…म मांसाहारी खान्छु'
…म त तुलसी चिया मात्र पिउँछु'
…हामी तीन जना बुफेमा खाने'
पहेँला काँसका मझौला थाल समाएर तीन जना गुडरुन, दविद र युलिआना भियनाको …याक एन्ड यती' नेपाली रेस्टुरेन्टको बुफेमा लाम लागे। बासमती चामलको फुर्र परेको सेतो भात, कालो दाल, लाम्चे फर्सीको तरकारी, कुखुराको मासु, टमाटरको अचार र सलाद पस्किसकेर तीनै जना टेबुलमा आएर बसे। अरू भने अघिदेखि नै आफूले अर्डर गरेको खाना कुरेर बसेका थिए। …आज नेपाली नबोले खान पाइँदैन है' भन्दै रेस्टुरेन्ट सन्चालक ती विद्यार्थीहरूलाई जिस्क्याउँदै काँसको ठूलो थालमा वरिपरि ससाना काँसकै कचौराहरूमा सजिएको साकाहारी र मांसाहारी खाना लिएर आइपुगे।
भियना विश्वविद्यालयमा प्रारम्भिक नेपाली भाषा पढ्ने विद्यार्थीहरूको यो वर्ष २००९ को अन्तिम कक्षाको दिन थियो। त्यसमाथि त्यही दिन परीक्षा पनि सकिएको। क्रिसमस, नयाँ वर्ष र परीक्षा सकिएको खुसीको त्रिवेणी हरेकका अनुहारमा छचल्किरहेको थियो। भर्खरै तोतेबोली सिकेका नानीहरूले जस्तै …तरकारी पिरो छ', …खाना मिठो छ', …चिया गुलियो छ' जस्ता वाक्यहरू धेरै जोडघटाउपछि फुटाउँछन् ती। …हामी कहिल्यै बोल्न सक्दैनौं होला है यसरी फरर,' त्यहाँ बोल्दै गरेका नेपाली जोडी अनुहारतिर हेरेर मेलानीले भनिन्।

अहिले विभागमा नेपालसँग सम्बन्धित विभिन्न शोधकार्य पनि सन्चालित छन् जसमा डा. योहाना बुसले …नेपाली छापा पत्रकारिता र संविधानसभा' शीर्षकमा पोस्ट डक्टरेट, अलका चूडाल (पंक्तिकार) ले …राहुल सांकृत्यायन र नेपाल सम्बन्ध' विषयमा विद्यावारिधि, वाल्टर फाइखटिन्गर, प्रतिभा चेलापरम्पत र आना फेर्नेरले क्रमशः …पाटनको मतया जात्रा', …दक्षिण एसियाका महिला तथा तीज' एवं …नेपाली संविधान र कानुन' विषयमा स्नातकोत्तरको शोधप्रबन्ध लेख्दैछन्।
के हो यिनलाई नेपालीप्रति आकर्षित गर्ने तत्व? मैले एकदिन नेपाली कक्षामा नेपाली पढ्दै गरेका विद्यार्थीहरूलाई सोधेँ। कक्षामा थरीथरी उद्देश्य र रुचि भएका विद्यार्थीहरू छन्; विभिन्न रंगरूप, देश र विचारका। अस्ट्रियाली नागरिक दविद बिनाकुनै योजना नेपाली पढ्न आइपुगेका छन् भने इटालियन दारियो भर्खर उच्च माध्यमिक विद्यालयको पढाइ सकेर विभिन्न दर्शन, धर्म र संस्कृतिमा रुचि भएकाले नेपालीतिर डोरिएका छन्। मराठी, हिन्दी पढिसकेकी जर्मन नागरिक कत्रिन भने नेपालीको ती भाषासँगको सम्बन्ध जान्ने इच्छाले आइपुगेकी रहिछन्। विद्यार्थी आदान–प्रदानअन्तर्गत जर्मनीको मटिङगनस्थित जर्ज अगस्ट विश्वविद्यालयबाट एक सेमेस्टरका लागि भियना आएकी कत्रिन भन्छिन्, …मैले अहिलेसम्म मातृभाषीसँग भाषा सिक्ने मौका पाएकी थिइनँ। मातृभाषीसँग भाषा सिक्न पाउनु साहै प्रभावकारी हुँदोरहेछ भन्ने कुरा मैले अहिले बल्ल बुझेँ। मलाई कहिलेकाहीँ यी भाषाका शब्द र नियमहरू जुधेर दोधार पनि हुन्छ।' उनले बडो रुन्चे स्वरमा अगाडि भनन्, …तर मेरो दुर्भाग्य, म नेपालीलाई निरन्तरता दिन सक्दिनँ। हाम्रो विश्वविद्यालयमा नेपाली छैन।' तिब्बती अध्ययन विभागकी छात्रा जुलिआना र संगीतमा उच्च अध्ययन गरिसकेकी गुडरुन पाठ्यक्रममा चाहिने भएर होइन आफ्नो रुचिका कारण नेपाली भाषाप्रति आकर्षित भएका हुन्। जुलियानाले भनिन्, …आउँदो फेब्रुअरीमा म नेपाल पनि जाँदैछु — तिब्बती बालबालिकालाई सहयोग गर्ने एउटा संस्थामा स्वयंसेवीको रूपमा सहयोग गर्न।'
युलिआनाको नेपाल जाने कुरा सुनेर अगाडिको लहरमा बसेकी स्टेफानीले पनि दंग पर्दै भनिन्, …म पनि जाने हो फेब्रुअरीमा नेपाल।' छेवैमा बसेकी आना र मेलानी एकैपटक तम्सेर स्टेफानीलाई सम्झाए, …हामी तीनजना जाने भन न!' अनि स्टेफानीले उनको खुसीमा उत्साहको जलप थपेर भनिन्, …हो, हामी तीनजना — मेलानी, आना र म जाडो बिदामा नेपाल र भारत जान्छौं। हामी पोखरा पनि जान्छौं। हामीले नेपालमा लगाउने न्याना लुगा पनि हिजै मात्र किनिसक्यौं।' सबै विद्यार्थीहरू गलल हाँसे। …हो नि! नेपालमा हिटिङ सिस्टम छैन, त्यहाँ त यहाँभन्दा जाडो हुन्छ। म पोहोर फेब्रुअरीमा जाँदा जाडोले रातभरि सुत्नै सकिनँ,' अर्का एकजना भुक्तभोगीले आफ्नो अनुभव सुनाए।
सबिने, दिमित्री र आन्द्रेया संस्कृत सिकिसकेर नेपाली पढ्न आएका हुन्। …संस्कृत सिकेर के गर्ने? बोल्न पाइँदैन। त्यसैले हामी बोल्न पाइने भाषा पढ्न आएका,' तीनैले आफ्नो नेपालीप्रतिको आकषर्णको कारण दर्शाए। सबिनेलाई संस्कृत जान्दा नेपाली सिक्न सजिलो भएको छ। तर नेपालीको आफ्नै विशेषता छ। सबिनेको भनाइलाई समथर्न गर्दै उनको ठिक पछाडि बसेकी भारतीय नागरिक प्रतिभा चेलापरम्पतले भनिन्, …हो, नेपालीका आफ्नै विशेषता छन्। हिन्दी जानेकीले मैले पनि नेपाली सजिलै होला भन्ठानेकी थिएँ; तर नेपाली हिन्दीभन्दा धेरै फरक रहेछ। शब्द उही भए पनि उच्चारण र प्रयोगहरू धेरै फरक छन् र तिनले कतै सजिलो पनि पार्छन् भने धेरै ठाउँमा झुक्याउँछन् पनि।'
…अघिल्लो वर्ष विश्वविद्यालयबाट लगिएको शैक्षिक भ्रमणमा नेपाल जाँदा नेपालले मेरो मनै चोर्यो। म लोभिएँः नेपाली भाषा, नेपाली मानिसहरू र तिनको सरलता देखेर। त्यसैले मैले नेपाली सिकेकी हँु,' बोस्नियाली नागरिक लिदियाले पल्लो कुनाबाट भनिन्।
वाल्टर २००८ र २००९ मा गरी वर्षैपिच्छे दुई पटक नेपाल गइसके। पहिलो पटकको शैक्षिक भ्रमणमा मतया जात्राबाट आकर्षित भएर शोधप्रबन्ध लेख्ने निर्णय गरे। अनि यस वर्ष अझ विस्तारले बुझ्न र अनुसन्धान गर्न मतया जात्रा हुने बेलै पारेर गएको भदौ/असोज २ महिना पाटनमा बिताएर फर्के। …मेरो अध्ययनक्षेत्रसँग त अझ नेवारी भाषा सम्बन्धित छ। तर नेवारी यहाँ छैन। नेपालीले पनि धेरै मद्दत पुर्याउँछ मेरो अध्ययनमा। भविष्यमा पनि नेपालकै बारे अनुसन्धान गर्ने मेरो सोच छ। त्यसैले म नेपालीप्रति आकर्षित भएको हुँ,' वाल्टरले आफ्नो धारणा प्रष्ट पारे।
कक्षा सकियो, परीक्षा सकियो, याक एन्ड यतीको खाना पनि सकियो। तर विद्यार्थीहरूको रमाइलो गर्ने जोस सेलाएको छैन। भुर्भुराउँदो हिउँ परेको मौसम, सबै रेस्टुरेन्टबाट बाहिर त निस्के तर कसैलाई एकआपसबाट छुट्टिन मन छैन। अब कता जाने? कोही काम छ भन्न थाले कोही भने अरू कक्षा भएर आउन नपाएका साथीहरूका मोबाइलका घन्टी बजाउन थाले। लामो छलफलपछि अन्तमा निर्णय भयो — अब नजिकैको क्रिसमस बजारमा सबै भेला हुने, अनि तात्तातो पुन्च (तताएको वाइन र रमको मिश्रण, जाडो र क्रिसमसमा पिउने विशेष मिदरा) पिउने। केहीलाई काममा जानुपर्ने थियो। …आज छुट्टी लेऊ न,' कोही कर गर्दैथिए। …हुँदैन, अहिलेको अहिल्यै कसरी छुट्टी हुन्छ? मेरो जागिरै जान्छ नि,' जान नपाउनेहरू दुखेको मन लिएर बिदा हुन बाध्य भए। दुखियाले दुखीको भाव बुझ्यो। अब तीन हप्ता यिनीहरूको भेट हुन्न। सबै आआफ्नो परिवार र बाबुआमाकहाँ क्रिसमस मनाउन जान्छन्। क्रिसमस पारिवारिक चाड हो। एकअर्कालाई अँगालोमा बाँधेर सबैले नयाँ वर्ष र क्रिसमसको शुभकामना आदानप्रदान गरे। एउटा समूह काममा गयो अर्को दोस्रो चरणको रमाइलो गर्न क्रिसमस बजारतिर। छुट्टिने बेला सबैले नेपाली शैलीमा दुई हात जोडेर भने, …नमस्ते! जनवरीमा फेरि भेटौंला।'
