
उनीहरू हुन्, खयरमारा गाविस वडा नं ५ को सरसफाइ बालक्लबका २५ जना बालबालिका। ६ बहिनी र १९ भाइ भएको एउटा बालक्लब जहाँ उमेरअनुसार आफूले गर्नसक्ने काम गरेर उनीहरू घरगाउँ सरसफाइ गर्ने अभियानमा छन्। तर, आज हामीसँग कुरा गर्न लक्ष्मीनारायण उच्च माविका तेह्र जना भाइबहिनी मात्रै छन्। बाँकीको त स्कुल नै छुट्टी भएको छैन।
रेडियो, पत्रपत्रिका र टिभी सबै नभएको ठाउँमा बालक्लब खोल्ने उपायचाहिँ कहाँबाट आयो त? सदस्य मानबहादुर परियारले भने, …आमाहरूको आमा समूह देखेर।' दुईवर्ष अघिदेखि आमाहरू सधैं महिनाको चारपटक गाउँको मध्यभागमा पर्ने जनमुखी शिक्षा केन्द्रमा भेला हुन्थे।
अहिले कक्षा १, २ मा पढ्ने बालबालिका त्यतिबेला आमाको दुध चुस्दै यही केन्द्रमा आइपुग्थे। अलि ठूलाचाहिँ आमाको धोतीको फेर समाउँदै। आमाहरूले यसैगरी भेला हुँदा समाजका कुरा गर्न थाले, प्रौढ शिक्षाको व्यवस्था मिलाए। पछि गएर त पानीको निकै दुख भएको खयरमारामा सामूहिक रूपमा धारासम्म ल्याए।
यस्तैमा एकदिन अहिले बालक्लबका अध्यक्ष रहेका गोविन्द मगरातीले पनि जुक्ति लगाए। उनलाई लाग्यो, के समाजमा बस्नेे आमाहरूको मात्रै समस्या हुन्छ त? हाम्रोचाहिँ हुँदैन? अनि, त्यही बेला उनले सबै आमासँगै आमा समूहमा आएका आफ्ना साथी बटुलेर बाल समूह खोल्ने नयाँ उपायबारे सुनाए। त्यसरी सबै मिल्ने कुरालाई साथीहरूले पनि नाइँ भनेनन्। तर, बालक्लब भन्ने शब्द त उनीहरूले पहिला सुनेका पनि थिएनन्। उनीहरूको विचार थियो — यसलाई …बालबालिका समूह' भनेर नाम राख्नुपर्ला।
आफ्नो योजना स्कुलका हेडमास्टर सूर्यकुमार देवकोटालाई पनि सुनाए। खुसी भएका हेडमास्टरकै सल्लाहमा उनीहरूले आफ्नो समूहको नाम दिए — सरसफाइ बालक्लब। नामैअनुसार यो बाल क्लबले आफू, आफ्नो घरपरिवार र गाउँघर सफासुग्घर राख्ने काम गर्छ।
प्रत्येक शनिबार बिहान ८ बजे भेला भएर गाउँघरका बाटोमा देखिएका प्लास्टिक टिप्ने। पानीधाराहरू सफासुग्घर राख्ने गर्छन्। गएको जेठदेखि प्रत्येक १५ दिनमा उनीहरूले बचत गर्ने बानी पनि थालेका छन्। यसरी बचत गर्न पनि बालक्लबका अध्यक्ष गोविन्द मगरातीकी आमा बच्चीले बालबालिकाले पैसा जोहो गर्न सिकून् भनेर सुझाएकी थिइन्। एकपटकमा दस रुपैयाँको दरले बचत गर्दा अहिलेसम्म ३ हजार आठ सय रुपैयाँ जम्मा भइसकेको छ।
कोषाध्यक्ष मनिषा मगरातीले भनिन्, …हामीमध्ये कुनै साथीको घरमा पैसाको समस्या परे हामी ऋण पनि दिन्छौं।' दस रुपैयाँ मात्रै हो र? शनिबारको बैठक बस्ने दिन कोही ढिलो पुगे पाँच रुपैयाँ जरिवाना तिर्नुपर्छ। कसैले जानीजानी कुनै गल्ती (जस्तै जथाभावी प्लास्टिक फाल्ने, साथीसँग झगडा) गरे पनि उनीहरूले समूहमा छलफल गरेर दोषीलाई जरिवाना तिराउने र उचित सजायँ दिने गर्छन्। …त्यसैले त आजकाल हामी साथीबीचमा झगडा हुँदैन,' सहसचिव प्रमिला बस्यालले भनिन्, …बालक्लब गठन हुनुभन्दा पहिला श्रीषाको र मेरो झगडा परिरहन्थ्यो।'
आफूहरूबीचमात्र होइन अभिभावकको झगडा पनि मिलाउन उनीहरू तल्लीन छन्। बाल क्लबका सदस्य मानबहादुर परियार भन्छन्, …बुवाले घरमा ममीलाई फोहोर कुरा भनेर गाली गर्दा त्यसो नगर्नू हामीले पनि सिक्छौं भन्दिएँ।' त्यसपछि त यस्तो झगडा उनले सुन्न परेको छैन रे।
आमा समूह भेला हुने दिन शुक्रबार। बालक्लबको शनिबार। यसरी नै मिलाएका छन् समय उनीहरूले। यो बाल क्लबमा शिशु कक्षादेखि १० कक्षासम्मका भाइबहिनी सदस्य बन्न पाउँछन्। भेला हुने दिन शनिबार पहिला गाउँघर सफा गरेर, कुनै विषयमा छलफल गरिसकेपछि पन्ध्र मिनेट नाचगान पनि गर्छन् उनीहरू।
त्यही बेला पो थाहा भयो गाउँमा सबैभन्दा नाच्न जान्ने त सपना मगराती र रेना बिसङ्खे रहेछन्। अनिषाले भनिन्, …पहिला हामी उनीहरूलाई पढ्न नजान्ने भनेर जिस्काउँथ्यौं तर अहिले त पढ्न थोरै आए पनि नाच्न आउँदोरहेछ भनेर माया गर्छौं।' यसरी उनीहरूले अहिले को केमा जान्ने छ भन्ने थाहा पाएका छन्। सबैलाई माया गर्नुपर्ने जानेका छन्।
साँच्चै, गएको तिहारमा त उनीहरूले सामुहिक देउसी, भैलो पनि खेलेछन्। त्यसबाट जम्मा भएको धान, चामलले वनभोज गरे। जम्मा भएको पैसाचाहिँ बचतमा नै जम्मा गरे। प्रमिलाले भनिन्, …अब हामी बिस्तारै खेलकुदका सामग्री पनि हाम्रो बालक्लबमा ल्याउँछौं।'
रमाइलो कुरा त के भने उनीहरूले बाल क्लबमा …छोराछोरी बराबरी' भन्ने अभियान चलाइसकेका छन्। पहिला घरमा सधैं ललिताले मात्रै भान्छामा, विदाको दिन वनमा जाँदा बुवाआमालाई सघाउने गर्दिरहिछन्। यसले गर्दा दाइ पवनले जति आफू पढ्नै नपाउने। पछि अभियान चलेपछि त उनले दाइलाई पनि आफूसरह काम गर्नुपर्ने बताइन्। पवनले पनि बहिनीको कुरा मानिहाले।
तिमीहरू पनि आफ्नो गाउँटोलमा यस्तै बाल क्लब खोल्ने कि?
