शनिवार, 02 जनवरी 2010 13:17

चौरीखर्कमा ऊँट

Written by विनय कसजू
Rate this item
(1 vote)
विकासले ऊँटको खुट्टाको पाइतला देखाउँदै सोध्यो, ‘ऊँटको खुट्टाको पाइतला किन त्यस्तो बाक्लो गद्दाजस्तो भएको, मिस
‘दसैंमा घर आउँदा ऊँटका एक जोडी पाठापाठी तपाईंसँगै हवाइजहाजमा राखेर लिएर आउनू है,' विकासले बालाई फोनबाट आफ्नो माग सुनायो। बाले हाँस्दै भने, ‘पहाडमा पनि ऊँट बाँच्छ र छोरा? खेलौना ऊँट ल्याउने भए ल्याइदिन्छु।'

बाको कुरा विकासले के मान्थ्यो? ‘हाम्रो चौरी गोठमा बस्छ, चौरीले खाने घाँस कुँडो त्यसले पनि खान्छ,' उसले ऊँट जसरी पनि लिएर आउन भन्यो। आफूले कसैलाई दुःख नदिने र चौरीखर्कका ऊँट चराउने कुरा पनि बतायो। ऊँट नल्याइदिए आफू स्कुल नजाने र बासँग पनि नबोल्ने भन्दै जिद्दी पो गर्न थाल्यो।

विकासका बालाई फसाद पर्‍यो। तैपनि उनले सम्झाउँदै भने, ‘तिम्रो स्कुलको भूगोल पढाउने मिससँग सोध त बाबु — ऊँट कस्तो ठाउँमा बस्छ? के खान्छ? अनि मिसले पनि ल्याउन भन्नुभयो भने म ल्याइदिन्छु।' मिसलाई त जसै मनाउँछु भन्दै विकास गदगद भो।

म्याग्दीको खोप्रालेकछेउ बस्ने विकासका बा समर सारू खाडी देशमा गएको चार वर्षभन्दा धेरै भइसकेको थियो। त्यहाँ उनी एक जना धनी शेखको ऊँटगोठमा काम गर्थे। साहुका विश्वासपात्र थिए उनी। आम्दानी राम्रै थियो। त्यसैले अरबको मरुभूमिको उखर्माउलो गर्मी पनि उनले सहेर बसेका थिए। उनले चाहे अरबबाट दुईचार जोडी ऊँट ल्याउन नसक्ने थिएनन्।

यता भूगोल पढाउने मिसको पढाउने पालो कुर्दै थियो विकास। मिस आउनेबित्तिकै उसले मिससँग सोध्यो, ‘ऊँट कहाँ पाइन्छ मिस?'

‘मरुभूमिमा,' मिसले उत्तर फर्काउनुभयो। ‘मरुभूमि भनेको के हो नि?' विकासले फेरि सोध्यो।

‘त्यस्तो ठाउँ जहाँ बालुवा मात्रै हुन्छ। पानी हुँदैन। यसैले रुख, पात, हरियाली केही पनि हुँदैन,' मिसले जवाफ दिनुभयो। ‘त्यस्को घाँटीचाहिँ किन लामो नि मिस?' विकासले जान्न खोज्यो।

मिसले ऊँटको चित्र देखाउँदै भन्नुभयो, ‘यता राम्ररी हेर त, ऊँटको घाँटी कति लामो छ हेर। ऊँटले घाँस खान्छ। मरुभूमिमा सजिलोसँग घाँस पाइँदैन। कतैकतै काँडा भएका अग्ला रुख हुन्छन्। अग्ला रुखको पात खानु परेको हुनाले त्यसको घाँटी लामो भएको हो।'

विकासले ऊँटको खुट्टाको पाइतला देखाउँदै सोध्यो, ‘ऊँटको खुट्टाको पाइतला किन त्यस्तो बाक्लो गद्दाजस्तो भएको, मिस?'

‘मरुभूमिमा बालुवा हुन्छ। घोडा वा गाईजस्ता जानवरका खुट्टा बालुवामा गड्छ र हिँड्न मिल्दैन। ऊँटको पाइतला बाक्लो, चाक्लो र नरम गद्दाजस्तो हुन्छ। भुइँमा थिचिँदा त्यो झन् फुकेर चाक्लो हुन्छ अनि बालुवामाथि हिँड्न सजिलो हुन्छ। मरुभूमिमा धेरै दिनसम्म भारी बोकेर हिँड्न सक्ने भएको हुनाले ऊँटलाई मरुभूमिको जहाज पनि भनिन्छ,' मिसले व्याख्या गर्नुभयो।

‘मरुभूमिमा त पानी नै पाइँदैन भन्नुभयो नि, मिस। धेरै दिनसम्म हिँड्दा उसलाई पानी खानु पर्दैन?' विकासले सोध्यो।

‘हो, वास्तवमा ऊँटको विशेष गुण भनेको नै यही हो। त्यसको जिउमा पानी र चिल्लो कुरा संगालेर राख्ने विशेष अंग हुन्छ। यसैले ऊँट एक सातासम्म पानी र खानेकुरा नखाई मरुभूमिमा हिँड्न सक्छ,' मिसले यसो भन्दा विकास दंग पर्‍यो।

‘त्यसो भए मिस चौरीलाई जसरी दिनदिनै खर्कमा चराउन लैजानुपर्ने रहेनछ। शनिबार छुट्टीको दिन चरायो भने एक सातालाई पुग्ने रहेछ। होइन त, मिस?'

विकासको कुरा सुनेर मिस छक्क पर्नुभयो। ‘के कुरा गरेको? चौरीखर्कमा पनि कहीँ ऊँट चर्न सक्छ र? न त उसलाई खानेकुरा मिल्छ। न बस्ने ठाउँ। न यहाँको हावापानी नै मिल्छ।'

‘मलाई बुवाले दसैमा घर आउँदा अरबबाट एक जोडी ऊँटको पाठापाठी ल्याइदिन्छु भन्नुभएको छ, मिस,' विकासले स्पष्ट पार्न खोज्यो।

‘खेलौना ऊँट होला,' मिसले अपत्यारिलो स्वरमा भन्नुभयो।

‘साँच्चै हो के। तपाईंले यहाँ बाँच्छ भन्नुभयो भने बुवाले ऊँट ल्याइदिनुहुन्छ रे। हुन्छ भन्नुस् है, मिस। म राम्ररी पढ्छु के,' विकासले जिद्दीस्वरमा भन्यो।

अनि मिसले सम्झाउँदै भन्नुभयो, ‘हेर विकास, हाम्रो पहाड मरुभूमिमा फेरियो भने मात्रै यहाँ ऊँट बस्न सक्छ नत्र सक्तैन।'

‘अनि हाम्रो पहाड मरुभूमि हुन्छ कि हुँदैन? भयो भने कहिले हुन्छ, मिस?' विकासले उत्सुकतापूर्वक सोध्यो।

‘हिमालमा हिउँ जम्न र पहाडबाट पानीका मूल रसाउन छाडेर डाँडापाखा नांगा भएपछि पहाड मरुभूमि बन्छ। अनि यहाँ न त अन्न फल्छ न फलफूल। अनि यहाँ मानिसको के कुरा पशुपंछी पनि बस्न सक्तैन,' मिसले भन्नुभयो।

‘त्यस्तो कहिलेसम्ममा हुन्छ, मिस?' विकासले जान्न खोज्यो।

‘त्यो त भन्न सकिन्न विकास। अडकल मात्रै गर्न सकिन्छ। तर हामीले हाम्रो हावापानीलाई बिगार्ने काम गर्‍यौ भने चाँडै नै हिमाल र पहाड मरुभूमि बन्नसक्छ,' मिसले स्पष्ट पार्नुभयो। ‘धेरै वर्ष लाग्ने हो कि मिस! मलाई त चाँडै नै चौरीखर्कमा ऊँट चराउन मन लागेथ्यो,' विकासले ढुक्क हुँदै भन्यो। ‘यस्तो रहर नगर विकास,' विकासका कुराले अक्क न वक्क पर्नुभएको मिस कोठाबाट बाहिरिनुभयो।

राति विकास सपनाको चौरीखर्कमा ऊँट चढेर घुम्दै थियो। त्यहाँ ऊँटको बथान थियो तर चौरी एउटा पनि थिएन। भोक लागेर ऊ चौरीगोठमा गयो। तर अगेनुमा न त चौरीको दुध उम्लिरहेको थियो न घ्यु र छुर्पी नै थियो। उवाको सातु राख्ने ढुंग्रोसमेत रित्तो थियो। डरले आत्तिएर ऊ सपनामै चिच्यायो, ‘बा! चौरीखर्कमा ऊँट नल्याउनुस्।'

Last modified on शनिवार, 02 जनवरी 2010 13:22

कमेन्ट गर्नुस्


NagarikNews.com

जूनकिरी

  • तितोसत्यका राज

    …हि हि.. यतिका मान्छेले ट्वाल्ला मलाई मात्र किन हेरेको होला…

  • रंगसँगै रमाइलो

    बिराटनगरका विद्यालयहरूमा समेत आयोजना हुने …होली मिलन समारोह' मा विद्यार्थीहरू…

  • विद्यालय टाढा छ

    …ठूला भैसकेपछि सानो कक्षामा पढ्न लाज मान्छन्,' उनले भने, …त्यसले…

  • पोखरा हुदै गोरखा

    पोखरा, गोरखा र मनकामना भ्रमणको तय भइसकेपछि हामी शिक्षक सहित…

  • साना गुरु

    सन् २०१० मा कोरियामा हुने चेजु इन्टरनेसनल स्पोर्ट्समा सहभागी हुन…

  • कम्प्युटर डल्लो हुँदोरैछ

    बिजुलीसमेत नपुगेको दाङको गाउँमा कम्प्युटर पुग्दा विद्यार्थीहरू हुनसम्म खुसी भए…