पढाइखर्च जुटाउन नवचेतना बाल बचत समूहमार्फत हरेक महिनाको ७ गते १० रुपैयाँ जम्मा गर्छन् उनीहरू। यस्तो कामले यहाँका भाइबहिनीले पढाइसँगै समाजलाई समेत आर्थिक रूपमा सबल बनाउने अभियान थालेका छन्। उनीहरूले घरबाट पाएको खाजाखर्चबाट यो बचत अभियान सुरु गरेका हुन्।…कहिलेकाहीँ पैसा नपुग्दा जंगलबाट दाउरा सोहरेर बेच्ने गर्छौं, आएको पैसा समूहमा जम्मा गर्छौं,' बयरवन–८ की अनिता चौलागाईंले भनिन्, …दाउरा बेच्दा भारीको सय रुपैयाँ आउँछ, त्यसले त निकै महिना पुग्छ।'
अनितासँगै १३ वर्षे तिर्सना चौधरीले पनि समूहमा १० रुपैयाँ जम्मा गर्न कहिलेकाहीँ दाउरा सोर्नुपरेको बताइन्। बयरवन–८, दहिधापका २५ जनाभन्दा बढी बालबालिकाले मासिक बचत गर्न नवचेतना बाल बचत समूह स्थापना गरेका हुन्। घरपरिवारमा पैसाको खाँचो पर्दा वा पढाइका लागि रुपैयाँ चाहिँदा बचत समूहबाट सापटी लिने गरिएको छ।
बचत समूहको पदाधिकारीसमेत स्कुले नानीहरू नै हुन्। अनिता अध्यक्ष हुन् भने उपाध्यक्ष विमला भट्टराई, सचिव सम्झना लिम्बु। यसका कार्यसमिति सदस्यमा अञ्जना लिम्बु, सुम्निमा लिम्बु, पवु सिवाकोटी छन्। उनीहरूले यसरी मासिक रुपैयाँ बचत गर्न थालेको तीन वर्ष पुग्दैछ।
…मंसिरमा ठ्याक्कै तीन वर्ष पुग्छ,' सचिव सम्झना लिम्बुले महिना गन्नलाई औंला भाँच्दै भनिन्। उनीहरूले आफ्नो समूहका सदस्यले मासिक १० रुपैयाँ अनिवार्य बचत गर्नुपर्ने नियम बनाएका छन्। तीन वर्षमा समूहको कुल पुँजी पाँच हजार रुपैयाँ पुगेको छ।
गाउँमै रहेको आमा समूहमा विवाह नगरेकाले बचत गर्न नपाइने नियम लगाएको छ। यसैकारण बयरवनकी स्कुले नानीहरूले आफ्नै प्रयास र पहलमा बचत समूह गठन गरेका थिए। समूहका सदस्यले आफूलाई आवश्यकताअनुसार दुई सयदेखि १५ सयसम्म सापटी लिन पाउँछन्।
…महिनावारी ब्याज सयकडा दुई रुपैयाँ छ,' सचिव सम्झनाले बताइन्। हरेक महिनाको ७ गते बिहान ८ बजेसम्ममा सबैजना बचत रकमसहित एक ठाउँमा जम्मा हुने गरेका छन्। …यदि कोही सदस्य आठ बजेभन्दा पनि ढिलो गरेर आए उसले दुई रुपैयाँ जरिमाना तिर्नुपछर्,' सम्झनाले नियम सुनाइन्। पहिलो महिनामा लगेको सापटी बुझाउन नसके अर्को महिनादेखि ३ रुपैयाँ ब्याज तिर्नुपर्छ। उनीहरूले आर्थिक अवस्था कमजोर भएका र बीचमै पढाइ छोड्नुपर्ने बाध्यता भएका सदस्यलाई सहुलियतमा ऋण दिने गरेका छन्। यतिमात्र हैन उनीहरूले सदस्यहरू बिरामी परे उपचार गर्न भनेर आकस्मिक कोष पनि राखेका छन्।
