शनिवार, 26 डिसेम्बर 2009 13:25

शिवपुरीको उकालो

Written by नागरिक
Rate this item
(0 votes)
हामी कक्षा ९ का सम्पूर्ण विद्यार्थी शिवपुरी राष्ट्रिय निकुञ्ज, त्यसभित्र पर्ने बाघद्वार (बागमती नदीको मुहान) र शिवपुरी डाँडाको अवलोकन भ्रमणमा जाँदै थियौं।
कक्षाकोठाभित्रको अनुशासन, पठनपाठनको बोझ सबै चटक्कै बिसाएर आफ्ना साथीहरूसँग भ्रमणमा जान पाउँदा मन असाध्यै पुलकित थियो। हामी कक्षा ९ का सम्पूर्ण विद्यार्थी शिवपुरी राष्ट्रिय निकुञ्ज, त्यसभित्र पर्ने बाघद्वार (बागमती नदीको मुहान) र शिवपुरी डाँडाको अवलोकन भ्रमणमा जाँदै थियौं।

त्यहाँ जान पाउँदा अनौठो उत्साहका कारण अघिल्लो रात कटाउन पनि गाह्रो भएको थियो मलार्ई। अरू बेला ढिलै उठ्ने बानी भए पनि त्यो दिनचाहिँ निद्रादेवीले मलाई पटक्कै माया गरिनन्। तैपनि बिहान चारै बजे न्यानो ओछ्यान छोडेँ।
बाहिरी जाडोलाई खुसीको न्यानोले पछारेर आफ्नो सम्पूर्ण नित्यकर्म सकेँ। माइजुले खाजा तयार पार्नुभएछ। खाजा खाँदा ६ बज्न लागेको थियो। एकैछिनमा सबै आवश्यक सामान साथमा लिएर म विद्यालयतर्फ लागेँ। त्यहाँ पुग्दा त साथीहरू धनकुमार, सुरेन्द्र, रजत, सन्देश सबै आइसकेछन्।
यस्तैमा सबै भेला भइसकेपछि साढे ६ बजे बिहान हामी विद्यार्थी र गुरुहरू खनाल सर, दाहाल सर, सन्तोष सर र दीपेश सर स्कुलबस चढ्यौं।
महाराजगन्ज, बुढानीलकण्ठको नारायणस्थान मन्दिर हुँदै शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाहिर पुगेपछि त्यहाँ पसलमा सबैले ज्यान तताउन एक–एक कप चिया पियौं। जोडो थियो। अनि, सबै शिवपुरी राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्‍यौं। शिवपुरी राष्ट्रिय निकुञ्जको क्षेत्रफल १४४ वर्ग किमी रहेछ। प्रवेशद्वारबाट करिब तीन किलोमिटरको यात्रा गर्दा हामी रमणीय स्थानमा रहेको …चुनगोन नाङ्की थोङ्साल लिङ' नामको एउटा सुन्दर गुम्बामा पुग्यौं। त्यहाँ सबैजनाले एकछिन आराम गर्‍यौं। गुम्बाभित्र छिरेर भगवान् बुद्धको दर्शन गर्दै एकछिन त्यहाँको सुन्दर कलाको अवलोकन गर्‍यौं।
त्यहाँ बस्ने टासी ल्हामु नामकी आनीले बताएपछि थाहा भयो — त्यस गुम्बाको नाम …चुनगोन नाङ्की थोङ्साल लिङ' को अर्थ, …आनीहरू मात्र बस्ने, चारैतिरको सुन्दर दृश्य प्रस्ट देख्न सकिने सुन्दर संसार' रहेछ।
साँच्चै त्यहाँबाट उपत्यका सेरोफेरोको सुन्दर दृश्य प्रस्टै देखिन्थ्यो। काठमाडौं त एउटा घरैघरले भरिएको अव्यवस्थित बस्तीजस्तो देखियो। उकालो बाटो त्यसमाथि चर्को घाममा कस्सेर हिँड्न गाह्रो हुने भएकाले हामी बिस्तार–बिस्तारै उकालो लागेका थियौं। कोही गीत गुनगुनाउँदै हिँडिरहेका थियौं त कोही साथी भने रमाइला जोक्स सुनाएर हँसाइरहेका थिए। बाटाको दायाँ–बायाँ चिर्बिराउँदै हामीलाई स्वागत गरिरहेका चराचुरुंगीले उकालो हिँड्न गाह्रो मानिरहेका साथीहरूलाई हौसला दिइरहेजस्तो लाग्यो।
यस्तै रमाइलोबीच दुई घन्टा उकालो लागेपछि एउटा रमणीय चउरमा पुग्यौं। जहाँबाट हेर्दा उपत्यका वरपरका मै हुँ भन्ने अग्ला डाँडा पनि निकै फुच्चे लागिरहेका थिए। यस ऐतिहासिक एवम् धार्मिक स्थल, बुढानीलकण्ठ क्षेत्र विकास समितिको सहयोगमा निर्माण गरिएको रहेछ। त्यहाँबाट निस्किएको पानी नजिकैको पोखरीमा जम्मा हुँदोरहेछ। पोखरीको बीचमा सानो पिलर रहेछ। त्यसमाथि भगवान् महादेवको मूर्र्ति राखिएको रहेछ। धारातर्फ फर्किंदा दायाँपट्टि विभिन्न शिलालेख थिए भने बायाँतर्फ एउटा सानो गुफा थियो। त्योचाहिँ साधु, सन्त र बाबाहरूको ध्यान गर्ने स्थल रहेछ।
सबैजनालाई त्यहाँसम्म पुग्दा तिर्खा लागेको हुनाले सोही पवित्र धाराको चिसो पानी पिएर आ–आफ्नो प्यास मेट्यौं। त्यही शिलालेखअनुसार पहिले शिवपुरीको डाँडामा तपस्या गरी बस्ने शिवपुरी बाबाको नाम गोविन्द भारती भएको थाहा भयो। यो बाघद्वार उनैमा समर्पित गरी निर्माण गरिएको रहेछ। त्यसपछि हिमालको मनोरम दृश्य अवलोकन गर्न हामी अझै उकालो लाग्यौं।
झन्डै एक घन्टाजति ठाडै उकालो हिँडेपछि हामी शिवपुरी डाँडामा पुग्यौं। यही हाम्रो अन्तिम गन्तव्य थियो। त्यहाँ एउटा चउर रहेछ। त्यहाँबाट मनास्लु, गणेश, रोल्वालिङ, लाङटाङ, अन्नपूर्ण आदि हिमाल र हिमशृंखलाको लोभलाग्दो दृश्य आँखैअगाडि देख्दा उकालो हिँड्दा लागेको थकान मेटिएको अनुभूति भयो।
हिमालको मोहक दृश्यले सबैमा एकप्रकारको स्फूर्ति सञ्चार गराइरहेको थियो। त्यहीँ बसेर एकछिन थप खाजा खाएर केही फोटा खिच्यौं। अनि, हामी त्यही बाटो फर्कियौं। फर्केर आउँदा गीत गाउँदै रमाइलो गरियो। यसरी साढे ३ बजेतिर त्यही …चुनगोन नाङ्की थोङ्साल लिङ' गुम्बामा आइपुग्यौं। ५ बजेतिर हामी प्रवेशद्वारबाट निस्कियौं।

–नीरज कार्की
कक्षा ९ …क', बाबा बोर्डिङ हाई स्कुल,
चाबहिल, काठमाडौं
Last modified on मंगलवार, 30 नोभेम्बर 1999 05:45
नागरिक

नागरिक

E-mail: यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ

कमेन्ट गर्नुस्


NagarikNews.com

जूनकिरी

  • तितोसत्यका राज

    …हि हि.. यतिका मान्छेले ट्वाल्ला मलाई मात्र किन हेरेको होला…

  • रंगसँगै रमाइलो

    बिराटनगरका विद्यालयहरूमा समेत आयोजना हुने …होली मिलन समारोह' मा विद्यार्थीहरू…

  • विद्यालय टाढा छ

    …ठूला भैसकेपछि सानो कक्षामा पढ्न लाज मान्छन्,' उनले भने, …त्यसले…

  • पोखरा हुदै गोरखा

    पोखरा, गोरखा र मनकामना भ्रमणको तय भइसकेपछि हामी शिक्षक सहित…

  • साना गुरु

    सन् २०१० मा कोरियामा हुने चेजु इन्टरनेसनल स्पोर्ट्समा सहभागी हुन…

  • कम्प्युटर डल्लो हुँदोरैछ

    बिजुलीसमेत नपुगेको दाङको गाउँमा कम्प्युटर पुग्दा विद्यार्थीहरू हुनसम्म खुसी भए…