्रकाशकबीचको मनमुटावलाई हटाउने कुरै भएन र पुस्तकको पुनःमुद्रणका लागि दुवै पक्ष राजी हुने भएनन्। यसबाट दुवै लेखक र प्रकाशकलाई बेफाइदा भएको छ किनभने बजारमा पुस्तकको माग छ तर बेच्नका लागि कुनै प्रति उपलब्ध छैन।

त्यसैले लेखक र प्रकाशकबीच राम्रो सम्बन्ध हुनु आवश्यक छ। सम्बन्ध सुधार्नका लागि लेखक र प्रकाशकबाट केही पहल हुनुपर्छ। सबैभन्दा पहिला लेखकले प्रकाशकलाई विश्वास गर्नुपर्छ। लेखकसँग स्वीकृति नलिइकन पुस्तक प्रकाशन गर्ने अनैतिक प्रकाशनगृह नेपालमा भएको स्थितिमा लेखकले अलि व्यावसायिक देखिने, अलि इज्जतका साथ हेरिने प्रकाशनगृहबाट आफ्ना पुस्तक प्रकाशन गर्न खोज्नुपर्छ। पुस्तक छापिदिने भयो भन्दै दंग परेर करार नगरीकन आफ्नो पुस्तक छाप्न स्वीकृति दिनु हुँदैन। करारमा रोयल्टी कति प्रतिशत दिने, कुन–कुन अवधिमा दिने कुरा स्पष्ट तोक्न लगाउनुपर्छ। यीबाहेक पुनःप्रयोगको अधिकार, अन्तर्राष्ट्रिय अधिकार, अनुवादको अधिकार, फिल्म, टेलिभिजन आदिको अधिकारबारे स्पष्ट हुन लगाउनुपर्छ। तर लेखकले कतिपय कुरालाई प्रकाशकको विवेकमा छोडिदिनुपर्छ। उदाहरणका लागि, लेआउट र कभर डिजाइन कस्तो बनाएको, पुस्तकको आकार कुन हुने,  कस्तो किसिमको कागज राख्ने जस्ता कुरा लेखकलाई भन्दा प्रकाशकलाई बढी जानकारी हुन्छ। फेरि यस्ता कुराको निर्णय पुस्तकको मूल्य कति राख्ने भन्ने कुराले निर्धारण गर्छ र सो कुराको जानिफकार प्रकाशक नै हुन्छ। त्यस्तै पुस्तक कसरी प्रबर्द्धन गर्ने भन्ने कुरा पनि प्रकाशकलाई नै छोड्नुपर्छ। तर यसको अर्थ यी कुराहरूमा प्रकाशकले लेखकसँग रायसल्लाह लिनु नै पर्दैन भन्ने होइन, लिँदा बेस हुन्छ। र, अन्तर्राष्ट्रिय अभ्यास पनि लेखकसँग सल्लाह लिने छ।

प्रकाशकले पनि आफ्ना लेखकले आफूमाथि विश्वास गर्नसक्ने आधार तयार गर्नुपर्छ। पहिलो कदम त पाण्डुलिपि स्वीकार गर्नेबित्तिकै प्रकाशकले लेखकसँग करार गर्नुपर्छ। त्यसमा पेस्की, रोयल्टी कति दिने, बिक्रीको विवरण कहिले–कहिले दिने र पुस्तकसम्बन्धी कुन–कुन अधिकार लेखक वा प्रकाशकसँग हुने भन्ने किटान गरिएको हुनुपर्छ। करारको पालना गर्नुका साथै लेखकले मागेको खण्डमा तुरुन्तै दिन सकिने गरी बिक्रीको हिसाब व्यवस्थित र पारदर्शी ढंगले राख्नुपर्छ। पुस्तक सम्पादन लेखकको सहमतिमा गराउनुपर्छ र पाण्डुलिपिमा गरिएका परिवर्तन लेखकलाई स्वीकार्य छ/छैन सोध्नुपर्छ, पुस्तक प्रेसमा पठाउनुभन्दा अगाडि। त्यस्तै, समीक्षाका लागि पुस्तक प्रकाशकले कहाँ–कहाँ पठाएको छ भन्ने जानकारी लेखकलाई नहुने भएकाले पत्रपत्रिकामा छापिएका पुस्तक समीक्षा, पुस्तक चर्चाहरूलाई फोटोकपी गरेर लेखकलाई पठाउनुपर्छ। यसो गर्दा लेखकले आफ्नो पुस्तकको प्रगतिबारे थाहा पाउँछ र पुस्तक प्रकाशनपछि पनि लेखक र प्रकाशकबीच राम्रो सम्बन्ध कायम रहन्छ।

लेखकलाई प्रकाशक आवश्यक हुन्छ र प्रकाशकलाई लेखक। तर लेखकले वर्षौं लगाएर लेखेको पुस्तकबाट सकेसम्म धेरै कमाउन चाहने र प्रकाशकले लेखकलाई कम रकम दिन चाहने हुनाले दुईबीच एक किसिमको तनाव सधैं हुन्छ। यो तनाव गायब होस् भन अपेक्षा गर्न सकिन्न तर यसलाई मनमुटावको स्थितिसम्म पुग्न नदिन लेखक र प्रकाशक दुवैले आआफ्ना किसिमले पहल गर्नुपर्छ।

Last modified on शनिवार, 02 जनवरी 2010 15:37

E-mail: यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ

कमेन्ट गर्नुस्


NagarikNews.com

अक्षर