शनिवार, 26 डिसेम्बर 2009 12:50

अंग्रेजीमा …बसाइँ'

Written by रमेश पराजुली
Rate this item
(0 votes)
…वनकाले भेट्टाएजस्तो छ' को अनुवाद गर्दा …वनकाले'लाई संज्ञाको रूपमा अनुवाद गरिएको छ, जबकि त्यहाँ भन्न खोजिएको वनतर्फका (भूत–प्रेत)ले हो
ramesh
रमेश पराजुली
बैदारको थेगो अनुवादमा पनि राख्ने हटको प्रयास सराहनीय छ तर त्यसले कथाको बहावलाई रोकेको छ र पाठकलाई अलमल्याउँछ

नेपाली साहित्यलाई अंग्रेजीमा अनुवाद गर्ने प्रयास धेरै नभए पनि छिटपुट भएकै छन्। त्यस प्रयासमा कतिपय स्वदेशी र केही विदेशी लागेका छन्। तीमध्ये एक हुन् — स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजका प्राध्यापक माइकल हट। उनले अनुवाद गरेका केही चुनिन्दा नेपाली कविता, कथाको पुस्तक ‘मोडर्न लिटरेरी नेपाली' अक्सफोर्ड युनिभर्सिटी प्रेसबाट प्रकाशन भैसकेको छ।

mountainpainted
माउन्टेन्स पेन्टेड विथ टर्मेरिक लेखक : लीलबहादुर क्षेत्री अनुवादक : माइकल हट प्रकाशक : कोलम्बिया युनिभर्सिटी प्रेस, न्युयोर्क, सन् २००८
हटले लीलबहादुर क्षेत्रीको उपन्यास ‘बसाइँ' पनि अनुवाद गरेका छन्। कोलम्बिया युनिभर्सिटी प्रेसले प्रकाशन गरेको उक्त अनुवादको शीर्षक ‘माउन्टेन पेन्टेड विथ टर्मेरिक' (बेसारले पोतिएको पहाड) राखिएको छ। यो शीर्षक बसाइँ शब्दको ठाडो अंग्रेजी अनुवादभन्दा सुन्दर लाग्छ। आवरण तस्बिर पनि सुन्दर पहेँलपुर पहाडकै छ। बाक्लो गाता, राम्रो कागज र छपाइ, अनि बीचबीचमा राखिएका पानाभरिका तस्बिरले पुस्तकलाई थप चित्ताकर्षक बनाएको छ। प्राक्कथन र मूलपाठको टिप्पणी पनि उपन्यासमा समावेश गरिएको छ। यिनले उपन्यासमा आउने विभिन्न सन्दर्भ र परिवेशलाई बुझ्न (विदेशी) पाठकलाई सघाउँछन्।

काम, दाम र मामको खोजीमा आफ्नो पुर्खाको थातथलो छाडेर हिँड्नेहरूको इतिहास धेरै पुरानो छ। त्यसरी थातबास छाड्नुपछाडि …छिपेको वेदना र रहस्य'लाई क्षेत्रीले अलि सानो आकार र सरल संरचना भएको आफ्नो उपन्यासको कथा बनाएका छन्। यो कथा उनको घरको कथा पनि हुन सक्छ किनकि लेखक क्षेत्रीका पुर्खा नेपालबाटै भासिएर मुग्लान आसाम) झरेको हामी अनुमान गर्न सक्छौं।

नेपालीहरू बसाइँ सरेर भारतका विभिन्न राज्यदेखि भुटान, बर्मा, थाइल्यान्ड र इन्डोनेसियासम्म पुगेका छन्। यसरी बसाइँ सर्नेमा बाहुन–क्षेत्रीदेखि जनजाति र दलितहरूसमेत छन्। तर उनीहरू बसाइँ सर्नुको एउटै कारण छैन। क्षेत्री प्राक्कथनमा भन्छन्, …कतिको रहर पनि हुन सक्छ तर धेरैजसोको कुरा अर्कै छ।' हो, कतिलाई प्रवासको आकर्षणले बसाइँ सर्न उत्प्रेरित गर्छ भने कतिलाई बाध्यताले। उपन्यासमा धने बस्नेत र उसको परिवार गरिबीको दुश्चक्रमा फसेर, शोषक–सामन्तीको चंगुलमा परेर गाउँबाट पलायन हुन्छ। धनेजस्तै यसरी लखेटिने कुनै जातिविशेषका होइनन्, वर्गविशेषका हुन् — ‘बसाइँ' ले पनि यही भन्छ। यो तथ्य भुटानी सरकारले खेदेका नेपालीमूलका नागरिकबारे पुस्तकसमेत लेखिसकेका हटलाई थाहा नहुने कुरै भएन। तर नेपालको पूर्वका गाउँको सामाजिक अवस्थाबारे प्राक्कथनमा सामान्यीकरण गरेको देख्ता उनी अलि …पपुलिस्ट' हुन खोजेको हो कि जस्तो भान हुन्छ।

‘बसाइँ' पहिलोपल्ट मदन पुरस्कार पुस्तकालयले २०१४ सालमा प्रकाशन गरेको थियो। अहिलेसम्म यो २९ पटक पुनःमुद्रण भएको छ र यसको हजारौं प्रति बिक्री भइसकेका छन्। २०१६ सालमा नेपालमा पहिलो विश्वविद्यालय खुलेलगत्तै यस उपन्यासलाई पाठ्यक्रममा समावेश गरिएको थियो। मैले पनि यो उपन्यास पाठ्यक्रमअन्तर्गत नै पढेको हुँ, धेरै वर्ष अगाडि। लामो अन्तरालपछि अंग्रेजी अनुवाद पढ्दा कलेज जीवनसँग जोडिएका तर विस्मृतिमा पुगेका कतिपय कुरा स्मृतिपटमा आए। थाहा पाएँ, कथाको सारांश धेरथोर सम्झे पनि तपसिलका धेरै कुरा याद रहेनछन्।

त्यसैले अंग्रेजी अनुवाद पढ्दा कतै …होइन, यस्तो थियो र?' भन्ने लाग्यो। अनि कतै के–के नपुगेको नमिलेको जस्तो, गल्ती हो कि जस्तोसमेत लागेकाले फेरि एकपटक ‘बसाइँ' दोहोर्‍याएँ। शंका लागेका ठाउँमा हटको अनुवाद जाँचेँ। अनुवाद केलाउँदा देखियो, केही अप्ठेरा नेपाली भाषाको प्रकृति या स्वभावका कारण आएका रैछन् :  जस्तो, थेगो। उपन्यासमा दुई पात्रले थेगो प्रयोग गर्छन्। बैदारले,  …हरिरामको' र मुखियाले, …चाहिनेभन्देखि'। अनूदित पुस्तकमा बैदारले अंग्रेजी थेगो प्रयोग गर्छ तर मुखियाले गर्दैन। बैदारको थेगो अनुवादमा पनि राख्ने हटको प्रयास सराहनीय छ तर त्यसले कथाको बहावलाई रोकेको छ र पाठकलाई अलमल्याउँछ।  

अनुवादमा केही त्रुटि भएका छन्। …वनकाले भेट्टाएजस्तो छ' को अनुवाद गर्दा …वनकाले'लाई संज्ञाको रूपमा अनुवाद गरिएको छ, जबकि त्यहाँ भन्न खोजिएको वनतर्फका (भूत–प्रेत)ले हो। यो नेपालीमा विभक्ति जोडिने हुनाले गर्दा आउने समस्या हो (उदाहरणका लागि बाले बत्ती बाले)। त्यस्तै, बुधेलाई बुढो (बुढे) भनेर टिप्पणीमा व्याख्या गरिएको छ। सम्भवतः सो पात्र बुधबार जन्मेकाले उसको नाउँ बुधे रहन गयो नकि उ बुढो भएकाले।  

यसबाहेक, पुस्तकमा केही सामान्य गल्तीहरू असावधानीवश छिरेका छन्। उदाहरणका लागि, नेपाली मूलपाठमा झुमा गर्भवती भएकाले अमिलोपिरोमा चाख बढेको कुरा गरिएको छ, तर, अंग्रेजीमा भने रुचि घटेको लेखिएको छ। त्यस्तै, अनुवादमा झुमालाई मोटे कार्कीले कान्छी दिदी भन्छ (पृ. ९१–९३) जबकि नेपालीमा झुमाले कार्कीलाई दाजु भन्छिन्। त्यस्तै, पृ. ८ मा बेलुका …सर्सराउँदो बाँधेको'को अनुवाद …हतारमा बाँधेको' हुन गएको छ। …चारखुट्टे मोरो धन...' भन्ने उखानको अनुवादमा मोरोलाई …मेरो' भनेर अनुवाद भएको छ।

उपन्यासमा पूर्वेली नेपाली भाषाको भरपूर प्रयोग छ। त्यसले अनुवादको कार्यलाई जटिल बनाए पनि अनुवादक धेरै हदसम्म सफल नै छन्। नेपाली मूलमा अनुच्छेदको विभाजन कुनैकुनै ठाउँमा उपयुक्त जँच्तैन, हटले त्यसलाई मिलाइदिएका छन्। समग्रमा, अनुवादक र प्रकाशकको नेपाली साहित्यलाई अलि ठूलो समुदायमा पुर्‍याउने प्रयासलाई धन्यवाद दिनुपर्छ। आसा गरौं, यसको दक्षिण एसिया संस्करण पनि प्रकाशन हुनेछ र माथि उल्लेख गरिएका झिनामसिना गल्ती दोहोरिने छैनन्।
Last modified on शनिवार, 26 डिसेम्बर 2009 12:56

कमेन्ट गर्नुस्


NagarikNews.com

अक्षर