लेखक : दिनेश गुप्ता
भाषा : भोजपुरी
प्रकाशक : प्रमोद गुप्ता, सवोध गुप्ता
पृष्ठ : ८७
मूल्य : रू. १००

गोरखापत्रको भोजपुरी संस्करणका संयोजक दिनेशका यसअघि सातवटा कृति आइसकेका हुन्। तीमध्ये बीपी कोइरालाको …मोदिआइन' र ध्रुवचन्द्र गौतमको …फूलको आतंक'का अनुवाद पनि परेका थिए। आठौं पटकमा भोजपुरी लघुकथाहरूको छनौट गरेका उनले हजुरआमालाई समर्पण गर्दै लेखेको एउटै लाइनले मन छुन्छ, …दादीके यादमे, जे छोट–छोट कथा–कहानी सुनाके हमरा के सुतावत रहली।'
तर, यो संग्रहले वीरगन्जका केटाकेटीलाई हुर्काउने हजुरआमाका मनछुने कथाहरूमा आफूलाई केन्द्रित गरेको छैन। त्यसैगरी आवरणमा राखिएको बीभत्स दृश्यले पनि उत्तिको सान्दर्भिकता राख्दैन।
बरु संग्रहले छोटै अवधिमा पढेर कतै एकैछिन आनन्दित हुने त कतै घोत्लिन बाध्य पार्ने ससाना प्रसंगहरूलाई उल्लेख गरेको छ। स्रोतालाई खित्का छुटाउँदै कुरा बुझाउनु भोजपुरी भाषाको एउटा महŒवपूर्ण विशेषता हो। एक–एक पानामा समेटिएका ५५ वटा छोटा कथाले मानव चरित्र, सामाजिक विडम्बनादेखि लिएर राजनीतिक क्षेत्रलाई गरेको व्यंग्यसमेत पढ्न पाइन्छ। भोजपुरी भाषाको स्वादमा रमाउने बानी परेका पाठकका निम्ति यसको मूल्य सय रुपैयाँ राखिएको छ।

सम्पादक : मानुषी यमि भट्टराई
प्रकाशक : मानुषी यमि भट्टराई
पृष्ठ : १२०
मूल्य : रू. ४०/–
यस त्रैमासिक पत्रिकामा नेपालका दुई छिमेकी राष्ट्र चीन र भारतसँगको सम्बन्ध र अमेरिकी साम्रज्यवादबारे सभासद हरि रोका र राजनीतिक विश्लेषक सीके लालबीचको बहस समेटिएको छ। यसैगरी बाबुराम भट्टराईको क्रान्तिका चुनौती के छन् र अबका नेपाली क्रान्तिको सम्भाव्य बाटा कुन–कुन हुन् भन्ने विषयमा लेखिएको लेख र पुँजीवादी अर्थतन्त्रको वैकल्पिक बाटोबारे लेखिएको डा. डिल्लीराज खनालको लेख समेटिएको छ। त्यस्तै, विश्वव्यापी अर्थतन्त्रको संकट र चीनमा परेको असरबारे जोन वेलामी फोस्टरको लेख पनि पुस्तकमा समावेश छ।
लैंगिक, वर्गीय र समावेशी–समानुपातिक आन्दोलनमा महिलाको भूमिकाबारे हिसिला यमिको लेख साथै समकालीन प्रगतिवादी साहित्यका, स्वास्थ्य, वातावरण परिवर्तनसम्बन्धी लेखिएका लेख र पुस्तक समीक्षा पनि पुस्तकमा राखिएका छन्।

लेखक : इ. शम्भुप्रसाद उपाध्याय
प्रकाशक : एन्टेक नेपाल प्रालि
पृष्ठ : २२०
मूल्य : रू. ४००/–
बिद्युत् के हो? बिद्युत् कसरी प्रसारण हुन्छ र यसको वितरण कसरी गरिन्छ? यस्ता विषयलाई मुख्य आधार बनाएर यो पुस्तक लेखिएको छ। पुस्तकमा बिद्युत् प्रवाह हुँदा चुहावट कसरी हुन्छ? दुर्घटना कसरी हुन्छ? त्यसको रोकथामका लागि के–के सुरक्षा अपनाउनुपर्छ भन्ने जानकारी समेटिएको छ। तीन भागमा विभक्त पुस्तकको पहिलो भागमा बिद्युत्सम्बन्धी आधारभूत ज्ञान दिइएको छ। दोस्रो भागमा बिद्युत् प्रसारणसम्बन्धी जानकारी दिइएको छ। बिद्युत् प्रसारण गर्दा गर्नुपर्ने काम र अपनाउनुपर्ने सुरक्षाबारे बताइएको छ।
यसैगरी तेस्रो भागमा बिद्युत् वितरण गर्ने तरिका र वितरण गर्दा चाहिने पोल, ट्रान्सफर्मर आदिको जानकारी पनि पुस्तकमा पाइन्छ। पुस्तकमा रेखाचित्रसमेत दिइएको छ।
