–पीडित आमाबाबु, काठमाडौं।
तपाईंको आठ कक्षामा पढ्ने छोरा भनेको भर्खर किशोरावस्थामा प्रवेश गर्ने उमेर हो। यो उमेरमा शारीरिक एवं मानसिक वृद्धि र विकासबीच केही असन्तुलन आउँछ र प्रायः हरेक किशारकिशोरीले उग्र, जिद्दी एवं अस्वाभाविक व्यवहार देखाउने गर्छन्। व्यक्तित्व संरचनाअनुसार कसैले धेरै कसैले थोरै मात्रामा विद्रोह र असन्तुष्टि प्रदर्शन गर्छन्। यसबेला वयस्कसँगको जेनेरेसन ग्याप अधिक बढ्छ र पहिलो प्रक्षेपण आमाबाबुप्रति हुने गर्छ। आफूलाई नबुझेको र आफ्नो भावनालाई बाँड्न नसकेको साथै आमाबाबु र आफूबीच तनावपूर्ण सम्बन्ध हुने गरको व्याख्या गरिरहने, तीव्र संवेगका कारण जिद्दी गर्ने, रिसाउने र आक्रामक हुने पनि गर्छन्। तर यस स्थितिलाई कति तनावपूर्ण बनाउने भन्ने कुराको निर्धारण आमाबाबुले छोराछोरीप्रति स्थापित गर्ने सम्बन्ध र समझदारीले गर्छ। तर दुखको कुरा तपाईंहरूले सो सम्बन्धलाई त्यति स्वस्थकर बनाउन सक्नु भएजस्तो लागेन। उल्टो औषधीप्रति विश्वास गर्नुभयो र तपाईंको साथीभाइले पनि गलत सल्लाह दिएजस्तो लाग्यो। हुन सक्छ तपाईंले धैर्य र संयम राख्न सक्नुभएन। उल्टो आफ्नो कुरा लाद्ने र थोपर्ने गर्नुभयो कि? उसको भावनालाई बुझ्ने, आक्रोस र असन्तुष्टिलाई मनोवैज्ञानिक तरिकाले पोख्न सक्ने वातावरण बनाइदिनुको साटो औषधीको सेवन गराएर थामथुम पार्ने काम गर्नुभयोे। सायद तपाईंलाई त्यस्ता औषधीले पुर्याउने नकारात्मक प्रभावको जानकारी नभएका कारण पनि औषधीको सहारा लिनुभएको होला। तपाईंलाई थाह नै होला औषधी भनेको दबाई हो यसले समस्यालाई दबाउने कार्य गर्छ तर जरैदेखि उखेलेर समस्यालाई मिल्काइदिन सक्दैन। यसका लागि अवश्य पनि मनोवैज्ञानिक उपचार अत्यन्त प्रभावकारी हुन्छ। तर मनोवैज्ञानिक उपचारको परिणाम तुरुन्तै आउँदैन। यसले बिस्तारै परिवर्तन ल्याउँछ र सो परिवर्तन दिर्घकालीन हुन्छ।
मनोवैज्ञानिक उपचारमा व्यक्तिको असन्तुष्टि र भावनात्मक पीडालाई सक्रियतासाथ सुन्ने र मनन गर्ने र समस्यालाई कसरी उपलब्धिमूलक तरिकाले समाधान गर्ने भन्ने सम्बन्धमा छलफल गर्ने कार्य गरिन्छ। मुख्य कुरा पीडितस्वयंले आफ्नो समस्या समाधान गरोस् भन्ने उद्देश्यले उसको आत्मविश्वास बढाउने कार्य गरिन्छ। साथै, पारिवारिक अन्तरसम्बन्धलाई स्वस्थकर बनाउन सहयोग गरिन्छ। तसर्थ पीडितको अन्तर्दृष्टि र अन्तर्बोधको मात्रालाई बढाउन सहयोग गर्ने भएकाले पनि कुनै पनि मानसिक समस्यालाई मनोवैज्ञानिक उपचार अनिवार्य हुन्छ। यस्तो उपचार विशेष तालिमप्राप्त मनोविज्ञ वा मनोवैज्ञानिक परामर्शदातृबाट गरिन्छ।
तपाईंले भनेअनुसार तपाईंको छोराको कुनै मानसिक रोग नभई उमेरका कारण उत्पन्न समस्याजस्तो लाग्छ। यस्तो समस्या उमेर परिवर्तनसँगै आमाबाबुको सहयोगबाट हराउँदै जान्छ। तसर्थ उसलाई औषधीभन्दा बढी तपाईंहरूको मायाममता र सहयोगको खाँचो छ। औषधीको प्रयोग तथा यसको साइड इफेक्टले व्यक्तिलाई सुस्त बनाउँदै लान्छ र यस्तो अवस्थामा उसले पढ्ने, अध्ययन गर्ने तथा स्मरण गर्ने कार्य गर्न सक्दैन र एसएलसी परीक्षा दिएर अपेक्षित नतिजा प्राप्त गर्न कठिन हुन्छ। तसर्थ तपाईं उसको पढाइभन्दा बढी मनोवैज्ञानिक स्वास्थ्यलाई ध्यान दिनु भए राम्रो हुन्छ। पढ्ने कार्य स्वस्थ दिमाग र स्वस्थ शरीरले मात्र गर्न सक्छ भन्ने कुरालाई बिर्सनु हँुदैन।
