
आखिर के छ त यस्तो विशेषता चेतन भगतका पुस्तकमा जसले गर्दा यति ठूलो मात्रामा पुस्तक विक्री हुन्छ?
यसको उत्तर हो, पहिलो विषयवस्तु र दोस्रो मार्केटिंग। चेतन भगतका पुस्तक विषयवस्तुको हिसाबले अत्यन्तै सामान्य लाग्ने तर गम्भीर चासोका विषयवस्तु हुन्। पहिलो पुस्तक युवा पुस्ताका समस्या जस्तैः पारिवारीक दायित्व, डेटिंग, सेक्स, ड्र्ग्स, आत्महत्या मा आधारित छ। जसले गर्दा युवा पुस्ताका पाठकको ध्यान आकर्षित गर्न सफल भयो। यसमा प्रख्यात इण्डियन इन्ष्टिच्यूट अफ टेक्नोलोजीमा धेरै पढनुपर्ने आवश्यकता विपरित भोड्का, गाँजा माध्यान दिने पिंक फ्लोयडका गीत सुन्ने र प्रोफेसरकी छोरीसँग प्रेम गर्ने आदि क्रियाकलापमा लाग्ने तीनजना केटाहरुको कथा छ।
र, हालसालै प्रकाशित टु स्टेजः द स्टोरी अफ माई मेरिजमा समकालीन यूवा पिढीले अन्तर्जातिय र अन्तर्धार्मिक विवाह गर्दा सामना गर्नुपर्ने पारिवारिक र सामाजिक अवरोधलाई चित्रण गरेका छन्। पुस्तकमा एक पंजाबी केटा क्रिश र दक्षिण भारतीय केटी अनन्या इण्डियन इन्ष्टिच्यूट अफ म्यानेजमेन्टमा सँगै पढ्दा भएको मित्रता प्रेम वाशना र विवाह गर्ने निर्णय अनि विवाहको लागि ती दुईको मात्र नभएर परिवारहरु वीचमा पनि प्रेम हुनुपरेको यथार्थको कथा छ। आर्थिक विकाशद्धारा नवशक्तिशालि मुलुक बन्ने क्रममा पनि विभिन्न राज्यहरु वीचको साँस्कृतिक दुरीको आन्तरिक यथार्थ यस पुस्तकमा उनले चित्रण गरेका छन्।
यसरी हेर्दा उनका पुस्तक समसामयीक यथार्थमा आधारित रहेका छन्। जनमानसको चासो रहेको विषयलाई उठाएर त्यसलाई आख्यानको रुप दिन सक्नुनै भगतको सफलताको मुख्य कारण हो।
उनका पुस्तक मनपराएर पढ्ने धेरै छन्। र, मन नपराउने अझै धेरै हुन सक्नछन्। तर, के कुरा महत्वपूर्ण छ भने चेतन भगत भारतीय पुस्तक बजारमा मनपरेपनि मन नपरेपनि छुटाउन नसकिने नाम भईसकेको छ। अरुणधती रोय, शशी थरुर, अभिताभ घोष जस्ता लेखकका पुस्तकको अगाडि चेतन भगतका पुस्तक हलुका पुस्तक लाग्न सक्छन्। तर, आम पाठक माझ उनले पाएको लोकप्रियता, सफलता, आर्थिक लाभ र विक्रीको पक्षबाट हेर्दा घरेलु बजारमा ती सबै अग्रजलाई उनले पछाडी पारेका छन्।
भाषाः
चेतन भगत आख्यानको भाषा मौलिक हुनुपर्छ भन्ने मान्यता राख्छन्। उनी भन्छन्ः एक आम आख्यान सडक र गल्लीहरुमा बोलिने भाषामा लेखिनु पर्दछ। र, यही मान्यताले गर्दा उनी अत्यन्तै सरल भाषामा उपन्यास लेख्छन्। जसले गर्दा सामान्य अध्ययन भएका व्यक्तिले पनि उनका पुस्तक सजिलै पढन सक्छन्। आफ्नो सरल अंग्रेजी लेखनले पारेको प्रभावबारे उनी भन्छन्ः मैले सुनेको छु, आदिवासी जातीका केटाकेटीहरु अंग्रेजी सिक्नको लागि मेरा पुस्तक पढ्ने गर्छन् रे। यो नै मेरो सबैभन्दा ठूलो उपलब्धी हो र मलाई साधारण अंग्रेजीमा लेख्ने लेखकको रुपमा हेरिएमा त्यहि सही।
चेतन भगत भारतीय लेखनमा सबैभन्दा मुख्य पाटो पुस्तकको बजार सम्भाव्यतालाई मान्दछन््। उनी भन्छन्, भारतीय बजार असीमित छ। अहिले भारतीय आख्यान सम्भाव्यता अनुरुप बढ्न नसकेको भएपनि छिट्टै नै वृद्धि हुँदैछ। र, चेतन भगतका पुस्तकको विक्री संख्या त्यसको पहिलो झल्का हो। न्यू योर्क टाइम्सले भगतलाई भारतीय अंग्रेजी लेखनको इतिहासमा सबैभन्दा बढी विक्री हुने लेखक भनेको छ। अघिल्लो वर्ष बुकर पुरस्कार पाउने अरविन्द अडिगाको पुस्तकको घरेलु बजारमा विक्री संख्या जम्मा ९० हजार छ जब की भगतका पछिल्ला पुस्तकहरु रिलिजको पहिलो हप्तामानै एकलाख प्रति विक्री हुने गरेका छन्। यति ठूलो सफलता पाउने लेखकपनि अन्तर्राष्टिय बजारप्रति त्यति आकर्षित देखिंदैनन्। लोकप्रियता र विक्रीको हिसाबले उनले बुकर विजेता लेखकलाई पछारेका छन्, तर उनी आफैलाई बुकर पुरस्कारको दायरामा पर्ने लेखक मान्दैनन्। बुकर पाउनको लागि पुस्तक बेलायतमा नै प्रकाशित भएको हुनुपर्छ। तर, भगत भारतीय प्रकाशक रुपा लाई छोडेर बाहिर जाने पक्षमा देखिंदैनन्। उनी भन्छन्ः मैले चाहे भने बुकर पुरस्कार पाउने उपाय गर्न सक्छु तर म त्यस्तो खाले लेखक होइन। त्यसो त, लोकप्रियताको विषयमा उनी स्पष्ट छन्। आउटलुक पत्रिकाकी शिला रेड्डीले नोवेल पुरस्कार या सर्वाधिक लोकप्रिय लेखकमध्ये के छान्नुहुन्छ भनेर प्रश्न गर्दा उनी लोकप्रियता नै छान्छु भन्दछन्। भारतका विभिन्न पक्षका कुरा मानिससामु पेश गर्नुलाई नै उनले आफ्नो लक्ष्य बनाएका छन्।
चेतन भगतले साहित्यको लोकतान्त्रिकरणको कुरा गर्दै भन्छन्ः पुस्तक सबैका लागि हुनुपर्छ। साहित्य जटिल लेखिनु पर्छ र उच्च श्रेणीको हुनुपर्छ भन्ने सोच भएका लेखकलाई उनी पाखण्डी ठान्दछन् र भन्छन् आम जनताको लागि उपयुक्त हुने पुस्तकमा नै म सन्तुष्ट छु र आफ्नो लेखनी मार्फत जीवनकालमा धेरै भन्दा धेरै भारतीय जनता माझ पुग्न चाहन्छु। र जनतामाझ पुग्दा उनी अचेल पुस्तकमा मात्रै केन्द्रित छैनन्, तर आफ्नो शारीरिक आवरणलाई पनि महत्व दिन थालेका छन्। उनी भन्छनः मानिसहरु मलाई आइकनको रुपमा हेर्न थालेका छन्। त्यसैले आइकन शारीरिक रुपमा पनि स्फूर्त देखिनु पर्छ। त्यसैले अबका केही समय उनी आफ्नो तौल घटाउनमा लाग्नेछन्।
उनको पुस्तकका बारेमा खासै राम्रा समालोचनाहरु पाइएका छैनन्। अधिकांश समालोचकहरु भगत लेखनलाई साहित्य नै मान्दैनन् र सरासर आलोचनामात्रै गर्छन्। भगत भन्छन्ः समालोचकहरु मलाई घृणा गर्छन। तर ति समालोचकहरुले स्वीकार गर्नुपर्ने कुरा के हो भने चेतन भगतका पुस्तक लाइट रिडिंग हुनुमा भाषिक रुपमा सरल हुनुमानै उनको मौलिक विशेषता रहेको छ। हिन्दुस्तान टाइम्स र दैनिक भास्कर जस्ता पत्रिकामा चेतन भगतले स्तम्भ लेख्छन्। जहाँ उनी राष्टिय, अन्तर्रार्ष्टिय आर्थिक मामिलामा कलम चलाउँछन्। इण्डियन इन्ष्टिच्यूट अफ म्यानेजमेन्टको स्नातकोत्तर अध्ययन र एक दशक लामो बैंकको कार्यानुभवले उनको बौद्धिक स्तर उच्च छ। तर, भारतीय आम आदमी प्रतिको उनको लेखकीय जिम्मेवारी बोधलेनै उनलाई एक सफल लेखक बनाएको छ। उनका लेखहरुलाई लोकसभामा समेत चर्चा हुन्छ र उनी म्यानेजमेन्ट गुरुको रुपमा विभिन्न वित्तिय संस्था र विद्यार्थीहरुमाझ भाषण पनि गर्ने गरेका छन्।
बढदो शहरीकरण र स्वदेशी तथा विदेशी कम्पनीहरुको स्थापनाले गर्दा भारतमा आर्थिक उन्नतीका प्रशस्त ढोकाहरु खुलिरहेका छन्। अत्यन्तै घना जनसंख्याको तुलनामा यो विकाश न्यून भएपनि अथोर््पार्जनद्धारा स्वतन्त्र अस्तित्व बनाउन चाहने यूवावर्गका लागि त्यस्ता सम्भावनाहरु बढीरहेका छन्। र साथसाथै बढिरहेका छन् भौतिक विलाशमा रम्ने इच्छाहरु। त्यसैले खासगरी भारतीय मध्यम वर्गका यूवा वर्ग र आर्थिक उन्नतीद्धारा मध्यम वर्गमा उक्लिन चाहने न्यून वर्गका यूवाहरु चेतन भगतका पुस्तकमा आफ्ना कथा देख्छन्। यूवाहरुको कथा हुनु, र पिभिआर सिनेमाको टिकट दरभन्दा पनि सस्तो मूल्यमा भएकाले चेतन भगतका पुस्तकले पुस्तक पढन भन्दा चलचित्र हेर्न, डिस्को जान र म्याकडोनाल्डमा बर्गर खान रुचाउने पुस्तालाई एकपटक पुस्तक तिर फर्काएका छन्।
उनका पुस्तकको विशेषतानै यही हो कि यिनका पात्रहरुले समकालीन भारतीय यूवा पुस्ताको प्रतिनिधित्व गर्छन। विवाहपूर्वको यौन सम्बन्धलाई बढावा दिएको र सबै पुस्तकमा उस्तै खाले कथा र पात्रहरु रहेको भनेर समालोचकहरुले उनको खेदो गरेपनि चेतन भगतले पाएको सफलतालाई कसैले नकार्न सक्दैन।
पाठकसँगको सम्बन्धपनि उनको सफलताको अर्को मुख्य पक्ष हो। उनका पुस्तकको विज्ञापन पत्रिका, टेलिभिजन आदिमा पाइँदैन तर पनि चेतन भगत चर्चाको शीखरमा छन्। उनी हरेक पाठकका इमेलको जवाफ पठाउँछन् र तिनका प्रतिक्रियालाई आफ्नो वेभसाइडमा प्रकाशित गर्छन्। उनको ट्वीटर एकाउण्टमा हजारौं फ्यानहरु उनलाई फलो गर्छन्। भलै हरेक हप्ता आउने हजारौं इमेलको जवाफ उनकी सहायकले पठाउँछिन, पाठकसँगको उनको सम्पर्कले पनि उनको लोकप्रियता बढ्दो छ। उनको पहिलो पुस्तक सार्वजनिक गर्दा देखिनै चेतन भगत बुक स्टोरहरुमा गएर पाठक प्रति हस्ताक्षर गर्ने र पाठकसँग अन्तरक्रिया गर्ने गरेका छन्। उनलाई साथ दिन्छन् रुपा का प्रकाशक कपिस मेहराले। पुस्तक प्रमोशनको मामिलामा चेतन भगत नै अग्रज भने होइनन। केही दशक पहिला देखि नै पेन्गुइन इण्डियाले नयाँ नयाँ तरिकाले पुस्तकहरु प्रमोशन गरिरहेको छ। जस्तै सोभा दे का पुस्तकहरुको प्रमोशन गर्दा, एक पेन्गुइन कर्मचारी भन्छन्ः हामी इन्टरनेट, ब्लग लगायत धेरै माध्यमहरुको एकै साथ प्रयोग गर्छौं। उनको एक भिन्न किसिमको व्यक्तित्व छ। र उनी आफूलाई परिमार्जित गरिरहन्छीन्। त्यसै अनुरुप हामी उनका पुस्तकको प्रमोशन गर्छौं। दे का पुस्तकहरु करिब एकलाखको हाराहारीमा विक्री हुने गर्दछन् र त्यही सेरोफेरोमा आउने अन्य भारतीय लेखकहरु पनि छन्। जस्तैः रवि सुव्रमनियम, टिशा खोसला, वर्षा दीक्षित, अलि सेठी, सिद्धार्थ संघवी, आदि।
भारतीय पुस्तक बजारमा दशहजार प्रति विक्ने लेखकलाई सामान्यतया बेष्ट सेलर लेखक भन्ने गरिन्छ। र त्यसको सबैभन्दा माथिल्लो श्रेणीमा पर्नेहरु यिनै पचासहजारदेखि एकलाखसम्म विक्री हुने लेखकहरु हुन्। तर, चेतन भगतको आगमनले ती पुराना परिभाषाहरु परिमार्जन गर्नुपर्ने भएको छ। रुपा का प्रकाशक मेहरा त भारतीय पुस्तक बजारको इतिहासलाई नै चेतन भगतपूर्वको काल र चेतन भगत पछिको कालमा विभाजन गर्नुपर्ने बताउँछन्।
पुस्तकको मूल्य पनि एक महत्वपूर्ण पक्ष हो। पहिलो पुस्तक फाइभ प्वाइण्ट समवनः व्हाट नट टु डु इन आइआइटी देखि टु स्टेटसम्म आइपुग्दा उही मूल्य रु ९५ नै कायम गरिएको छ। यस वीचमा तेल, चिनी, चामलको मूल्य दोब्बर भईसकेको छ, सिनेमाहलको टिकटको मूल्य धेरै बढिसकेको छ र रुपा ले नै प्रकाशन गर्ने वा अरु प्रकाशकका पुस्तकको मूल्य पनि बढिसकेको छ। तर, चेतन भगतका पुस्तकको मूल्य यथावत नै छ। कलेज पढ्ने यूवा लगायत आम पाठकको आर्थिक क्षमतालाई ध्यानमा राखेर पुस्तकको मूल्य यथावत नै राखिएको छ। र त्यही नै पुस्तकको सफलताको महत्वपूर्ण पक्ष बनेको छ।
८ उनको पछिल्लो पुस्तक टु स्टेटस एकैपटक दिल्ली, मुम्बई, डिव्रुगढ र भुवनेश्वर गरी चार स्थानबाट सार्वजनिक गरियो।
