– मनोकामना, गोर्खा।
लामो समय आंैला चुस्ने बानी एक संवेगात्मक समस्या हो। खासगरी कुनै किसिमको मानसिक दबाब पर्न गएमा यो समस्या उत्पन्न हुन्छ। असन्तुष्टि तथा भय उत्पन्न हुँदा, आफूलाई असुरक्षित महसुस गर्दा, बारम्बार गाली तथा पिटाइ खानुपर्दा, आतंकित तथा तनावपूर्ण वातावरणमा बस्नुपर्दा तथा पढाइको अधिक दबाब पर्दा यो समस्या देखिन्छ। विशेषगरी एउटा बच्चापछि छिट्टै अर्को बच्चा जन्मेमा र आमाबुबासँग अलग्याएर राखेमा वा क्षमताभन्दा बढी कार्यबोझ दिएमा, उमेर नपुगी स्कुल पठाएमा केटाकेटीमा उदासीनता आउने र एक्लै बस्न मन लाग्ने हुन्छ र त्यस्तो एक्लोपन तथा उदासीनतालाई दबाउन पनि केटाकेटी औंला चुस्ने गर्छन्। तसर्थ तपाईंको पहिलो दायित्व छोरीको स्थितिको सुक्ष्म अध्ययन गरी औंला चुस्नुपछाडिको सत्यतथ्य कारण पत्ता लगाउनु हो। त्यसपछि समाधानको मनोवैज्ञानिक उपाय अपनाउन सकिन्छ।
विशेषतः केटाकेटीको समस्या समाधानमा मनोवैज्ञानिक साथ र मायाको अनुभूतिको ठूलो महŒव हुन्छ। उनीहरूलाई अनावश्यक दबाबबाट मुक्त राख्नुपर्छ। उनीहरूको इच्छालाई एकैपटक हुँदैन, छैन, सक्दिनँ भन्नुभन्दा राम्रोसँग सम्झाई–बुझाई आफूले सक्दो पूर्ति गरिदिनुपर्छ। यसबाट उनीहरू आमाबुबाले धेरै माया गरेको अनुभूति गर्छन्। यस्तो अनुभूतिले उनीहरूमा आत्मबल बढाउँछ र सकारात्मक सोचको विकास गर्छ। जब केटाकेटीमा आत्मबल बढ्छ र आफूलाई सुरक्षित एवं भयमुक्त महसुस गर्छन् तब औंला चुस्नेजस्ता आदत बिस्तारै स्वतः हट्दै जान्छ। तसर्थ तपाईंले पनि आफ्नो छोरीलाई गाली गर्ने, पिट्ने कार्य नगरी मायाको अनुभूति दिलाउन थाल्नुभयो भने यो समस्या छिटै समाधान हुन्छ। यदि समस्या समाधान नभएमा मनोविज्ञ अथवा सम्बन्धित विशेषज्ञको सहयोग लिनुपर्छ। उनीहरूले समस्याको वैज्ञानिक कारण पत्ता लगाउने उपचारका विभिन्न विधि प्रयोग गरी समाधानमा सहयोग गर्नेछन्।
